एमसीसी पारित नगर्न चेतावनीसहित सांसदको घरघरमा सूचना टाँसियो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले एमसीसीका विपक्षमा उभिनका लागि कैलालीमा घर भएका राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको घरको गेटमा सूचना र परिवारको सदस्यलाई पत्र दिँदै कडा जनकारबाहीको चेतावनीसहित एमसीसी खारेज गर्न सांसदहरूलाई उर्दी जारी गरेको छ ।

एमसीसी नेपाली जनताको हितविपरीत रहेको इन्डो–प्यासिफिक रणनीतिक कार्यक्रम रहेको भन्दै नेकपाले विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको छ । त्यही कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका ८ घर भएका नेकपाका सांसद नारदमुनि रानाको घरमा सूचना टाँस गरी परिवारका सदस्यलाई पत्र थमाएको छ ।

त्यसैगरी धनगढी वडा नं. ४ मा केही समयअगाडि आरजू राणा देउवाले किनेको घरमा समेत नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका नाममा सूचनापत्र टाँसिएको र उक्त घरमा परिवारको सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटभित्र छोडिएको नेकपा स्रोतले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिकास्थित उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टको घरमा समेत एमसीसी खारेजीको पत्र र सूचना टाँसिएको नेकपाले जनाएको छ ।

यसैगरी गौरीशङ्कर थारू, झपट रावललगायत कैलालीका सबै कथित जनप्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरूलाई एमसीसीका पक्षमा लागे वा मतदान गरे जिल्ला प्रवेशमा निषेधसहित कडा जनकारबाही गरिने बेहोराको लिखित पत्र पठाइएको नेपाल कम्युनिस्ट पार्टी कैलालीले जनाएको छ ।

पत्रको बेहोरा यसप्रकार रहेको जनाइएको छ :

श्रीमान् राष्ट्रियसभा /प्रतिनिधिसभा सदस्य…ज्यू

कथित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो भन्ने कुरा स्वयम् अमेरिकी सुरक्षा निकाय र सरकारका पदाधिकारीहरूले भनिसकेको अवस्थामा सरकार र सरकारबाहिर रहेका साम्राज्यवादका नेपाली एजेन्टहरू देशभक्त नेपाली जनताको विरोध हुँदाहुँदै उक्त रास्ट्रघाती परियोजना संसदबाट पारित गराई नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप निम्त्याएर नेपाललाई साम्राज्यवादको सैन्य क्रीडास्थल बनाउन उद्यत रहेको सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समिति तथा सेती–महाकाली ब्युरोद्वारा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरीसकेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौँ ।

यतिखेर कोरोना महामारीको त्रासका बीचमा पनि एमसीसीको विषयलाई लिएर सिङ्गो देश नै सङ्घर्षमय बनेको छ । उक्त राष्ट्रघाती परियोजनालाई वैधानिकता दिने वा खारेज गर्ने भन्ने विषयलाई लिएर नेपालको प्रतिनिधिसभा तथा राष्ट्रिय सभा पनि सङ्घर्षका केन्द्र बन्ने देखिँदैछन् । यस्तो पेचिलो अवस्थामा कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने तपाईंले राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आमराष्ट्रप्रेमी कैलालीबासीहरूको रहेको छ । नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावका पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाईं तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु । अतः उक्त राष्ट्रघाती परियोजनाका पक्षमा तपाईं कदापि उभिनुहुनेछैन भन्ने हाम्रो पार्टीले आशा गरेको छ ।
धन्यवाद !

नेपाल कम्युनिस्ट पार्टी, कैलाली

मिति : ११ असार, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :