रुकुम हत्याकाण्डका अपराधीलाई सरकारले कारबाही नगरे हामी कारबाही गर्छौं : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले कथित उच्च जातीय अहंकार र विभेद प्रदर्शन गरी रुकुममा भएको हत्याकाण्डप्रति खेद प्रकट गर्दै दोषीमाथि सरकारले कारबाही नगरे कारबाहीका लागि पार्टीले पहल लिने जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी राजकुमार राईले विज्ञप्ति जारी गर्दै उक्त हत्याकाण्डमा संलग्न केटी पक्षका योजनाकारलगायत सबैलाई छानबिन गरी कानुनी कारबाही नभएमा र पीडित ६ जनाका आफन्तलाई उचित न्याय नदिलाइएमा घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले पहल लिने धारणा सार्वजनिक गरेका हुन् ।

सेक्रेटरी राईले विज्ञप्तिमा भनेका छन्, ‘२०७७ साल जेठ १० गते रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ मा भएको निर्मम हत्याको घटनाप्रति हाम्रो पार्टी नेकपा जाजरकोटको गम्भीर ध्यानाकर्षण भएको छ । जाजरकोट जिल्ला भेनपा वडा नं. ४ बस्ने मोहन विकका छोरा नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ सोती बस्ने वीरबहादुर मल्लकी छोरी सुष्मा मल्लबीच लामो समयसम्म प्रेमसम्बन्ध रहँदै आएको, अन्ततः वैवाहिक जीवनमा बाँधिने समय आउँदै गर्दा केटी पक्षले र सम्बन्धित वडाका सत्ता प्रतिनिधिले समेत जातीय भेदभाव र छुवाछूत चिन्तनका कारण उक्त घटना सोही पक्षबाटै गराइएको पुष्टि हुन्छ ।’

विज्ञप्तिमा राईले भनेका छन्, ‘नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र नेपालको स्थापना भइसक्दा पनि जातीय भेदभाव र छुवाछूतको कुसंस्कारले जरा गाड्दै जानुले वर्तमान राज्यव्यवस्थाप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ । संविधानमा जातीय भेदभाव र छुवाछूत गर्नेलाई कानुनी सजाय हुने भनिएको छ तर व्यवहारमा जाँदा कथित ठूला जातिले साना जाति भनिएकालाई गर्ने व्यवहार र विभेदमा उही पुरानै सामन्ती संस्कार र चिन्तन हाबी हुनुले व्यवस्थाका नाममा नयाँ शासन प्रणाली पुरानै भएको दिनको घामझैँ छर्लङ्ग हुन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान व्यवस्था कम्यु्निस्ट सरकारको उपेक्षित जातिप्रतिको दृष्टिकोण पुरातन नै भएको प्रस्ट हुन्छ । यहाँ संस्कृतिमा क्रान्ति होइन, प्रतिक्रान्ति भएको छ । अग्रगमन होइन, पश्चगमनतिर फर्केको प्रस्ट हुन्छ । केटी लिन जाँदा केटी पक्षले र स्वयम् सत्ता प्रतिनिधिको संलग्नतामा योजनाबद्ध ढङ्गले करिब १५० जनाको समूहले घेरा हाली नवराज विकसहित ४ जनालाई कुटीकुटी बीभत्स ढङ्गबाट हत्या गरिएको छ भने थप २ जनालाई अझै बेपत्ता बनाइएको छ । यो घटनाको हाम्रो पार्टी नेकपा जाजरकोट घोर भत्र्सना गर्दछ र सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘केटी पक्षका योजनाकार र घटनामा संलग्न सबैलाई छानबिन गरी सबैलाई कानुनी कारबाही होस् र पीडित ६ जनाका आफन्तलाई उचित न्याय दिलाइयोस् भनी सरकारसँग माग गर्दछौँ । सत्यतथ्य छानबिन नगरिएमा र घटनाका दोषीलाई कानुनी कठघरामा नउभ्याइएमा यस घटनामा हाम्रो पार्टीले पहल थाल्ने कुरा सबैमा प्रस्ट पार्दछौं । यस घटनाको छानबिनका लागि सबै पक्ष र सरोकारवालासँग पनि हाम्रो पार्टी अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :