चौरजहारी ८ का वडाअध्यक्ष मल्लसहित २३ जना जेल चलान

रुकुम जातीय नरसंहार

काठमाडौँ : जातीय नरसंहारका रूपमा कुख्यात रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा अदालतले हत्याकाण्डका योजनाकार भनिँदै आएका चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्राप्त समाचारअनुसार तीनजनालाई साधारण तारेख र एकजनालाई धरौटीमा छाड्न पनि अदालतले आदेश दिएको छ ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६, ९१० र ९३०, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भनिने सविन पुन र मोहन पुनमगर रहेको समाचारमा जनाइएको छ ।

हत्याकाण्डमा मारिएका नवराज विककी प्रेमिकाकी आमालाई भने अदालतले एक लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको छ । त्यसैगरी अदालतले प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ । नवराज विककी प्रेमिकासहित दुईजनालाई बाल सुधारगृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको थियो । घटनामा संलग्न भई फरार रहेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा अझै पक्राउ परेका छैनन् ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ की मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजहारी पुगेका थिए । चौरजहारीमा घेरा हालेर नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको हत्या गरेर भेरी नदीमा फालिएको अवस्थामा शव फेलापरेको थियो । सोही दिन उक्त नृशंस हत्याकाण्ड भएपछि देशभरबाट घटनाका योजनाकार र दोषीमाथि कडा कारबाहीको माग हुँदै आएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसुरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछूतसम्बन्धी कसुरअनुसार आजीवन कैद गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :