रुकुम हत्याकाण्डविरुद्ध देशभर प्रदर्शन


काठमाडौँ : जातीय विभेद गर्दै गैरदलितद्वारा दलितमाथि रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकाण्डविरुद्ध राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले देशभर प्रदर्शन गरेको छ । आयोजकले हत्याकाण्डको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको पनि माग गरेको छ । रुकुममा जाजरकोटका नवराज विकसहित ५ जना युवक मारिएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै देशभर पत्रकार र विभिन्न सङ्घसस्थाले प्रदर्शन गरेका हुन् ।

काठमाडौँ माइतीघरमण्डलामा आयोजित कार्यक्रममा दलित समुदायका युवा सेतो कपडा बेरेर धर्नामा बसेका थिए । उनीहरुले मैनबत्ती बालेर ‘सरकार अँध्यारोमा कहाँ छ ? उज्यालो यहाँ छ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासविच रमेश बिष्टले जातीय भेदभाव तथा छुवाछूतबाट उत्प्रेरित रुकुम घटनाको राजनीतीकरण नगरी निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे । उनले दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले कानुन कार्यान्वयन गर्नुपर्ने पनि बताए । घटनालाई तोडमोड गरेर पीडित परिवारलाई थप अन्याय गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम हत्याकाण्डलगायत देशभर दलित समुदायमाथि भएका घटनाविरुद्ध कार्यक्रम आयोजना गरिएको जनाएको छ । माइतीघरमण्डलामा आयोजित विरोध कार्यक्रममा दलित आन्दोलनका अगुवा, युवा तथा अधिकारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :