रोल्पा इन्चार्ज बिजुलीलाई तत्काल रिहा नगरे शक्तिशाली जनप्रतिरोध : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले रोल्पा इन्चार्ज कलम थापा ‘बिजुली’ लाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे शक्तिशाली जनप्रतिरोध गर्ने बताएको छ ।

राप्ती ब्युरो इन्चार्ज समरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ढाडको अपरेसन गरेर आराम गरिरहेको बेला साउन २ गते सुनिल गाउँपालिका वडा नं. ६ बाट सादा पोसाकमा गएको प्रहरीले अपहरण शैलीमा बिजुलीलाई गिरफ्तार गरेको भन्दै रिहाइका लागि पहल गर्न मानवअधिकारकर्मी तथा नागरिक समाजलाई अपिल गरेका छन् । उनले पार्टीमाथि थोपरिएको प्रतिबन्धका बाबजुद आफ्ना नियमित सङ्गठनात्मक कामहरूका अतिरिक्त कोभिड १९ का कारण भएको बन्दाबन्दीले अस्तव्यस्त बन्दै गएको सामाजिक अवस्थालाई सहजीकरण गर्दै बाढी, पहिरो तथा डुबानका दुःखद् घटनाक्रमहरूमा दिलोज्यानले खटिरहेका नेता–कार्यकर्ताहरूलाई सामाजिक फासिवादी केपी वली नेतृत्वको सरकारले देशव्यापी गिरफ्तारी र राज्यआतङ्क अगाडि बढाइरहेको प्रति भत्र्सनासमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्ती ब्युरो सदस्य तथा रोल्पा जिल्लाका इन्चार्ज कमरेड कलम थापा ‘बिजुली’ लाई ढाडको अप्रेसन गरी आराम गरिरहेको अवस्थामा २०७७ साउन २ गते सुनिल स्मृति गाउँपालिका ६ बाट सादा पोसाकमा रहेका प्रहरीहरूद्वारा अपहरण शैलीमा गिरफ्तार गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी सामाजिक फासिवादी केपी नेतृत्वको सरकारको यसप्रकारको जघन्य आपराधिक क्रियाकलापको घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका कमरेड कलम थापा ‘बिजुली’ लाई रिहाइका लागि पहल गर्न मानवअधिकारवादी तथा नागरिक समाजलाई अपिल गर्दछौँ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कमिसनखोरीको खेलमा बिकेको वर्तमान सामाजिक फासिवादी केपी नेतृत्वको सरकारले त्यसप्रकारका आपराधिक कार्य नसच्याएमा शक्तिशाली जनप्रतिरोध गर्न हाम्रो पार्टी बाध्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :