सरकार मानवीय संवेदनालाई बिर्सेर दमनको बाटोमा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नेकपाका नेता ओमप्रकाश पुन र महिला नेत्री पूर्णिमा धामीलाई सरकारले गिरफ्तार गरेको विषयलाई लिएर भत्र्सना तथा विरोध गरेको छ । दार्चुला जिल्ला इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट पार्टीको नेता भएको दाबी गर्ने र झापा आन्दोलनबाट भागेको खोक्रो राष्ट्रवादी केपी शर्मा वली नेतृत्वको सामाजिक फासिवादी सरकारले आस्थाका आधारमा नेकपाका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै विरोध तथा भत्र्सना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो राजनीतिक जीवनको सुरुआती दिनमै आन्दोलनबाटै भागेका वली सत्ताको बागडोर समालेदेखि नै अति पूर्वाग्रही ढङ्गले श्रमजीवी तथा उत्पीडितहरूको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीमाथि दमनमा उत्रिएका थिए । चरम आत्मकेन्द्रित र घोर नोकरशाही चरित्रका वली र उनको कम्पनीले करिब डेढ वर्षअघि नै आफैँले निर्माण गरेको संविधानलाई कुल्चिएर नेकपामाथि प्रतिबन्ध लगाएको थियो जसको निरन्तरता अहिलेको धरपकड हो भन्ने कुरामा कुनै दुई मत छैन ।’

कोरोना भाइरसका कारण इतिहासकै सङ्कटग्रस्त अवस्थामा परेको बेला समाजमा स्थापित परम्परागत अर्थराजनीतिक सम्बन्धले सिर्जना गरेका आदर्श, सामाजिक मूल्य र मान्यतामा उथलपुथल आएको बेला पूरै विश्व मानव इतिहासकै चरम सङ्कट टार्न एकजुट भएर यसका विरुद्ध लडिरहेको बेला नेपालमा भने वली नेतृत्वको सामाजिक फासिवादी सरकारले आफ्नो सङ्कटलाई विषयान्तर गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई धमाधम गिरफ्तार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा दक्षिणपन्थी तथा दलाल पुँजीवादी राज्यसत्ताका संरक्षक बनेका वली र उनको कम्पनीले न्यूनतम् मानवीय संवेदनालाई बिर्सेर गरेको क्रूर दमन तथा धरपकडले पार्टीलाई क्रुद्ध बनाएको उल्लेख छ ।

प्रतिक्रियावादी राज्यसत्ताले गरेको दमन र धरपकडले संसारमा कहीँ पनि क्रान्ति रोकिएको इतिहास नभएको, बरु क्रान्तिकारी आन्दोलन तथा सामाजिक परिवर्तनका लागि वस्तुगत स्थिति झन् अनुकूल बनाउने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बुधबार गिरफ्तार गरिएका नेकपाका नेता पुनलगायत गिरफ्तार गरेर जेल र हिरासतमा राखिएका सबै आस्थाका बन्दीहरूको रिहाइको माग पनि विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :