पहिरोको उच्च जोखिममा रहेका लिदीबासीलाई स्थानान्तरण गर : जनपरिषद्

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सिन्धुपाल्चोकले पहिरोले ठूलो धनजनको क्षति पुर्याएको बस्ती लिदीमा अझै पनि जोखिम कायम रहेको भन्दै उक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ ।

जनपरिषद् सिन्धुपाल्चोकका प्रमुख जगतले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै लिदीका जनता पटकपटक बस्ती स्थानान्तरणका लागि प्रशासन कार्यालयमा धाएका भए पनि स्थानीय प्रशासन र सरोकारवालाले ध्यान नदिएपछि ठूलो मानवीय क्षति भएको बताएका छन् ।

यस्तै विज्ञप्तिमा पहिरोमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्न र पहिरो प्रभावितहरूलाई राहत दिन माग गर्दै लिदी अझै पहिरोको जोखिममा रहेकाले त्यहाँको बस्ती तत्काल स्थानान्तरण गर्न माग गरिएको छ ।

लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी हराइरहेका मध्ये अहिलेसम्म १६ जनाको शव भेटिएको छ भने केही अहिलेसम्म हराइरहेका छन् । त्यस क्षेत्रमा पहिरोको जोखिम भएकाले बेपत्ताको खोजी गर्न पनि कठिन भइरहेको बताइएको छ ।

पहिरो प्रभावति क्षेत्रमा नेपाली सेना र प्रहरी उद्धारका लागि खटिएका छन् तर पानी परिरहेको र पहिरो खस्ने जोखिम भएका कारण उद्धारमा कठिनाइ भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :