सरकारी पार्टीकै नेताले भने-एमसीसीका पक्षमा लाग्ने केपी वली र देउवालाई छाडिँदैन


काठमाडौँ : सरकारी पार्टीकै नेताहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन लागिरहेका केपी वली र शेरबहादुर देउवाहरूलाई छोड्न नहुने बताएका छन् । काठमाडौँमा सोमबार संवाद डबलीले गरेको कार्यक्रमका वक्ताहरूले कालापानी क्षेत्रको नक्साको कुरा र लकडाउनको समयमा राष्ट्रघाती एमसीसी पास नगर्न चेतावनीसमेत दिए ।

सत्तारूढ (नेकपा) का युवा नेता प्रकाश रोकायाले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालमा समेट्ने कागजी राष्ट्रवादको हौवा पिटाएर राष्ट्रघाती एमसीसी परियोजनाका विरोधीहरूलाई मत्थर बनाउने षड्यन्त्र गरेको बताए । रोकायाले एमसीसी इन्डोप्यासिफिक सैन्य रणनीति साझेदारीको अङ्ग भएको अमेरिकी दूतावासले भनिसकेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा वली र प्रतिपक्ष नेपाली काङ्ग्रेस यस सम्झौताका पक्षमा लाग्नु अस्वाभाविक नभएको बताए । उनले एमसीसी मामलामा उनीहरूको पक्षधरता दुर्भाग्य भएको धारणा पनि राखे । ‘वलीजीको महाकाली सम्झौता र नेपाली काङ्ग्रेसका हरेक राष्ट्रहितविपरीत कार्यले यिनीहरू सनातन राष्ट्रघाती शक्ति हुन् भन्ने पुष्टि भएको छ । यिनीहरूलाई जे मन लाग्यो त्यही गर्न दिनु हुन्न । वलीले आजका जनता महाकाली सन्धिको समयका जनता होइनन् भन्ने बझ्नुपर्छ’, रोकायाले भने । उनले एमसीसीका पक्षमा लाग्ने वली र देउवालाई नेपाली जनताले नछाड्ने चेतावनी दिए ।

नेपाली नागरिक बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपालका पक्षमा बोलेको भए पनि त्यसलाई एकोहोरो राष्ट्रवादी धारणाका रूपमा मात्र नबुझ्न उनले आग्रह गरे । उनले भने, ‘मनीषाजीलाई भारतले नेपाली राजनीतिमा बलियो पिलरका रूपमा स्थापित गर्ने गोटीका रूपमा अगाडि सारेको पनि हुनसक्छ ।’

त्यसैगरी राष्ट्रवादी वैकल्पिक गठबन्धनका संयोजक गोरख बीसीले भने, ‘खासमा ठूला छिमेकीले नेपाललाई मुखले असल व्यवहार गरे पनि नेपाललाई पेल्ने काम गरेका छन् । आफ्नो देशको पर्खालका रूपमा मात्रै प्रयोग गरेका छन् ।’ चीनले हितैषी छिमेकी राष्ट्र प्रमाणित गर्न लिपुलेकका विषयमा सहज भूमिका निर्वाह गर्न सक्नुपर्ने र सगरमाथाका विषयमा विवादित कुरा गर्न नहुने बीसीको भनाइ थियो ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सचिवालय सदस्य लक्ष्मीदत्त भट्टले अहिले कालापानी क्षेत्रको मात्रै कुरा नभएर नेपालका ७१ भन्दा बढी ठाउँमा भारतले मिचेको विषय पनि उठाउनुपर्नेमा जोड दिए । भट्टले विश्वका अति कम पुराना र कसैले पनि उपनिवेश नबनाएका देशहरूमध्ये नेपाल पनि एक भएको बताउँदै नेपाली जनताको एकतासँग कसैले केही गर्न नसक्ने बताए ।

भट्टले वर्तमान अवस्थामा खुम्चिएको सानो नेपाल भनेर ठूला देशहरूले हेप्ने गरेको तर नेपालमा असल, कुशल र देशभक्त शासक जन्मिएको दिन नेपाल पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको विशाल नेपाल फर्किने धारणा राखे । वर्तमान सरकार प्रमुख केपी वलीले राष्ट्रभक्तिभावले ओतप्रोत भएर कालापानी क्षेत्रलाई नेपाली नक्सामा समेटेको नभएर त्योभन्दा ठूलो एमसीसी राष्ट्रघाती परियोजना पास गर्न लिपुलेक कागजी नक्साको तुरूप फ्याँकेको आरोप लगाए । अब पनि भारतले नेपाललाई हेप्ने हो भने गोर्खा रेजिमेन्टमा रहेका भारतीय सैनिक तथा गोर्खाल्यान्डका नेपालीले विद्रोह गरेमा भारत १० औँ टुक्रामा विभाजित हुने बताए ।

त्यसैगरी बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष केपी रम्तेलले राष्ट्रघाती एमसीसी पास गरेर देश र जनताप्रति गद्दारी गर्ने नेताहरूलाई नछाड्ने चेतावनी दिए । रम्तेलले ग्रेटर नेपाल पनि नेपालले पाउने कानुनी आधार प्रशस्त भएकाले त्यसको पहिलो खुट्किलोका रूपमा नक्सा भएको धारणा राखे । उनले एमसीसी संसद्बाट पास गरिए आफूहरू लकडाउन तोडेर सकडमा निस्कन बाध्य हुने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :