दलित मोर्चाद्वारा रुकुम हत्याकाण्डको विरोधमा प्रदर्शन


काठमाडौँ : चौरजहारी हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने मागसहित नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल रुकुमले प्रदर्शन गरेको छ । मोर्चाले दोषीहरूमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको छ ।

जेठ १० गते चौरजहारी नगरपालिकामा नवराज विक र सुष्मा मल्लबीचको प्रेमसम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्न खोज्दा चारजनाको ज्यान जाने गरी र दुईजना बेपत्ता हुने गरी भएको हत्याकाण्डको कडा भत्र्सना गर्दै दलित मुक्ति मोर्चा रुकुमका संयोजक नेको सीको नेतृत्वमा गएको टोलीले घटनाका योजनाकार तथा नेतृत्वकर्ता कथित वडा अध्यक्ष डम्बरबहादुर मल्लले राजीनामा दिनुपर्ने, मृतक र बेपत्ता परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहितको ज्ञापनपत्र रुकुमका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

मोर्चाले दोषीहरुमाथि कारबाही नभए दबाबमूलक सङ्घर्ष मात्र नगरी हत्यारालाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

मोर्चाले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘जेठ १० गते चौरजहारी नगरपालिकामा नवराज विक र सुष्मा मल्लबीचको प्रेमसम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्न खोज्दा चारजनाको ज्यान जाने गरी र दुईजना बेपत्ता हुने गरी भएको हत्याकाण्डको हामी कडा भत्र्सना गर्दछौँ । आजको युगमा जातीय अहंकार र विभेद अस्वीकार्य छ । कथित ठूलो जाति र सानो जातिका बीचमा भएको प्रेमसम्बन्धकै कारण हत्या गरिनु त झन् भत्र्सनायोग्य मात्रै होइन, विद्रोह गर्न योग्य छ । चारजनाको ज्यान गएको छ । बेपत्ताहरूको एकपछि अर्को लास भेटिँदै गएको छ । लासहरू हात बाँधिएको अवस्थामा भेटिएका छन् । यस्ता घटनाले समाजलाई साम्प्रदायिक द्वन्द्वतिर उन्मुख गराउँछ ।’

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘हामी चाहन्छौँ यो घटनाको प्रभाव नियन्त्रणबाहिर नजाओस् । विभेदकारी र हत्यारालाई कानुनबमोजिम कारबाही होस् । आगामी दिनमा सबै किसिमका विभेदहरू मस्तिष्कमा आउनुभन्दा पहिला हजारपल्ट सोच्न बाध्य होऊन् । अन्यथा दलित समुदायको धैर्यको बाँध मक्किएको छ । यो फुट्न सक्छ जो क्षतिपूर्ण र विस्फोटक हुनेछ ।’

ज्ञापनपत्रमा भनिएको छ, ‘यो घटनामा हाम्रो ठूलो माग केही छैन, बस्, स्वस्थ छानबिन होस् । दोषीलाई हदैसम्मको कारबाही होस् । हत्यारा कोही पनि नउम्किऊन् । तर हामी शङ्का गर्छौं– यस्ता घटनाहरू धेरै दबाइएका छन् । हत्याराहरू लुकाइएका छन् । नेपालमा कानुन पावर र पहुँचका आधारमा आकर्षित हुने गरेको छ । यहाँ पनि घटनालाई भवितव्यका रूपमा व्याख्या गर्न खोजिएको छ । लकडाउनको उल्लङ्घन र हूलहुज्जत गरेको आरोप लगाएर हत्या हुनु स्वाभाविक हो भन्ने बनाउन खोजिएको छ । सत्तासीन पार्टीले राज्यका न्यायिक संयन्त्रहरूलाई प्रभावित गर्न छानबिन समिति बनाउने निर्णय गरेको छ जुन गतिविधिहरू शङ्कास्पद छन् । तसर्थ हामीले छानबिन निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउनका लागि दबाबमूलक सङ्घर्ष गर्न बाध्य हुँदै सोही कार्यक्रमअन्तर्गत तपसिलका मागहरू राखी यो ज्ञापनपत्र पेस गरेका छौँ ।’

मेर्चाले राखेका मागहरू यसप्रकार छन् :

१) घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने ।
२) घटनाका योजनाकार तथा नेतृत्वकर्ता कथित वडा अध्यक्ष डम्बरबहादुर मल्लले राजीनामा दिनुपर्ने ।
३) मृतक र बेपत्ता परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :