नेपालमा एमसीसी लागू भए अफगानिस्तान र सिरियाको जस्तै हालत हुन्छ : लोहनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका केन्द्रीय अध्यक्ष गुणराज लोहनीले नेपालमा अमेरिकी साम्राज्यवादले सैन्य हस्तक्षेप गर्न एमसीसी सम्झौता लागू गर्न खोजेको भन्दै यो राष्ट्रिय स्वाधीनताका लागि निकै खतरनाक रहेको बताएका छन् ।
११ दलीय मोर्चाले मङ्गलबार चितवनमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै लोहनीले चीन र भारतबीच तनाव देखिएको बेला अमेरिका नेपालमा आएर चीनविरुद्ध गतिविधि गर्न चाहेको प्रस्ट पार्दै एमसीसी परियोजना नेपालमा लागू भए नेपाल अफगानिस्तान, इराक र इरानजस्तै युद्धमैदान बन्ने खतरा भएको बताए ।

सत्ताधारी दलाल नेताहरूले अरूलाई एमसीसी सम्झौता नपढेको आरोप लगाए पनि वास्तवमा उनीहरूले नै राम्रोसँग नपढेको भन्दै मञ्चका अध्यक्ष लोहनीले के अमेरिकाले हामीलाई माया गरेर यो लगानी गर्न लागेको हो भनेर प्रश्न गरे । यस्तै नेपालमा ठूलो जलस्रोत भएको र यसबाट ४ सय केभी प्रसारण लाइन बनाउने योजना पनि षड्यन्त्रपूर्ण रहेको धारणा राख्दै लोहनीले भने, ‘नेपालमा ५ करोडमा ४ केभी क्षमताको प्रसारण लाइन बन्नसक्छ तर ४ सय केभीका लागि अमेरिकाले २० करोड लगानी गर्दैछ किनकि उक्त बिजुली भारतलाई बेच्ने योजना छ ।’

नेपालको मकवानपुर जिल्लामा युरेनियमको खानी रहेको र उक्त पदार्थ अत्याधुनिक हतियार र विस्फोटक पदार्थका रूपमा प्रयोग गरिने भएकाले पनि अमेरिकाले नेपालमा आँखा गाडेको उनले बताए ।

नेपालमा अमेरिकी एमसीसी परियोजना लागू गर्नु राष्ट्रका लागि खतरा भएको भन्दै लोहनीले अमेरिकाका कारण अफगानिस्तान, इरान, इराक, सिरिया अशान्त भएजस्तै नेपालको हालत पनि ती देशको जस्तै हुने धारणा राखे । उनले राष्ट्रिय स्वाधीनतालाई जोगाउन नेपालका ३ करोड जनता लड्नुपर्ने कुरामा जोड दिए । भिडियाे…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :