सत्ताधारी पार्टीमा पुरानो इवि र बदलाको राजनीति

पार्टी–सत्ता र राज्य–सत्ता झगडाको केन्द्रबिन्दु

काठमाडौँ : कम्युनिस्ट विचार, सिद्धान्त, राजनीति, व्यवहार सबै तिलाञ्जली दिएर दलाल पुँजीवादी पार्टी बनिसकेर पनि नाउँको अगाडि नेकपाकै फँुदो झुन्ड्याइरहेको सत्ताधारी पार्टीभित्र चार नेताबीच एकले अर्कोसँग पुरानो इवि साध्ने र बदला लिने तिकडम बढिरहेको रहस्य आआफैँले उद्घाटन गर्न थालेका छन् । सत्ताधारी पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले एउटा सार्वजनिक कार्यक्रममा प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी वलीले पुरानो इवि साधेको बताएका छन् भने वलीले पेलेर भित्तामा पुर्याएका पूर्वएमाले नेताहरू माधव नेपाल र झलनाथ खनालले वलीसँग सहकार्य गर्न धेरै गाह्रो भइरहेको अभिव्यक्ति दिएका छन् । उता केपी वलीले भने आफूले गरेका ‘राम्रा काम’ देखिनसहेर अरु नेता आफूमाथि खनिएको बताउँदै आएको छन् । यी अभिव्यक्तिहरूले पनि सत्ताधारी दलभित्रको रडाको विचार, सिद्धान्त, राजनीतिमा नभएर सत्तामा पहुँच र इवि साध्नमै केन्द्रित रहेको देखिन्छ ।

यद्यपि नेपालको पनि केन्द्रीय राजनीतिको मियो सत्ता लुछाचुँडी र पद हत्याउने विषयलाई नै केन्द्रमा राखेर घुम्ने गरेको छ । सामन्ती व्यवस्थामा मौलाएको यो राजनीति दलाल पुँजीवादी व्यवस्थामा पनि उत्कर्षमै पुगेको देखिन्छ । राणा शासनदेखि सक्रिय राजन्त्रात्मक व्यवस्था र त्यसयताका संसदीय व्यवस्थाहरूमा बनेका सरकार र ती सरकार चलाउने नेताहरूबीच कहिले के बहाना र कहिले के बहानामा सत्ताराजनीति नै हाबी भएको देखिन्छ । काङ्ग्रेसभित्र गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको सङ्घर्ष अहिले देउवा र रामचन्द्र पौडेलबीच केन्द्रित भएको छ भने पूर्वदरबारिया पार्टीहरू अमिबाजस्तै कहिले जोडिने र कहिले टुट्ने गर्दै आएका छन् । मधेसवादी भनेर चिनिएका तराईकेन्द्रित क्षेत्रीय समूहहरूले त सत्ताराजनीतिलाई नै केन्द्रमा राखेर विभाजन र एकताको रेकर्ड नै तोडिसकेका छन् ।

यता बहालवाला सत्ताधारी पार्टीका नेताहरू मियो नभएको गोरुझैँ कहिले यो छेउ त कहिले ऊ छेउ पुग्ने गरेका देखिन्छन् । वास्तवमा बहुदलीय जनवाद र जनताको जनवाद कुनै वैचारिक–सैद्धान्तिक बहसका विषय नै होइनन् । यी दुवै बुर्जुवा पुँजीवादी कार्यशैलीहरू मात्र हुन् । रुसलगायत पूर्वसमाजवादी देशहरूमा प्रयोग भएर बासी भइसकेको बहुदलीय जनवाद वा प्रतिस्पर्धात्मक संसदीय राजनीतिलाई एमालेले कम्युनिज्मको जामा पहिर्याएर कम्युनिस्ट मतदाता बढी भएको मुलुकमा चुनाव जित्ने अस्त्र बनाएको छ भने मालेमावाद परित्याग गरेर घुाइफिराई एमालेकै संसद्वादी पथमा ओर्लिएको पुष्पकमल दाहाल समूहको जनताको जनवाद पनि बहुदलीय जनवादकै पुष्पकमल दाहाल शैलीको रूपान्तर वा स्खलनबाहेक केही देखिँदैन । माक्र्सवादमा संशोधनवाद छिराएर लोकप्रिय बनेका मदन भण्डारीको संसद्वादी कार्यदिशाको भद्दा नक्कल गर्ने माधव नेपाल, झलनाथ खनाल वा केपी वलीहरूबीच कुनै वैचारिक, सैद्धान्तिक, राजनीतिक लडाइँ नै छैन, यिनीहरू त केपी वलीले लामो समयसम्म सरकार सञ्चालन गर्ने भए, आफ्नो गुटका नेता–कार्यकर्तालाई मात्र पोस्ने भए, आफ्नो र आफ्ना गुटको पालो नआउने भयो भन्ने चिन्ताले नै संसद्वादका नयाँ जोगी पुष्पकमल दाहालको फेर समात्न र सहारा लिन आइपुगेका हुन् ।

यसै क्रममा केपी वलीसँग पार्टीसत्ता र सत्ताको छिनाझपटीमा लागेका दाहाल समूहका तीन नेता दाहाल, नेपाल र खनाल सबैले केपी वलीसँग आफूहरूको सैद्धान्तिक, वैचारिक, राजनीतिक लडाइँ नभएको र कार्यशैलीको मात्र लडाइँ भएको बताएर प्रकारान्तारले सत्ता–सरकारमा जो भए पनि हुने त त्यही नै हो भन्ने प्रस्ट पारिदिएका छन् । वलीबाहेकको एउटा सार्वजनिक कार्यक्रममा तीनै नेताले बोलेको बोलीको कुल योगले वलीको तिकडम र कार्यशैलीसँगको सङ्घर्ष नै हो भन्ने देखाउँछ । सरकारी पार्टीका सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा द्वितीय अध्यक्ष दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालले पार्टीमा विचार र नीतिभन्दा विधि र पद्धतिका लागि सङ्घर्ष भइरहेको भन्दै वलीविरुद्धको सङ्घर्ष कायम रहने झिनो आशा व्यक्त गरे ।

कार्यक्रममा सहभागी नेताहरूले केपी वली र प्रचण्डको बीचमा पदको लडाइँ हो भन्ने प्रचार भइरहेको भन्दै ती नेताले त्यसको खण्डन गरेका थिए । ‘पार्टीभित्रको बहसलाई जसरी पदका निम्ति छिनाझपटी हो कि भनिएको छ, त्यो होइन’, दाहालले भनेका थिए । आफूहरूले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मङ्सिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छोडेको दाहालको दाबी थियो । उनले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुचि पनि छैन ।’ सबैलाई थाहा भएको कुरा हो– दाहाल जे भन्छन् त्यो गर्देनन् र जे भन्दैनन् त्यो गर्छन् । नेकपा (माओवादी) विभाजनको समयमा पनि उनले कार्यकर्ताहरूलाई आफू अझै विद्रोह गरेर कम्युनिस्ट सत्ता स्थापना गर्न दृढ रहेको बताएका थिए तर उनले हिजो आफैँले प्रतिक्रियावादी घोषणा गरेको एमालेमा लगेर गौरवशाली इतिहास बोकेको पार्टीलाई विलीन गराइदिए । हिजो भुनाव हारेको झोकमा एमालेमा पार्टी विलय गराउन आफूले गरेको निर्णय आज उनैलाई भालुको कन्पाटोजस्तै भएको छ ।

उक्त कार्यक्रममा तीन नेताले माक्र्सवाद–लेनिनवादका आधारमा निर्देशित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ? भन्ने विषय उठाए पनि त्यो देखाउने दाँत मात्र भएको सबैको बुझाइ छ । उनीहरूले– पार्टीलाई निश्चित राजनीतिक मान्यतामा सङ्गठित गर्ने कि अराजक भीड बनाउने ?, पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ?, विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ?, सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ? भन्ने प्रश्न उठाएका थिए । यी प्रश्नहरूको कुल योग पनि राज्यसत्ता र पार्टीसत्ता दुवैतिर केपी वली समूहको हालीमुहाली रहेकाले त्यसका विरुद्धको झोक मात्र हो ।

उक्त कार्यक्रममा दाहालले पार्टीमा वलीसँग यस्तै विषयमा गम्भीर अन्तरसङ्घर्ष चलिरहेको बताएका थिए । दाहालले भनेका थिए, ‘अहिलेको बहस पार्टीलाई विधि, पद्धति, विचारका आधारमा चलाउने हो कि पार्टी भनेको केही होइन, एकपटक निर्वाचित भएपछि नेता नै सबथोक हो भन्ने भन्ने बहस हो ।’

दाहालले मङ्सिर ४ गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि आफूले स्थायी र केन्द्रीय समितिको बैठकको अध्यक्षता गरेको र दुवै बैठक सफल भएपछि केपी अत्तलिएर आफ्नो विरोध गरेको बताए । वलीका लागि ती दुवै बैठकका निर्णय विडम्बना बन्न पुगेको र अब आफूहरू रक्षात्मक हुने भयौँ भनेर वली समूहले भेला गरी पोलिसी सिफ्ट गरेको बताएका थिए । उनले भनेका थिए, ‘पूर्वएमालेहरूलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।’

त्यही रणनीतिअनुसार वलीले पार्टी सचिवालयको निर्णयसमेत मान्दिनँ भनेको दाहालको भनाइ थियो । पार्टीमा बहस भइरहेका बेला आफूसँग बदला दिने गरी निर्णय हुन थालेको भन्दै दाहालले भने, ‘मैले गरेका निर्णयहरू उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो ।’ पार्टी बैठकमा अध्यक्षद्वयको कुर्सी हटाउनु प्रतीकात्मक विषय मात्र नभएको दाहालको ठम्याइ छ । कार्यक्रममा उनले भने, ‘त्यो निषेधात्मक सोचाइ र अरूलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो ।’

पार्टीका अर्का अध्यक्ष वलीले पार्टी फुटका पक्षमा लगातार गतिविधि गर्दै आएको उनको भनाइ थियो । पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा नाराबाजी लगाउने गतिविधि त्यसको प्रमाण भएको दाहालको भनाइ थियो ।

कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले भने विधानमै बहुमतको निर्णय, पार्टीको निर्णय हुने उल्लेख भएको स्मरण गराउँदै वली मल्पमतमा रहेकाले आफूहरूले भनेको मान्नुपर्ने धारणा राखेका थिए । उनले बैठकबाट डराउने नेता र पानीबाट डराउने किसानको काम छैन भन्दै स्थायी समितिको बैठक राख्न डराउने केपी वलीलाई व्यङ्ग्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :