आफ्नो पार्टीको नाम बदनाम गरेको भन्दै नेकपाको ध्यानाकर्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले आफ्नो पार्टीको नेताका नाममा गरिएको ब्ल्याकमेलिङप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हालै जनआस्था डटकमनामक अनलाइनमा साउन ३० गते ‘विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की : छिटो गर्नोस्, नत्र राम्रो हुन्न !’ भन्ने शीर्षकमा प्रकाशित समाचार र अडियोप्रति नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपाका उपत्यका विशेष ब्युरो इन्चार्र्ज मिलनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको लोकप्रियताका कारण पार्टीको नाम बेचेर विभिन्नखाले अराजनीतिक तत्वहरू आफ्नो निहित स्वार्थ पूरा गर्ने कार्यमा लागेको भन्दै आफ्नो पार्टीको बदनाम गर्ने कार्य निन्दनीय भएको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीको लोकप्रियता र नाम बेचेर विभिन्नखाले दलाल पुँजीवादका मतियारहरू, घुसपैठियाहरू, षड्यन्त्रकारी एजेन्टहरू, बिचौलिया तस्करहरू र अराजनीतिक तत्वहरू हाम्रो पार्टीलाई बदनाम गराउने र आफ्नो सीमित स्वार्थ पूरा गर्ने कार्यमा लागिरहेको देखिन्छ । हाम्रो जनप्रिय पार्टीको नाम लिँदै जनतालाई अनावश्यक मानसिक यातना दिनेजस्ता गतिविधि निन्दनीय र भत्र्सनायोग्य छ ।’

आफ्नो पार्टीको बदनाम हुने गरी गरिने सबै प्रकारका गलत गतिविधिहरूको भ्रममा नपर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी वर्तमान दलाल पुँजीवादी राज्यसत्ताले गरेका हरेक षड्यन्त्र र तिकडमलाई खारेज गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् र गर्विलो बाटोमा अघि बढिरहेको छ । यसै सन्दर्भमा हाम्रो पार्टीलाई बद्नाम गराउन खोज्ने तत्वहरूको पहिचान र ती तत्वहरूलाई उपयुक्त समयमा उचित कारबाही हुने नै छ । सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायलाई यसप्रकारका गलत गतिविधि र कार्यको भ्रममा नपर्न र पार्टीले अघि सारेका न्यायपूर्ण सङ्घर्षका कार्यक्रमहरूलाई आवश्यक सहयोग र समर्थनका लागि हाम्रो पार्टी उपत्यका विशेष ब्युरो हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :