कोरोना सङ्क्रमणबाट ४९ को मृत्यु, सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरस पोजेटिभ देखिएका मध्ये काठमाडौँ उपत्यकामा मात्र ५३ जना सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका ५३ सङ्क्रमितमध्ये ४८ जना काठमाडौँ जिल्लाका छन् भने ४ जना ललितपुर र १ जना भक्तपुरका छन् । लकडाउन हटाइएसँगै भीडभाड बढेका कारण कोरोना सङ्क्रमण समुदायमा पुग्ने जोखिम बढेको बेला एकै दिन ३ सय ११ जनामा सङ्क्रण देखिएको हो ।

देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा मङ्गलबार ३ सय ११ सङ्क्रमित थपिएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी मात्रै २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य सङ्क्रमितहरूमा कपिलवस्तुका ३४, स्याङ्जा र कैलालीका १८–१८ जना, डोटीका ५८ जना, मोरङका १७, सप्तरीका १५, पर्साका १४, अछामका १६, धनुषाका ९, महोत्तरीका ८, नवलपुर र दाङका ६–६ जना, बाराका ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा ४ जना, झापा, बाँके, बझाङ, लमजुङका ३–३, रूपन्देही, सर्लाही, कास्की र सुर्खेतमा २–२ जना तथा इलाम, रौतहट, नवलपरासी, नुवाकोट, रामेछाप, मकवानपुर, ओखलढुङ्गा, गोरखा, दैलेख, दार्चुला र कञ्चनपुरमा एक–एकजना सङ्क्रमित थपिएका छन् । आज थपिएका ३ सय ११ सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ६३ पुगेको छ । उनीहरूमध्ये १३ हजार ८७५ निको भएका छन् भने मङ्गलबारसम्म ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :