सरकार बचाउन केही मन्त्री र मुख्यमन्त्री फेर्ने खेलमा वली

काठमाडौँ : पार्टीभित्रको किचलो साम्य पार्न भन्दै गठन गरिएको सुझाव कार्यदल जन्मिनासाथ विवादमा परेपछि सरकारी पार्टीका प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी वली केही मन्त्री र केही प्रदशेका मुख्यमन्त्री फेरेर आफूमाथिको प्रहार कम गर्ने र सरकार टिकाउने खेलमा लागेको स्रोतहरूले बताएका छन् ।

वली र द्वितीय अध्यक्ष दाहालको सहमतिमा पार्टीका तीन गुटबाट दुईदुईजनाको प्रतिनिधित्व हुने गरी चार दिनअघि कार्यदल गठन गरिएको भए पनि गठनलगत्तै कार्यदल अवैधानिक भएको भन्दै माधव नेपाल, झलनाथ खनाल र दाहालका विश्वासपात्र मानिएका नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका थिए । आलोचना बढ्दै गएपछि वली मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री फेरबदलको गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।

वली र दाहालले शुक्रबार वली पक्षका पार्टी महासचिव विष्णु पौडेल संयोजक रहने गरी माधव नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे, दाहाल पक्षका जनार्दन शर्मा र पम्फा भुसाल तथा वली पक्षका थप शङ्कर पोखरेललाई राखेर ६ सदस्यीय कार्यदल घोषणा गर्नासाथ दाहाल निवास खुमलटारमा बसेको वलीविरोधी समूहको बैठकमा नेपाल, खनाल र श्रेष्ठले कार्यदलको औचित्य, वैधानिकतालगायत विषय उठाएर दाहाललाई आछुआछु पारेका थिए ।

वली पक्षले वलीको अध्यक्ष र प्रधानमन्त्री दुवै पद नगुम्ने गरी मन्त्रिमण्डल पुनर्गठन गरी दाहाल, नेपाल र खनालका मानिसलाई पनि समावेश गर्ने नीति अघि सारेको बुझिएको छ । फुटको संघारमा पुगेको पार्टीलाई थामथुम पार्ने यो अन्तिम प्रयास भएको स्रोतहरूले बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा वामदेव गौतमलाई राष्ट्रिय सभामा लग्ने र कुनै जिम्मेवारी दिने विषयमा समेत वली पक्षको छलफल चलेको बताइन्छ । मन्त्रिमण्डल पुनर्गठन हुँदा आफू फालिने भएपछि जोगिने अन्तिम प्रयासस्वरूप गृहमन्त्री रामबहादुर थापालगायत नेता रातारात दाहाल समूह परित्याग गरी वली पक्षमा लागेका छन् । तर मन्त्रिपरिषद पुनर्गठन हुँदा थापाको पद धरापमा रहेको स्रोतहरूको दाबी छ ।

कार्यदलको वैधानिकता नै धरापमा परेपछि र सुझाव कार्यान्वयन हुनेमा आशङ्का उत्पन्न भएपछि वली र दाहालले कार्यदल सदस्यहरूलाई आआफ्नै तरिकाले आश्वस्त पारेको बताइएको छ । अहिलेसम्म मन्त्री भएर राम्रो काम देखाउन नसकेका १० जनासम्म मन्त्री फेरिने र त्यसमा असन्तुष्ट दाहाल–नेपाल पक्षका पात्रहरूलाई राखिने सम्भावना रहेको स्रोतले बताएको छ । यतिबेला शक्तिमा नरहेका र कार्यदलमा समेत राखिएका भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसालसम्मका पात्रहरूलाई मन्त्री बनाउने गृहकार्य सुरु भएको स्रोत बताउँछ ।

सरकारनिकट एक स्रोतका अनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुन र शक्ति बस्नेत वली, नेपाल र दाहालका विश्वासपात्र रहेकाले नहट्ने तर दुवै पक्षमा ढुलमूल रहेका मन्त्रीहरू भने हट्नेछन् । मुख्यमन्त्रीहरूमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का शङ्कर पोखरेललाई भने हटाउने तयारी गरिएको छ । नारायणकाजी श्रेष्ठले आफूले उपप्रधानमन्त्रीसहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दै आएका छन् । चुनावमा हारेका श्रेष्ठलाई नैतिक मर्यादा मिचेर मनोनीत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :