सरकारी नेकपाको किचलो भुसको आगो

भोलिको स्थायी समिति बैठकको मुख्य एजेन्डा पनि वलीको राजीनामा, यो बैठक निर्णायक हुनसक्ने


काठमाडौँ : केही दिनअघिदेखि देखिने गरी मच्चिएको सरकारी नेकपाभित्रको किचलो र झगडा अहिले भुसको आगो भएर सल्किरहेको देखिन्छ । गतसाता चिनियाँ राजदूतको पहलमा फुटको मुखबाट जोगिएको ठानिएको सरकारी नेकपा चर्किएको माटाको भाँडोजस्तो बनेको छ । यसअघि बसेका स्थायी समिति बैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिएपछि केपी वली पक्ष बरु पार्टी विभाजन होस् तर पद नत्याग्ने निष्कर्षमा पुगेको छ भने वलीविरोधी पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह सकेसम्म वलीलाई गलाएर पार्टी र सत्ताबाट विमुख गराउने पक्षमा देखिन्छ ।

दाहाल–नेपाल समूहमा आबद्ध सचिवालय सदस्यहरूको बिहीबार भएको छलफलले पनि शुक्रबार बस्ने भनिएको पार्टी स्थायी समितिको बैठकमा पनि केपी वलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन लगाउने निष्कर्ष निकालेको जानकारी दाहाल–नेपाल स्रोतले दिएको छ ।

स्थायी समिति बैठकअघि दाहाल–वली र दाहाल–वली समूहका विश्वासपात्रबीच पटकपटक बैठकहरू बसिसकेका छन् । बिहीबार बसेको वली–दाहाल समूहको बैठकमा पनि वलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिइएको थियो । दाहाल र नेपाल समूह भरसक वलीलाई सहमतिमै पद छोड्न लगाउने तयारीमा देखिन्छ । सञ्चारमाध्यमहरूमा दुवै पक्ष लचक हुँदै गएको भनेर पार्टी कार्यकर्तालाई थामथुम पारिए पनि वलीको हठ एकरत्ति नघटेको उनका विपक्षीहरूले बताउँदै आएका छन् ।

सरकारी नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र उक्त पार्टीका अर्का नेता माधवकुमार नेपालले बिहीबार प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष केपी वलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए । शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमति खोज्न भन्दै दाहाल, नेपाल र वलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । यसअघिका वार्तामा वली र दाहाल मात्र बस्दै आए पनि बिहीबारको बैठकमा दाहालले नेपाललाई पनि लगेका हुन् । बिहीबारको बैठकमा उक्त पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ । बैठकमा दाहाल र नेपालले वलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पनि वली टसमस नभएको बैठकस्रोतले बताएको छ ।

स्रोतहरूका अनुसार वलीसँग छलफल गर्न जानुअघि दाहाल निवास खुमलाटारमा सरकारी नेकपाको सचिवालयमा रहेका दाहाल र नेपालका साथै झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच छलफल भएको थियो । उक्त छलफलमा वलीलाई फेरि पनि दुवै पदबाट राजीनामा दिन आग्रह गर्ने सहमति भएको बताइएको छ । वली भने पार्टी विभाजन भए पनि दुवै पद नत्याग्ने अडान लिएर बसेका छन् । बालुवाटार बैठकमा पनि वलीले आफू कुनै पनि हालतमा दुवै पद त्याग नगर्ने दोहो¥याएका थिए ।

जानकारहरू शुक्रबारको स्थायी समिति बैठक निर्णायक मोडमा पुग्नसक्ने बताउँछन् । शुक्रबारको स्थायी समिति बैठकमा पनि वलीले पदत्याग नगर्ने अडान कायमै राखेमा बहुमतबाट वलीमाथि कारबाही हुनसक्ने आँकलन गर्न थालिएको छ । दाहाल–नेपाल समूह पनि वलीको ज्यादती सहेर बस्नु र अडानबाट पछि फर्कनु आफ्नो समूहका लागि लज्जाजनक हुने निष्कर्ष निकालेर बसेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :