कम्युनिस्ट नेता बर्मन बुढाप्रति नेकपा र जनसत्ताको श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र पार्टीको नयाँ सत्ता केन्द्रीय जनपरिषद्, नेपालले रोल्पा थबाङका क्रान्तिकारी कम्युनिस्ट नेता बर्मन बुढामगरको निधनप्रति गहिरो शोक प्रकट गरेका छन् । केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले बुधबार समवेदना वक्तव्य जारी गरी पार्टीका पूर्वकेन्द्रीय सल्लाहकारसमेत रहेका बर्मन बुढामगर एक असल अभिभावक रहेको र उनको निधनले अपूरणीय क्षति पुगेको भन्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

जनसत्ताका प्रमुख सन्तोष बुढामगरद्वारा जारी समवेदना वक्तव्यमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा रोल्पा थबाङ गाउँ निवासी कमरेड बर्मन बुढामगरको असामयिक निधनको आकस्मिक खबरले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र केन्द्रीय जनपरिषद् नेपाल निकै मर्माहत र भावविह्वल भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘१९८७ सालमा थबाङ गाउँमा जन्मनुभएका आदरणीय कमरेड बर्मन बुढामगर हाम्रो पार्टीका एक असल अभिभावक हुनुहुन्थ्यो । उहाँ रोल्पा जिल्लाको नेपाल कम्युनिस्ट पार्टीको एक संस्थापक सदस्य तथा २०४८ सालमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित सांसद पनि हुनुन्थ्यो । उहाँले २०१२ सालदेखि कम्युनिस्ट आन्दोलनमा अमूल्य योगदान गर्दै आउनुभएको थियो । थबाङ गाउँलाई थबाङका रूपमा उभ्याउने एक अथक योद्धा, हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार सदस्य कमरेड बुढामगरले हाम्रो पार्टीको असल अभिभावकत्व गर्दै आउनुभएको थियो ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘केही समययता उहाँ क्यान्सर रोगबाट पीडित हुनुभएको थियो । उपचारका क्रममा पाटन अस्पतालमा उहाँको निधन भएको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र नयाँ सत्ता (केन्द्रीय जनपरिषद्, नेपाल) दिवंगत कमरेड बर्मन बुढामगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको परिवारजनमा पर्न गएको दुःखप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’ समवेदनाको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :