नेकपाको पहलमा कालीकोटमा पुल बन्यो


काठमाडौँ : कालीकोटको खुलालु खोलामा आएको बाढी र पहिरोले कर्णाली कोरिडोरअन्तर्गत पर्ने उक्त खोलामा निर्मित बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि नेकपाको पहलमा अस्थायी पुल निर्माण गरिएको छ ।

बाढीले पुल बगाएर आवतजावत नै बन्द भएको अवस्थामा नेकपा कालीकोटले आन्तरिक शक्ति परिचालन गरेर उक्त ठाउँमा पुल निर्माण गरी आवतजावत सहज बनाएको हो । १२ साउनमा आएको बाढीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खुलालु खोलामा निर्माण गरिएका बेलिब्रिज र झोलङ्ङे पुल बगाएपछि मानिसलाई आवतजावत गर्न निकै कठिन भएको थियो ।

मुख्य राजमार्गका साथै मुगु, हुम्ला, बाजुरा र कालीकोटका जनताको हाटबजार जाने मुख्य मार्ग नै अवरुद्ध भएपछि सर्वसाधारणलाई जोखिम मोलेर जनही ३ सयदेखि ५ सय रुपैयाँसम्म तिरेर भारी तार्न लगाउनुपर्ने बाध्यता थियो ।

स्थानीयलाई निकै समस्या परेपछि नेकपा कालीकोटका जिल्ला इन्चार्ज विराटको नेतृत्वमा जनवर्गीय सङ्गठनका प्रमुखहरूको सहभागितामा यही साउन ३० र ३१ गते २ दिन लगाएर अस्थायी पुल निर्माण गरिएपछि आवतजावतमा सहज भएको जिल्ला सेक्रेटरी रणदीपले बताए ।

जनता बाढीपहिरोले प्रभावित बनेको अवस्थामा पनि कथित जनप्रतिनिधिहरू सहरमा मस्ती गरिरहेको, मन्त्री र सरकारी पार्टीका नेताहरू हेलिकोप्टरमा यात्रा गरिरहेको तर सर्वसाधारणलाई कठिन भइरहेको अवस्थामा अस्थायी पुल निर्माण हुँदा स्थानीय बासिन्दा खुसी भएको युवा सङ्गठनका उपाध्यक्ष मिनेश एडीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :