रुसले बनाएको कोरोनाविरुद्धको खोपको उत्पादन सुरु, अगस्टभित्रै विश्वलाई उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौँ : रुसले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको छ ।

रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने दर्ता पनि गरिसकेको छ । अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू रातारात धमाधम खोप बनाइरहेका छन् । योसँगै तेस्रो चरणको परीक्षणको तयारी पनि भइरहेको छ । फिलिपिन्स सरकारले आफ्नो देशमा तेस्रो चरणको परीक्षण गर्ने बताइसकेको छ ।

रुसले विश्वका मानिसहरूलाई बचाउन मासिक ५० लाख डोज खोप उत्पादन गर्नेसमेत बताएको छ । स्पुतनिक ५ नाम दिइएको खोप पूर्ण रूपमा सुरक्षित रहेको रुसी राष्ट्रपति पुटिनले बताएका छन् । उनले पहिलो परीक्षण आफ्नी छोरीलाई गरेको समेत बताएका थिए ।

तत्कालीन सोभियत सङ्घले पहिलोपटक अन्तरिक्षमा स्पुतनिक नामको उपग्रह पठाएको थियो । यो नै विश्वको पहिलो उपग्रह हो । त्यसपछि मात्रै अमेरिकाले उपग्रह पठाएको थियो ।

जोसेफ स्टालिनको पालामा पहिलोपटक अन्तरिक्षमा उपग्रह पठाएर सोभियत रुसले विश्वमा नयाँ रेकर्ड बनाएको थियो । अहिले पुटिनले कोरोनाविरुद्धको खोप बनाएका छन् । यो पनि विश्वको पहिलो रेकर्ड नै हो । एकपटक फेरि रुस पहिलो भएको छ ।

अमेरिका र युरोपका केही देशले रुसले बनाएको खोपलाई लिएर विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप तयार भएको घोषणा गरेसँगै सुरु भएको विरोध अहिले केही मत्थर भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले बनाएको खोपले कोरोनाविरुद्ध काम गर्ने आफूलाई विश्वास लागेको बताएका छन् । योसँगै विरोध केही मत्थर भएको हो । विरोध गर्दै आएका ट्रम्पले नै विश्वास र आशा व्यक्त गरेपछि अहिले रुसले बनाएको खोपले विश्वलाई नै आशावादी बनाएको छ ।

रुसले यही वर्षको अगस्टसम्म विश्वलाई खोप उपलब्ध गराउन सकिने बताएको छ । नेपालसहित तेस्रो विश्वका देशहरूलाई निःशुल्क खोप उपलब्ध गराइने रुसी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :