भारतले नक्कली अयोध्या बनाएको वलीको अभिव्यक्तिप्रति भारतमा तरङ्ग

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा वलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि उक्त भनाइले भारतमा व्यापक तरङ्ग ल्याएको छ । वलीको उक्त भनाइ विवादित पनि बनेको छ । उक्त भनाइलाई लिएर भारतमा वलीको विरोध भएको छ । वलीले सोमबार ‘भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्जपश्चिममा पर्ने र भारतले विवादित अयोध्या खडा गरेको’ बताएका थिए ।

उक्त भनाइलाई लिएर भारतमा तीव्र प्रतिक्रिया सुरु भएको छ । भारतीय समाचार संस्था पीटीआईले यो राजनीतिक विवाद उक्साउने कदम भएको बताएको छ । सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीले वलीको भनाइको निन्दा गरेका छन् ।

यस्तै भारतीय समाचार संस्था आईएएनएसले लेखेको समाचारमा वलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख छ । नेपाल–भारत सम्बन्धमा समस्या उत्पन्न भएको बेला प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै नेपालमै पनि उनको आलोचना सुरु भएको छ ।

प्रधानमन्त्री वलीले भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेपाल भारतद्वारा सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको अभिव्यक्ति दिएका थिए । अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए । भानुजयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन, अयोध्याका रामलाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमपट्टिको गाउँ हो ।’

प्रधानमन्त्रीको उक्त भनाइलाई नेपालमा पनि फरकफरक कोणबाट बुझ्न र टिप्पणी गर्न थालिएको छ । नेपालमा भूकम्प र नाकाबन्दीको बेला वलीले राष्ट्रवादी अभिव्यक्ति दिएर जनमत बटुलेजस्तै नेकपाभित्रको विवाद र नयाँ नक्सा जारी भएपछि नेपाल–भारतबीचको सम्बन्धका विषयलाई लिएर उत्पन्न विषम परिस्थितिमा फेरि पनि जनमत बटुल्न र सस्तो लोकप्रियता कमाउन उनले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :