असार १ गतेदेखि नेकपाका जनवर्गीय सङ्गठनहरू जातीय र रङ्गभेदी हत्याकाण्डविरुद्ध सडक सङ्घर्षमा


काठमाडौँ : रुकुमको चौरजहारीमा दलित युवाहरूमाथि कथित उच्च जातिबाट दलित युवामाथि भएको जातीय हत्याकाण्ड र अमेरिकामा श्वेत प्रहरीबाट अश्वेत युवकमाथि भएको रङ्गविरोधी हत्याकाण्डका विरुद्ध नेकपाका सम्पूर्ण जवस र मोर्चाहरू असार १ गतेदेखि सडकसङ्घर्षमा उत्रिने भएका छन् । नेकपाको केन्द्रीय कार्यालयस्रोतले दिएको जानकारीअनुसार नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा यही असार १ गतेदेखि देशैभरि विरोध प्रदर्शन हुने भएको हो ।

अमेरिकामा अश्वेत युवकमाथि श्वेत प्रहरीले घाँटी थिचेर गरेको हत्या र नेपालको रुकुमपश्चिममा कथित उच्च जातका मानिसले ६ जना दलित/गैरदलित युवाहरूलाई नृशंस हत्या गरेर नदीमा फ्याँकेपछि दुवैतिरका हत्याकाण्डका विरुद्ध न्यायप्रेमीहरू आन्दोलित छन् । नेकपा र विभिनन जनवर्गीय सङ्गठनहरूले पनि रुकुम हत्याकाण्डविरुद्ध आक्रोश व्यक्त गर्दै अपराधीमाथि कारबाही नभए सडक सङ्घर्षमा उत्रिने चेतावनी दिँदै आएका थिए ।

अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइड र नेपालमा दलित÷गैरदलित युवक नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाही र गणेश बुढाको क्रूरतापूर्वक हत्या भए पनि दुवै मुलुकका शासक र कथित जनप्रतिनिधिहरू हत्याराहरूलाई जोगाउन लागिरहेको भन्दै प्रदर्शन र आन्दोलनहरू भइरहेका छन् । नेकपाले रुकुम हत्याकाण्डका अपराधीहरूलाई कारबाही गर्न माग गरेको थियो भने नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति, भेरी–कर्णाली ब्युरो, रुकुम जिल्ला समिति र जाजरकोट जिल्ला समितिले दोषीमाथि कारबाही नगरिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएका थिए । संयुक्त दलित सङ्घर्ष समितिलगायत अधिकारकर्मी सङ्गठनहरूले पनि नृशंस हत्यामा संलग्न दोषीहरूमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए । यसै सन्दर्भमा नेकपाका जनवर्गीय सङ्गठनहरूले असार १ गतेदेखि दुवै हत्याकाण्डका विरुद्ध थप सङ्घर्ष चर्काउने भएका हुन् ।

नेपालमा यही जेठ १० गते रुकुमको चौरजहारी सोतीमा कथित उच्च जातकी एक युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका दलित युवक नवराज विकसहित ६ जनालाई युवतीको घरमा बोलाएर योजनाबद्ध रूपमा नृशंस हत्या गरिएको थियो । जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय बेहुला नवराज विकसँगै युवतीलाई बेहुली बनाएर घर ल्याउन भनी सोती पुगेका १८ जना युवकमध्ये बेहुलासहित भेरी नगरपालिका ४ रानागाउँका गणेश बुढा, चौरजहारी १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका ४ का सन्जु विक र गोविन्द शाहीको हत्या गरेर भेरी नदीमा फालिएको अवस्थामा शव फेलापारिएको थियो ।

सोती हत्याकाण्डका दोषीहरूलाई कारबाही गर्न माग गर्दै देशैभर विरोध प्रदर्शनहरू भइरहेका छन् । उक्त घटनामा रुकुमका स्थानीय र केन्द्रीय स्तरका जनप्रतिनिधिको नै संलग्नता र संरक्षण भएकाले कडा कारबाहीको माग गर्दै नेकपाका विभिन्न जनवर्गीय सङ्गठनसँगै विभिन्न राजनीतिक समूह र अधिकारकर्मीहरू आन्दोलित छन् । हत्याकाण्डमा सत्तासँग गाँसिएका पात्रहरू नै संलग्न रहेकाले घटनालाई तोडमोड गर्नसक्ने आन्दोलनकारीको आशङ्का छ ।

उता अमेरिकामा केही समयअघि नक्कली नोट कारोबार गरेको आरोपमा एक श्वेत प्रहरीले अश्वेत अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर लगातार ९ मिनेटसम्म घुँडाले घाँटी थिचेर क्रूरतापूर्वक हत्या गरेको भिडियो सार्वजनिक भएपछि त्यहाँ हालसम्म पनि ठूलठूला प्रदर्शनहरू भइरहेका छन् । अमेरिकाका ४० सहरमा त प्रदर्शन नरोकिएपछि कफ्र्यु नै लगाइएको छ । प्रजातन्त्रको उत्तम नमुना भएको देश भन्दै संसारलाई लोकतन्त्र सिकाउने अमेरिकामा अश्वेतमाथि गरिएको उक्त बर्बर आक्रमणले अमेरिकी शासनव्यवस्था अमानवीय रहेको प्रमाणित भएको भन्दै श्वेत र अश्वेत सबै मिलेर आन्दोलन जारी राखेका छन् भने उक्त घटनाको विरोधमा युरोपमा समेत प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :