सरकारी पार्टीको कार्यदल अवैधानिक भन्दै विवादमा, पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ : फुटको सङ्घारमा पुगेको सरकारी पार्टीलाई जोगाउने अन्तिम प्रयासका रूपमा मिलापका लागि सुझाव दिन भनी बिहीबार मात्रै गठन भएको भनिएको कार्यदल अवैधानिक रहेको भन्दै उक्त पार्टीभित्रैका प्रभावशाली नेताहरूले प्रश्न गरेपछि प्रथम अध्यक्ष केपी वली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो गाँसमै ढुङ्गो लागेको छ ।

पार्टीको आन्तरिक किचलो अध्ययन गरेर सुझाव दिन भन्दै वली, दाहाल र माधव नेपालका तीनतीनजना विश्सासपात्र राखेर निर्माण गरिएको कार्यदलप्रति दाहाल पक्षका भनिएका नेताहरू माधव नेपाल र झलनाथ खनालले नै अवैधानिक भन्दै प्रश्न उठाएपछि वली पक्षलाई केही राहत भएको तर दाहाल पक्षलाई सकस बढेको जानकारहरू बताउँछन् ।

नेपाल, खनाल र नारायणकाजी श्रेष्ठले कार्यदलको हैसियत र वैधानिकताबारे द्वितीय अध्यक्ष दाहाललाई प्रश्न राखेपछि कार्यदल जन्मिनासाथ पतन हुने आँकलन गरिएको छ । पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि सुझाव सङ्कलन गर्न भन्दै प्रधानमन्त्रीसमेत रहेका सरकारी नेकपाका प्रथम अध्यक्ष वली र द्वितीय अध्यक्ष दाहालले बिहीबार मात्रै ६ सदस्यीय कार्यदल गठन भएको घोषणा गरेका थिए । कार्यदलमा आफ्नो पक्षका दुई सदस्य राखिएको भनिएका नेपालले नै प्रश्न गर्नुलाई अझ गम्भीरतासाथ हेरिएको छ ।

समाचार स्रोतका अनुसार नेपाल, खनाल र श्रेष्ठले कार्यदल गठनमै शङ्का व्यक्त गर्दै उक्त कार्यदल अवैधानिक रहेको बताएका थिए । दाहाल निवास खुमलटारमा शुक्रबार भएको छलफलमा तीनैजना नेताले कार्यदल कुन विधि र पद्धतिका आधारमा गठन भएको हो भनेर दाहाललाई आछुआछु पारेका थिए ।

कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसलाई कुनै पक्षले नमानेमा त्यसको के अर्थ वा औचित्य रहन्छ र त्यसको जबाफदेही कसले लिन्छ भन्ने उनीहरूको प्रश्न रहेको थियो । तीनै नेताले कार्यदललाई व्यवस्थित र आधिकारिक बनाउनुपर्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :