नेकपाद्वारा कालिकोट टिपर दुर्घटनाप्रति दुःख व्यक्त

प्रवक्ता प्रकाण्डद्वारा सम्बन्धित अनलाइनलाई भ्रमपूर्ण समाचार प्रकाशन नगर्न चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कालिकोट जिल्ला रास्कोट क्षेत्रका ४५ जना जनतालाई कर्णाली प्रादेशिक सरकारले रास्कोट क्वारेन्टिनमा राख्ने भनेर प्रदेश राजधानी सुर्खेतबाट टिपरमा लाँदा कर्णालीको लालीघाटमा दुर्घटनामा परी मुत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । उक्त घटनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित मृतकका परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टी प्रवक्ता प्रकाण्डले बिहीबार प्रेस विज्ञप्ति निकाली जनताको जीवनमाथि खेलवाड गर्ने प्रदेश सरकारको नयाँ शासकीय दृष्टिकोण र रवैयाको घोर निन्दा एवं कडा भत्र्सना गरेका छन् । साथै उनले, जनआस्था अनलाइनले जेठ २६ गते बेलुकी ८ बजे पार्टीका बारेमा ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा छापेको समाचारप्रति पार्टीको विशेष चासो रहेको भन्दै पार्टीका विरुद्ध रचना गरेको षड्यन्त्रमूलक, उत्तेजनात्मक, झूठ र भ्रमपूर्ण समाचारको प्रचण्ड निन्दा र घोर भत्र्सना गर्दै यस्तो हद दर्जाको खुफिया पत्रकारिता पार्टीका विरुद्ध नगर्न सम्बन्धित अनलाइनलाई कडा चेतावनीसमेत दिएका छन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना भाइरसको विश्वव्यापी संक्रमण र आतंकबाट जीवन सुरक्षाका निम्ति भारतबाट नेपाल आएका कालिकोट जिल्ला रास्कोट क्षेत्रका ४५ जना जनतालाई कर्णाली प्रादेशिक सरकारले रास्कोट क्वारेन्टिन (Quaranting)मा राख्ने भनेर प्रदेश राजधानी सर्खेतबाट टिपरमा लाँदा कर्णालीको लालीघाटमा दुर्घटनाग्रस्त भएर दुइजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मुत्यु हुन पुग्यो । घाइते आठजनामा एकजनाको अवस्था गम्भीर र चिन्ताजनक रहेको छ । हाम्रो पार्टी लालीघाट दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । मृतक शर्मिला सार्की, थुम्की सार्की र निष्पता सार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । घाइतेहरुको शीर्घ स्वास्थ्यलाभको कामना गर्दछ । अकालमा ज्यान गुमाउन विवश कृतकका परिवारहरुलाई उचित राहत र घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘विदेशबाट आएका जनतासँगै कोरोना भाइरसको संक्रमण आयात हुने खतरालाई जाँचपरक गर्ने स्वास्थ्यविधिको विकास गरिएको क्वारेन्टिनमा राख्न लग्ने जनतालाई प्रदेशको राजधानी सुर्खेतबाट टिपरमा कोचेर पठाउनुको प्रदेश सरकारको निरीहता, लाचारी, हदै प्रकारको गैरजिम्मेवारी, व्यवस्थापकीय अक्षमता र अनाडीपना व्यक्त गर्दछ । जनताको जीवनमाथि खेलवाड गर्ने प्रदेश सरकारको नयाँ शासकीय दृष्टिकोण र रवैयाको पार्टी घोर निन्दा एवं कडा भत्र्सना गर्दछ । जनताको जीवनसँग लेखवाड नगर्न राज्य निकायहरुलाई कडा चेतावनी पनि दिन्छ ।’

प्रवक्ता प्रकाण्डले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘जनआस्था अनलाइनले जेठ २६ गते बेलुकी ८ बजे हाम्रो पार्टीका बारेमा ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा छापेको समाचारप्रति पार्टीको विशेष चासो रहेको छ । हाम्रो पार्टीका विरुद्ध रचना गरेको षड्यन्त्रमूलक, उत्तेजनात्मक, झूठ र भ्रमपूर्ण समाचारको पार्टी प्रचण्ड निन्दा र घोर भत्र्सना गर्दछ । यस्तो हद दर्जाको खुफिया पत्रकारिता पार्टीका विरुद्ध नगर्न सम्बन्धित अनलाइनलाई पार्टी कडा चेतावनी दिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :