स्वदेशी तरकारी नष्ट गर्दै भारतीय उत्पादनलाई प्रोत्साहन

काठमाडौँ : विश्व यतिबेला कोरोनाको महासङ्कटसँग जुधिरहेको बेला नेपालमा पनि लकडाउन भएको दुई महिना बितिसकेको छ । विश्वका धेरै मुलुकले कोरोना नियन्त्रणमा केही सफलता हात पारे पनि नेपालमा भने कोरोना सङ्क्रमण खरायो गतिमा र सरकारी कदम कछुवा गतिमा चलिरहेको छ । कोरोना कहरको बेला लाखौँ गरिब मजदुरहरू समस्यामा परिरहेका छन् तर धेरै कालोबजारिया र बिचौलियाहरूको राज चलिरहेको छ । कालोबजारिया र बिचौलियाहरूको बिगबिगीका कारण साना किसान र उद्योगीहरू मर्कामा परेका छन् ।

कालोबजारिया र बिचौलियाका कारण अर्घाखाची,पोखरालगातका स्थानमा स्वदेशमै उत्पादित तरकारी नष्ट गरिएको छ भने भारतीय तरकारी नेपालीहरूको भान्सामा निर्बाध पुगिरहेको छ । तरकारी तथा फलफूलबाट कोरोना सर्ने तथ्य अहिलेसम्म कुनै वैज्ञानिक अध्ययनमा प्रमाणित नभएको जनस्वास्थविद्हरूको भनाइ छ । तर पनि तरकारी र फलफूलहरू प्रयोग गर्दा सावधानी भने अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

स्वास्थ्यकर्मीहरूले कोरोनाको समयमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने खानेकुरा खानुपर्ने भन्दै यसका लागि हरियो तरकारी, फलफूल तथा माछामासुको सेवन झनै अनिवार्य भएको बताएका छन् । स्थानीय तह तथा जिल्ला प्रशासनकै संलग्नतामा ठाउँठाउँमा स्वदेशमा उत्पादित तरकारी बोकेका गाडीहरू नियन्त्रणमा लिँदै नष्ट गराउन थालेको र भारतबाट आयातित तरकारी र फलफूल भने निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेको बेला जनस्वास्थ्यविद्हरूले यस्तो बताएका हुन् । यसअघि काभ्रे, कपिलवस्तु, चितवन र रूपन्देहीका किसानहरूले उत्पादन गरेको तरकारी बिक्री नभएपछि किसानहरूले हरियो तरकारी तथा फलफूलहरू नष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :