नेकपा नेत्री उमा भुजेल रिहा भएलगत्तै दसौँपटक गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी नेत्री उमा भुजेल ‘शिलु’ लाई प्रहरीले अदालतको आदेशमा रिहा भएलगत्तै दसौँपटक गिरफ्तार गरेको छ ।

शिलुका साथै सुमनसिंह पौडेल र मीनप्रसाद तीनजनाको बहस–पैरवी साउन ११ गते सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।

प्रहरीले उनीहरूलाई खरखजाना मुद्दा पनि लगाएको छ । राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका नेताहरूका पक्षबाट अधिवक्ताहरू भवानीप्रसाद आचार्य र चेतनाथ ढकालले पैरवी गरेका थिए । जिल्ला न्यायाधीश कान्तिराम आचार्यले थुनछेक आदेश गरेका हुन् ।

साउन १२ गते भएको थुनछेक आदेशअनुसार, उमा भुजेललाई ३ वटा मुद्दामा जम्मा १ लाख धरौटी र २ वटामा साधारण तारिखमा रिहा गर्ने फैसला भएको छ । नेता पौडेललाई ३० हजार धरौटीमा रिहा गर्ने फैसला भएको छ भने मीनप्रसाद पोखरेल साधारण तारेखमा रिहा भएका छन् ।

उमा भुजेल ‘शिलु’ लाई दसौं पटक गिरफ्तार गरी सुनसरी लगिएको भुजेलको पारिवारिक स्रोतले बताएको छ । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा जिल्ला स्तरका सबै सरकारी कार्यालय चैनपुरबाट स्थानान्तरण गरिएको भए पनि जनदबाबका कारण जिल्ला अदालत भने चैनपुरमै रहेको छ । अभियुक्त बनाइएका नेताहरूलाई जिप्रका खाँदबारी नलगी आइतबार चैनपुरमै राखिएको थियो । उमा भुजेलसँगै नेता पौडेललाई पनि सुनसरी लैजाने प्रहरीको तयारी भएको बुझिएको छ ।

नेकपाका केन्द्रीय नेताहरू माइला लामा र दीपेश राई सङ्खुवासभा कारागारमा लामो समयदेखि आस्थाको बन्दीका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :