नेपाली सेनाभित्र ठूलो आर्थिक घोटाला, एक करोड ५२ लाख २७ हजार हिनामिना गर्ने महासेनानी राणा बर्खास्त

काठमाडौँ : तुलनात्मक रूपमा कम विवादमा देखिने ठानिएको नेपाली सेनाभित्र ठूलो आर्थिक घोटाला हुने गरेका समाचारहरू सार्वजनिक हुन थालेका छन् । आफ्नै कानुन र आफ्नै अदालत रहेकाले सेनाभित्रका कयौँ काण्ड तथा घोटालाहरू सार्वजनिक भएका पाइँदैनन् तर भ्रष्टाचार र घोटाला थेगिनसक्नु भएपछि भने कतिपय घटना सार्वजनिक हुने गर्छन् ।

सहायकरथी प्रयोगजङ्ग राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर्याउँदै समरी जनरल सैनिक अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको सार्वजनिक भएको छ । अदालतले सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिलवालले १५ लाख ७९ हजार रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ । उनीहरूबाट बिगोबराबरको रकम असुलउपर गर्ने निर्णय पनि भएको समाचारमा जनाइएको छ ।

सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार उक्त निर्णय गरिएको हो ।

उक्त अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय गरेको पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :