सत्ताधारी पार्टी फुटको संघारमा


काठमाडौँ : गत असार महिनादेखि छताछुल्ल हुँदै आएको सरकारी नेकपाभित्रको विवादले मङ्गलबारबाट भने उत्कर्ष रूप लिएको छ । बारम्बार डाकिँदै र स्थगित गरिँदै आएको पार्टी स्थायी समितिको बैठकबाट प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वली तर्सिएर एकतर्फी रूपमा स्थगित गरेको सूचना सार्वजनिक गरेपछि द्वितीय अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले आक्रोशित बन्दै एकपक्षीय बैठक बसालेर वलीको आलोचना गरेको छ ।

समाचार स्रोतका अनुसार वलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बहुमत सदस्यको बैठक राखेका थिए । वलीविरोधी स्थायी समितिका बहुमत सदस्यको बैठकले वलीले एकपक्षीय रूपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

यसअघि विभिन्न बहानामा बैठक स्थगित गरिँदै आएको थियो । साउन ४ गते बसेको स्थायी समिति बैठकले साउन १३ गते बस्ने निर्णय गरेको थियो । स्थायी समिति सदस्यहरू बैठक बस्न भनेर बालुवाटार पुगे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बैठक स्थगित भएको भन्दै उनीहरूलाई फर्काइदिएका थिए । बैठकका लागि बालुवाटार पुगेका दाहाल र नेता झलनाथ खनाल वलीलाई भेटे पनि वली बैठक बोलाउनै तयार नभएको दाहालले बताएका छन् ।

दाहाल–नेपाल–खनाल पक्षीय बहुमत सदस्यबीच भएको बैठकले वलीले एक्लै बैठक स्थगित गर्नु बेठीक भएको निर्णय गरेको छ । यो निर्णयले सरकारी नेकपा फुटको संघारमै पुगेको विश्लेषकहरूको मत छ ।

उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘जारी स्थायी समिति बैठक पार्टी अध्यक्ष केपी शर्मा वलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष वलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :