ऐन महरको वास्तविक चेहरा : विद्यार्थी नेता कि कुखुरे डन ?

लेख्न त अन्य कयन विषय थिए तर यही विषयमा नै लेखिहालौँ जस्तो लागेको थिएन । रछ्यानमा ढुङ्गा हानी आफ्नै मुखमा छिटा भनेजस्तै । राजनीतिको आडमा गुन्डागर्दी मच्चाइरहेको एउटा ‘सुकुल गुन्डा’ को बर्बहराट र चिच्याहटलाई उतिविघ्न महत्व के दिनु भन्ने पनि लागेको थियो तर सत्ताको मैमत्तपनले मदहोस भएको ऐन महर भन्ने एउटा फ्याउराको निरन्तरको स्यालहुइयाँले केही लेख्न बाध्य बनायो । सीमा नाघेर तथानाम लेख्दै धेरै उम्लिएपछि लेख्नैपर्ने भयो । उनका दिनदिनैका फेसबुक स्टाटस र समाचारहरूको अरूचि हुँदाहुँदै पनि ध्यानाकर्षण भैरहेकै छ । विद्यार्थी आन्दोलनको एक जानकार भएको हुँदा निज महरका बारेमा पनि या पङ्क्तिकार थोरबहुत जानकार छ । त्यसैले उनका बारेमा केही तथ्य उजागर गर्नैपर्ने भएको छ । उनको वास्तविक धरातलबारे उनी, उनका अरिङ्गाल र उनको बिग्रेको मगजलाई एकपटक राम्रैसँग स्मरण गराउनैपर्ने भएको छ ।

प्रारम्भ

यतिबेला सारा संसार कोभिड १९ को महामारीले आक्रान्त छ । विश्वभर यसले आर्थिक, सामाजिक, राजनीति तथा सांस्कृतिक क्षेत्रमा ठूलो फेरबदल ल्याउने अनुमान सजिलै गर्न सकिन्छ । पानासोनिक बुलेटको गतिमा दिनप्रतिदिन मानवसभ्यता र विज्ञानप्रविधिलाई हाक दिँदै फैलिरहेको यस महाव्याधिले सिङ्गो विश्वजगत्लाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौतीपूर्ण सङ्कटका रूपमा प्रभावित पारेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले विविध तथ्य–तथ्याङ्क सार्वजनिक गर्दै बताएका छन् । यस महामारीबाट जोगिन सरकारको सुतुरमुर्ग चालले नेपाल पनि विगत ६३ दिनदेखि लकडाउनको अवस्थामा छ । हुनत यो लकडाउन सत्ताको स्तुतिगान गाउनेहरूका लागि र सांसद नै अपहरण गर्ने भजनमण्डलीहरूका लागि छैन । लकडाउन छ त केवल गरिब, निमुखा, विद्यार्थी, मजदुर, किसान र श्रमजीवीका लागि मात्र । लकडाउन नाम आमसर्वसाधारणका लागि सन्ताप र सन्त्रासको भयङ्कर आतङ्कको कारण भैरहेको छ । सरकार भन्नेहरूले यसरी सुतीसुती काम देखाउन अर्थ न बर्थको लकडाउन थपिरहने हो भने लुक्लादेखि लम्किरहनेको लाम लामै हुनेछ । मुलुक भोक, शोक, बेरोजगारी र आर्थिक मन्दीको चेपुवामा झन्झन् धसिँदै र फस्दै जाने कुरामा दुईमत छैन । अब पनि लकडाउनको विकल्पमा नजाने हो भने स्थिति भयावह हुने निश्चितप्रायः छ । लकडाउन कोभिड १९ सँग जुध्ने दीर्घकालीन सूत्र हुनै सक्दैन बरु यसको द्रुत परीक्षण र उपचार विधि नै समाधान हुनसक्छ । यतातिर सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । छिटोभन्दा छिटो जनजीवनलाई सहज र सामान्यीकरण गर्न ठोस कदम उठाउन जरुरी भैसकेको छ । अन्तरपार्टीको राजनीतिक किचलोको जोडघटाउबाट नभई जनस्वास्थ्यको कोणबाट लकडाउनको स्वरूप व्यवस्थित गर्न र बदल्न अनिवार्य छ ।

हुनत राज्यको प्राथमिकतामा भुइँ मान्छेका पीडा, दुःख, कष्ट र रोदन त छैन नै । हुने कुरा पनि भएन । तिनलाई आजपर्यन्त राज्य हुनुको अनुभूति छैन भन्दा नै हुन्छ । राज्यविहीनता स्वदेश तथा विदेशमा रहेका सबै प्रकारका नागरिकहरूले गहिरो गरी अनुभूत गरिरहेका छन् । सत्ताको सिंहासनमा विराजमान मान्यवरहरू नागरिकप्रतिको दायित्व र कर्तव्यबाट च्यूत भए पनि स्वाभिमानी नेपाली नागरिकहरू राज्यप्रतिको आफ्नो दायित्व, कर्तव्य र देशप्रेमको भावनाबाट एकरत्ति च्यूत भएका छैनन् । इतिहासका सबै राष्ट्रिय सङ्कटमा अक्षुण्ण एकता कायम राख्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानका खातिर एक ढिक्का भै लडेका उदाहरण छन् । कोभिड १९ को विश्वव्यापी महामारीबीच अमेरिकाको न्युयोर्कमा र्याली गरेर होस् कि विदेशका विभिन्न कुनाकन्दराबाट लकडाउनको सकसपूर्ण अवस्थामा पनि काठमाडौँका चोक चोक, गल्ली, सडकमा होस् वा सामाजिक सञ्जालको माध्यमबाट भारतीय साम्राज्यवादको खुनी दारानङ्ग्राबाट लिपुलेक, लिम्पियाधुरा, कालापानी मुक्त बनाउन शासकहरूका अनिच्छा हुँदाहुँदै पनि माटोप्रतिको अगाध प्रेम आगो ओकेलेर भष्मासुरहरूलाइ आवाज सुन्न बाध्य पारिरहेका छन्, बरु भोक, अभाव, दुःख, कष्ट, पीडा र सङ्कटको कहालीलाग्दो भुमरीमा रहँदारहँदै पनि नेपाली जनताले व्यक्त गरेको भावनाको पटकपटक सत्ता सञ्चालकहरूले विभिन्न नाममा हुर्मत लिने गरेका छन् । सचेत, प्रगतिशील र जागृत नागरिकहरूको निरन्तरको दबाबपूर्ण खबरदारीले अनेकन राष्ट्रघातका नयाँनयाँ शृङ्खलाहरू थोरै भए पनि रोकिएका त छनन् ! तैपनि सत्ता सङ्कटको त्रास टार्न बेलाबखत जस्केलाबाट अमेरिकी इन्डो प्यासिफिक स्टाटेजीअन्तर्गतको मिलिनियम च्यालेन्ज कर्पोरेसनजस्तो राष्ट्रघाती सम्झौतालाई संसद्बाट अनुमोदन गर्न खुट्टा उचालेको उचाल्यै छन् । झन्डै बहुदलपछिका कुनै पनि प्रधानमन्त्रीले नगरेका स्टन्ट्बाजी गर्ने वलीका कारण लोकलाजले मुख देखाउन नसक्ने भएर दुलोभित्र पस्न विवश वलीका अरिङ्गाले सेनाहरू सत्ताका काला कर्तुतमा पर्दा हाल्न विभिन्न रूप, रङ र आवरणमा विषवमन गर्ने गरिरहेका छन् ।

सत्तास्वार्थको गठजोडबाट अभिप्रेरित रहँदै अप्रत्याशित र अप्राकृतिक रूपमा भएको माके–एमालेको कथित एकताबाट टीके सयोजक भइपल्टेका कथित विद्यार्थी नेता भनिने ऐन महरले आफ्नो फेसबुक पेजमा राष्ट्रका मुख्य दुस्मन भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र एकीकृत जनक्रान्तिका नायक क. ‘विप्लव’ लाई विभिन्न आरोप लगाउँदै सत्ताको मैमत्त हँुदै विषवमन गरेका छन् । प्रथमतः उनको यस्तो विषवमनको कुनै तुक छैन र यो विषवमन सत्ताको ताबेदारी गर्ने र एकपछि अर्को काण्डले थिलथिलो भएको केपी वली सरकारको प्रतिरक्षाका लागि बिचेत हुँदै गरिएको आत्मघाती मूर्खता मात्र हो । यसको ऐन महरहरूले ऐनमौकामा गतिलै जबाफ भेट्ने नै छन् ।

बाबुरामका सन्दर्भमा

उनले जसरी जीवित बाबुराम भट्टराईलाई दलाल र राष्ट्रघाती भन्दै श्रद्धाञ्जलीसम्म भन्न भ्याएका छन्, यो ऐन महरहरूको संस्कारहीनता र मानवताहीनताको पराकाष्ठा हो । यसको धेरै खण्डनमण्डन गर्नु छैन । उनले जेजसरी बाबुराम भट्टराईप्रति निरन्तर बेतुकका विभिन्न आरोपप्रत्यारोप लगाएर बोलिरहेका छन् । त्यसले उनको विचार, राजनीति, शैली, संस्कार र चिन्तनको सजीव प्रतिबिम्बन गर्छ । बाबुराम भट्टराई सामन्ती राज्यव्यवस्थाको अन्त्यका खातिर महान् जनयुद्धका एक योद्धा थिए । ऐन महर र उनका भरौटेहरूलाई यत्ति कुराचाहिँ स्मरण गराउनु छ– बाबुराम जत्ति पनि चरित्रवान् उनी त के उनका ‘बा’ केपी वली अर्थात् सीके लालका शब्दमा सर्वेसर्वा शर्मा वली पनि छैनन् र होइनन् । भलै उनको विचारसँग सहमत हुन सकिँदैन । उनले ऐन महरहरूले आफूलाई कथित गणतन्त्रमा बोल्न, लेख्न र यसरी साँढेजसरी सिँगौरी खेल्न पाउनका लागि कुनै बेला टाउकोमा कफन बाँधेर जीवन हत्केलामा राखेर हिँडेका हुन् । हुनत उनी यति बेला माओवादी आन्दोलनबाट धेरै पर पुगिसकेका छन् तर पनि हिजोआज पनि माओवादी हुनुमा दुनियाँका सबै मञ्चमा गएर गौरव गर्ने कुरामा निर्धक्क प्रस्तुत हुने कामचाहिँ गरिरहेकै छन् । कम्युनिस्ट आन्दोलनबाट धेरै टाढा पुगिसकेकाले क्रान्तिकारी आन्दोलनलाई क्षति पुगेको कुरा क्रान्तिकारीहरूले बुझेकै कुरा हो ।

महासचिव विप्लवका सन्दर्भमा

हामी सबैले जानेबुझेकै कुरा हो, फोहोरी संसदीय राजनीतिका खेलाडी र गुन्डाहरूले चर्चामा आउन र अरूको ध्यान आफूतिर मोड्न अनेकन फोहोरी हथकण्डासहित स्टन्टबाजी गर्ने गर्छन् । त्यसैका एक प्रतिनिधि पात्र र प्रवृत्ति हुन् ऐन महर । राजनीतिक विचार, विवेक, संकार, शैली, सोचाइविहीन भाडाका टट्टु गुन्डाहरूले के बुझ्न जरुरी छ भने तिनका बेला न कुबेलाको फतरफतरले क्रान्तिका नायक विप्लवको शरीरको रौँ पनि हल्लिँदैन । राष्ट्रघाती, जनघाती, वर्गघाती, दलाल, भ्रष्ट, कमिसनखोर, गुन्डा र सूदखोरलाई विप्लवले खोजीखोजी, रोजीरोजी ठेगान लगाउँदै गरेकाले रोटी सेक्न नपाएका सुकुल गुन्डाले फेसबुकमार्फत विप्लवविरुद्ध सरकारी भाषाशैलीमा विषवमन गर्दै रोटी सेकिरहेको छ । विप्लव फगत विप्लव मात्र होइनन्, विप्लव वर्तमान व्यवस्थाका विकल्प हुन् । विप्लव नेपालका भविष्यद्रष्टा हुन् । एउटा आन्दोलन हुन् । एउटा अभियान हुन् । एउटा विचार हुन् । आममजदुर, किसान, श्रमजीवी, विद्यार्थी, युवालगायत सम्पूर्ण उत्पीडित जातजाति, क्षेत्र, लिङ्ग, वर्ग र समुदायका आशा, विश्वास र भरोसाका केन्द्र पनि हुन् । वैज्ञानिक समाजवादी क्रान्तिका नेतृत्वकर्ता र दलाल, भ्रष्ट संसदीय व्यवस्थालाई ठेगान लगाउन आफ्ना निजी स्वार्थ त्यागेर बलिदान स्वीकारेर फेरि अर्कोपटक कफन बाँधेर क्रान्तिको यात्रामा होमिएका आदर्शवान् नेता हुन् । यो कुरा एउटा दुई कौडीको गुन्डाले बुझ्ने हैसियत कहाँ राख्छ र ? राख्छन् त केवल डर, धाक, धम्की, आतङ्क हप्ता असुली । हिजो पनि जनयुद्धलाई धारे हातले सत्तोसराप गर्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका ठूल्ठूला षड्यन्त्र र जालझेल चिर्दै आएका क्रान्तिनायकलाई अहिलेका सामाजिक फासिवादी दलाल केपी वली सरकारका नवमण्डले मुख्य दुस्मन करार गर्दैमा सुनकाण्ड, निर्मला काण्ड, एनसेल काण्ड, वाइडबडी काण्ड, यती प्रकरण, बालुवाटार जग्गा प्रकरण, बास्कोटाका धेरै जी काण्ड, सांसद अपहरण काण्ड, ओम्नी काण्डजस्ता काण्डैकाण्डका काला धब्बाहरू मेटिँदैनन् । महरजस्ता दुई कौडीको गुन्डाले आतङ्ककारीको बिल्ला भिराउँदै सरकारको प्रतिरक्षा गर्ने कोसिस गरेका छन् । यो उनीहरूको हनुमानीकरणको पराकाष्ठा र वली सत्ताको असफलताको विषयान्तर गर्ने लफ्फाजीबाहेक अरू केही होइन भनेर बुझ्न गाह्रो छैन ।

जहाँसम्म उनले सरकारी मण्डलेको भाषाशैलीमा नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व कमरेड विप्लवलाई बद्ख्वाइँ गर्दै विप्लवद्वारा अगाडि सारिएका वैज्ञानिक तथा वस्तुवादी, मौलिक, नवीनतम् राजनीति कार्यक्रम र कार्यदिशालाई ‘मिनिमाइज’ गर्ने र त्यसको कत्लेआम गर्दै आत्मरति लिने कुचेष्टा गरेका छन्, यो दुई कौडीको गुन्डा नाइकेको दिवासपना मात्र हो । राजा ज्ञानेन्द्र शाहीले शाहीकालमा लात मारेर कालकोठरीमा बन्धक बनाएर इन्तु न चिन्तु पारेका बेला विप्लवसँग जुम्ले हात जोड्दै रोल्पा गएर ४ बँुदे सहमति गरी प्राण भर्नेका छाउराहरूले धेरै बकबक नगरेकै जाती होला । विप्लव र विप्लवहरूले रुकुम–रोल्पामा चप्पल नलगाई, भोको पेट, सातु खाएर मृत्युसँग लाप्पा खेल्दै गणतन्त्रका पक्षमा जीवनमरणको भीषण सङ्घर्ष गर्दा तिमी कहाँ थियौ ? त्यसको उति खोजिनीति गर्नु त छैन । सायद कुनै ठाउँमा गुच्चा र गुलेली खेलाउँदै रमेका थियौ वा अस्कलका होस्टेलका साथीहरूका जुत्ताचप्पल चोर्दै रत्नपार्कतिर लगेर बेच्दै पो थियौ कि ? दिल निशानीले भनेझैँ बसपार्कतिर पुकार बेच्दै थियौ, त्यो त तिमीले नै जाने कुरा हो । तिम्रा बा केपी वली बयलगाढा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र सम्भव छैन भन्दै प्रतिगामी पश्चगमनकारी, यथास्थितिवादी भाषण ठोक्दै साँझसाँझ विदेशीले प्रायोजन गरेको रक्सी पिएर किड्नी बिगार्दै दिउँसो गणतन्त्रवादीहरूको विरोधमा उखान टुक्का सुनाउँदै आफ्ना दिन र रात व्यतित गरिरहेका थिए । उनै विप्लवहरूको अभूतपूर्व त्याग, समर्पण, बलिदान र बहादुरीबाट प्राप्त अहिलेको गणतन्त्रको साख्खै मसिहा बनेका केपी वली तिम्रा बा र उनकै चाकरी, चाप्लुसी, स्तुति गरेर र गुन्डाराज चलाई उनलाई प्रभावित गरेर माओवादी जनयुद्धका आधारमा प्राप्त गणतन्त्रको रसास्वादन गर्दै महरहरूले गरेको विषवमनको मूल्य चर्को पर्ने नै छ । ऐन महर र ऐन महरहरूजस्ता पात्र र प्रवृत्तिहरूको एक दिन एकीकृत जनक्रान्तिको तुफानी आँधीहुरीले अन्त्य हुनेछ । उनी र उनीहरूले बुझ्नुपर्ने र हेक्का राख्नुपर्ने कुरा के छ भने उनीहरू क्रान्तिकारीको निगरानीभित्र छन् । उनीहरूको चुरिफुरी र दादागिरी दुई दिनको घामछायाँ मात्र हो।

नेपालको विद्यार्थी आन्दोलन र ऐन महर

नेपालको विद्यार्थी आन्दोलनले इतिहासका कालखण्डमा अन्याय, अत्याचार, शोसण, दमन र उत्पीडनको सशक्त प्रतिरोध गर्दै समुन्नत, शान्त, समान, स्वतन्त्र र स्वर्णिम समाज निर्माणको युगीन दायित्वलाई आत्मसात गर्दै सङ्घर्षपूर्ण, बलिदानीपूर्ण, ऐतिहासिक, युगीन गौरवगाथा निर्माण गर्दै आएको छ । समाजको सचेत, प्रगतिशील, देशभक्त, क्रान्तिकारी, दूरदर्शी, जागरुक र परिश्रमी शक्ति विद्यार्थी आन्दोलन निरन्तर राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र शैक्षिक क्षेत्रको क्रान्तिकारी आमूल रूपान्तरणका खातिर आन्दोलनको अग्रभागमा रही सामाजिक तथा राजनीतिक जागरणको चेतनावाहक बनेर अगाडि बढिरहेकै छ । नेपाली विद्यार्थीहरूको हकहित, अधिकार र इज्जतका खातिर नेपाल आमाका थुप्रै महान् देशभक्त तथा प्रिय छोराछोरीहरूका अनेकन त्याग, तपस्या, समर्पण, बलिदान र बहादुरी इतिहासका रक्तरञ्जित पानाहरूमा स्वर्णिम अक्षरमा पढ्न पाइन्छ न कि महरजस्ता सुकुल गुन्डाका चोरी, डकैती, लुटपाट, हप्ता असुली, गुन्डागर्दी र अपहरणको ! आज पनि मुलुकमा राजनीतिक रूपमा जेजति अधिकार स्थापित भएका छन्, ठूलठूला परिवर्तन भएका छन् त्यो सहिदको रक्तरञ्जित बलिदानले मात्र सम्भव भएको हो । इतिहास त्याग, उत्सर्ग र बलिदान गर्नेहरूकै बनिरहेको हुन्छ, महरजस्ता सत्ताको ताबेदारी गरेर तलुवा चाट्ने दासमनोवृत्तिका, क्रान्तिकारी शक्तिको कत्लेआम र बद्ख्वाइँहरूको होइन ।

राज्यको अवैज्ञानिक तथा अव्यावहारिक शिक्षानीतिका कारण देशमा दिनप्रतिदिन शैक्षिक बेरोजगारहरू दिन दुई गुना, रात चौ गुना बढिरहेका छन् । अझै पनि देशका बहुसङ्ख्यक जनता निरक्षर छन् । वर्तमान सत्ताको समाजमा विभिन्नखाले विकृतिविसङ्गतिहरू बढिरहेकै छन् । यी र यस्ता कुरीतिको समूल अन्त्यका लागि गङ्गालाल, चिनियाँकाजी, दिलबहादुर रम्तेल, बेनोज अधिकारी, प्रज्वल शाहीहरूको बलिदानले नै नेपाली विद्यार्थी आन्दोलनको ज्योतिलाई प्रज्वलित पारिरहेको छ । ऐन महरहरूको सत्ताको ताबेदारी, चाकरी, चाप्लुसी, भजनकीर्तन, गुन्डागर्दी, व्यापार र चन्दाआतङ्कले होइन ।

को हुन् ऐन महर ?

बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा, नेपाली काङ्ग्रेस महासमिति सदस्य रामबहादुर महर र रतनादेवी महरको जेठो छोरा ऐन महर सामान्यतया विद्यार्थी नेताभन्दा पनि एउटा गुन्डा नाइकेका रूपमा बढी परिचित छन् । आफूलाई केपीको छोराको ध्वाँस देखाउँदै हिँड्ने महर पहिले कुनै बेला विद्यार्थीको नक्कली सर्टिफिकेटको धन्दा गर्ने, विद्यार्थी भर्नामा कमिसन लिने, विद्यार्थी पास–फेल गरिदिने नाममा पैसा उठाउँदै ज्यान पाल्ने गरेका व्यक्ति हुन् । पछि ठमेल, नयाँबजारतिर हप्ता असुली गरेको, चिनियाँ व्यापारीको यार्सागुम्बा लुटेको, ठेक्कापट्टामा उठाएको कमिसनले बोहोराटारतिर अहिले ४–५ तलाको आलिसान महल बनाएर बसेका छन् । नयाँबजारमा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ को मुख्य सहयोगी भएर बस्दा अस्कलकै सुजना श्रेष्ठसँग उनले बिहे गरेका थिए । खाद्यान्न व्यापारी ठेकेदार जीवन चलाउनेले दिएको इको स्पोट्र्सको ४० लाखको उपहार गाडीमा सयर गर्ने महर कुनै बेला नयाँबजारमा घर नै भाडामा लिएर पेसेवर गुन्डाहरू पालेर बसेका थिए । तिनको गुन्डा जत्था ठमेल नयाँबजारतिर हप्ता उठाउने, विभिन्न कलेज–क्याम्पसको ठेक्कामा कमिसन उठाउने, सिदासादा विद्यार्थीलाई कुटपिट गर्ने गर्थे । गुन्डागर्दीकै सिलसिलामा ऐन महर र निजका भाडाका टट्टुहरू त्रिचन्द्र क्याम्पसमा ८० लाखको टेन्डरमा गएर नेविसङ्घका भीमसेन गुरुङ, रत्न थापालगायत दर्जनौँ नेता–कार्यकर्ताहरूलाई गोली, खुकुरी, रड र ढुङ्गामुढा हानी घाइते बनाएका थिए । उक्त गोलीकाण्डको त्रिचन्द्रका तकालीन स्ववियु सचिव तथा हालका नेविसङ्घका केन्द्रीय उपाध्यक्ष सञ्जय यादवले प्रतिरोध गरेको भिडियो अहिले पनि युट्युबतिर हेर्न पाइन्छ । सँगैका सहयोद्धा, हाल अस्ट्रेलियामा भएका जनक सिंहलाई ऐन महरकै मुख्य योजनामा महरका सहोदर भाइ, मामालगायत भाडाका गुन्डाहरूले दिनदाहाडै घण्टाघर चोकमा खुकुरी र रड प्रहार गरी टाँकैटाँका लगाउने गरी आक्रमण गरेर सख्त घाइते बनाएका थिए । त्यो भिडियो पनि युट्युबतिर भेटिन्छ । अहिले पनि महरको हप्ता उठाउनुका साथै धाकधम्की देखाउँदै आतङ्कित पार्ने कुकार्य निरन्तर जारी छ । काठमाडौँ न्युरोडमा महर मिरर र एबीएस फेसन नामका करोडौँका २ वटा ठूलाठूला पसल सञ्चालन गरेका छन् । ती पसल एउटा भाइ अशोक महर र गुन्डा परिचालन तथा बिचौलियाको धन्दाको व्यवस्थापन अर्को भाइ अमित महरले गर्ने गर्छन् । नेकपाका महासचिव कमरेड विप्लवलाई आतङ्ककारीको नाइके तथा चन्दाआतङ्क मच्चाएको कपोलकल्पित, भ्रमपूर्ण, मिथ्या आरोप लगाएका महरका अत्यन्तै नजिकका तथा जिल्लाबासी पशुपति क्याम्पसका विद्यार्थी नेता तिलक खड्का, सन्तोष तिमिल्सिनालगायतले विप्लवका नाममा गतसाल कलङ्की मालपोत कार्यालयबाट विभिन्न धाकधम्की देखाउदै चन्दा उठाउँदै गर्दा प्रमाणसहित पक्राउ परेका थिए र तिनीहरूलाई प्रहरीकोमा नबुझाउन र बाहिर मिडियामा नल्याउन महरका प्रतिनिधि क्रान्तिकारी नेताका कोठाकोठामा पुगेर अनुनयविनय गरेका थिए । बाहिरफेर मिडियामा अनेरास्ववियु कहीँकसैसँग चन्दा सहयोग नलिने डङ्का पिटाउने महर भित्रभित्रै राष्ट्रपति विद्या भण्डारिका ज्वाइँ तथा ट्रिनिटी कलेजलगायत विभिन्न शिक्षण संस्थाका सञ्चालक उमेश थापाको सहयोगमा राजधानीका विभिन्न स्कुल, कलेजका सञ्चालकसँग मोटो रकम असुली गरिरहेका छन् । विद्यार्थी हकहित र अधिकारका चर्काचर्का कुरा गर्ने महरले आफ्नो छोराको नाम ननिस्केपछि सेन्टजेभियर स्कुलमा आफ्ना भरौटेहरू लगाएर धम्क्याउने, ताला लगाउनेसम्मका निच हर्कत गरेका थिए । महरका यस्तै अराजक र गुन्डागर्दीपूर्ण हर्कतका कारण आजित भएकी तत्कालीन अनेरास्ववियुकी प्रभावशाली अध्यक्ष रामकुमारी झाँक्रीले केन्द्रीय समितिको बैठकमा झापड हानेकी थिइन् । प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ का निकट र विश्वासिलो पात्र महर ठमेल नयाँबजारतिर ‘कुखुरे डन’ का रूपमा चिनिने त्रिचन्द्रका पूर्वविद्यार्थी नेता जनक सिंहले खुला पत्रमार्फत खुलासा गरेका छन् । चरी ग्याङका हर्ताकर्ता महरले चरीको करोडौँ सम्पत्ति पचाउन र चरी ग्याङको नाइके बन्न प्रहरीलाई सूचना दिई इन्काउन्टर गर्न लगाएको भन्ने पनि भित्रभित्रै चर्चा हुने गरेको छ । छोटो समयमा अपराध दुनियाँमा जमेका चरीको अपराध कर्मको नजिकबाट जानेका र उनको जस्तो सञ्जाल विस्तार गर्न महरले चरीको इन्काउन्टरपछि तितरबितर भएका गुन्डाहरूलाई पुनः सङ्गठित गरी गुन्डाराजको साम्राज्य विस्तार गरी केपी वलीसम्म सम्बन्ध गराएका थिए । दिनेश अधिकारी चरीको असली उत्तराधिकारी भएको प्रमाणित गर्न उनै महरले प्रहरीलाई प्रभावित पारी अर्का गुन्डा नाइके कुमार श्रेष्ठ घैँटेको इन्काउन्टर गर्न लगाएको समेत बुझिन्छ । चरीको मान्छे भन्दै होटेल र रेस्टुरेन्टमा खाएको बिल नतिरेको अहिले पनि नयाँबजारतिर व्यापारीहरूले चर्चा गर्ने गर्छन् । बझाङको देउरादेखि चैनपुरसम्मको सडकखण्डको ठेक्कापट्टामा ठेकेदार अपहरण गरी ५१ लाखमा असुलेको र तत्कालीन युवा सङ्घका उपाध्यक्ष चन्द्र लामाको निर्माण कम्पनी देखाई करोडौँसम्म च्याँखेमार्फत उठाउने गरेका थिए । उनका यस्ता काला कर्तुत सार्वजनिक गरेको आक्रोशमा गाउँकै नातेदार भाइ जनक मण्डेल र उनको घरपरिवारको ज्यान मार्ने धम्की दिएको विषयमा प्रहरीकोमा मुद्दा दर्ता भएको छ । तर विडम्बना ! मुद्दाको सुनुवाइ हुने भने मुस्किल नै छ । होस् पनि कसरी ? प्रहरीकै हाकिमसँगको मिलोमतोमा करोडौँ रकम उठाई दर्जनौँ इन्सपेक्टरको सरुवा र बढुवा गराउने महरले मुद्दालाई सजिलै दबाउनेछन् । आफ्नो गृहजिल्लामा आफूनजिकको सीडीओ लगेर आफ्नो तागत देखाइसकेका छन् । अस्कल हुँदा तत्कालीन अनेरास्ववियुको चन्द्रप्रकाश घर्ती (सीपी घर्ती) को गुटमा रही त्यति बेलाका स्ववियु सभापति टेकराज पछाई, टेण्डी शेर्पाविरुद्ध लागेका महरले तिनै सीपी घर्तीका जिल्लाबासी सुनुवार थरका देशकै कान्छा सीडीओ भनिनेलाई आफ्नो जिल्लामा लगेर रजगज र रबाफ देखाएका थिए । ती सीडीओले धनगढीसम्म सरकारी गाडी पठाई सीडीओ क्वार्टर नै उनका लागि उपलब्ध गराई राम्रै मेजमानी गर्ने गरेका थिए । यसले नै उनको गृह प्रशासनभित्र कस्तो प्रभाव थियो भन्ने पुष्टि गर्छ । प्रहरी प्रशासनमा उनको कति बोलाबोल थियो भने सशस्त्र प्रहरीका तत्कालीन प्रमुखको ठाडो निर्देशनमा सशस्त्र प्रहरीको फ्री हेल्थ कार्डसमेत बनाएका छन् । जसैजैसा बढे दादा उसैउसे छोटे भैया भनेझैँ काठमाडौँ महलमा पार्लर सञ्चालन गरेर बसेकी एक युवतीलाई हुँदाखाँदाको घरबार बिगारी प्रेमिका बनाएका छन् । बाहिरबाहिर बहिनी हो भने पनि ती युवती लिई रातीराती ठमेल दरबारमार्गतिरका क्लब बार र रेस्टुरेन्टहरू चहार्दै हिँड्छन् । जनता समाजवादीका नेता जेकेन्द्र श्रेष्ठको दाबीलाई मान्ने हो भने त उनी भीम रावल गृहमन्त्री हुँदा प्रहरीको गुप्तचर विभागका असईसमेत हुन् ।

कसरी भए अनेरास्ववियु संयोजक ?

तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टीएकतापछि आफूभन्दा सिनियर रश्मि आचार्य, महेश बर्तौला, शैलेश लामा, रन्जित तामाङ, तिलकराज भण्डारी, पन्चा सिंह, उत्तम अधिकारी, सुरेन्द्र बस्नेतजस्ता स्थापित नेतृत्वलाई पाखा लगाउँदै केपी वलीको आशीर्वादमा संयोजक बनाइएका हुन् । संयोजक हुन गुन्डागर्दीको पृष्ठभूमिले मात्र नभएर वलीकी जिल्लाबासी अनेरास्ववियुकी तत्कालीन उपाध्यक्ष सुनीता बरालको सहयोग पनि निर्णायक रहेको छ । उनलाई संयोजक बनाउने सवालमा महरका नाममा पार्टी सचिवालयको बैठकमा बबन्डर नै मच्चिएको थियो । महर माधव नेपाल र झलनाथ खनालका अरुचिका पात्र थिए । अस्कलमा भीमसेन–भुवन गुरुङ दाजुभाइबाट १८ वटा टाँका लगाउने गरी मरणासन्न हुने गरी रामधुलाइ भेटेका महर नेविसङ्घको कार्यकर्ता हुँदै राजनीतिमा आएका हुन् । एउटा टोलेट्यापे गुन्डाको न विचार हुन्छ, न त विवेक नै । अस्कल हुँदासम्म सीपी घर्तीका पुच्छर समाउँदै अखिलतिर लागेका महर पछि अखिलकै पुरुषोत्तम कडरियाको सोझोपनको फाइदा उठाउँदै त्रिचन्द्रतिर छिरेका हुन् । बा पनि काङ्ग्रेस भएको र आफू पनि काङ्ग्रेस भएको फर्जी नाता देखाउँदै त्रिचन्द्र पसेका महरको असलियत भने तत्कालीन शाहीसेनामा भर्ती हुने रहर काङ्ग्रेसका एक मन्त्रीले पूरा नगरिदिएपछि त्यही रिसले एमाले भएका हुन् । गुन्डागर्दी पृष्ठभूमिका महर आफ्नै सङ्गठनभित्र पनि अलोकप्रिय छन् । सङ्गठनभित्र जति नै अलोकप्रिय भए पनि उनी अहिले वली गुटका खास हर्ताकर्ता हुन् । अझ यसो भनौँ वलीका अरिङ्गाल सेनाका एउटा कमान्डर नै हुन् । अनेरास्ववियुभित्रका वैचारिक, स्थापित र लामो इतिहास बोकेका नेतालाई पाखा लगाउँदै महरलाई संयोजक रोज्नुले वलीको राजनीतिक, वैचारिक दृष्टिकोण पनि उदाङ्गो भएको छ । महर मात्र होइन, वली रोजाइका एकाध पात्रलाई छोड्ने हो भने वली गुटभित्र महरजस्ता गुन्डा पृष्ठभूमिका अपराधी, असहिष्णु, उद्दण्ड, उरन्ठेउला र बदमासहरूको नै जगजगी छ । वली ती बफादार सेवकका ‘देउता’ हुन् । अस्कलबाट भूत लखेटेजसरी लखेटिएका महरको राजनीतिक यात्रा समकालीनका अगाडि निकै निम्छरो छ । यस्ता दुई कौडीका सुकुल गुन्डाको नेतृत्वमा कसरी अनेरास्ववियुको विरासतको रक्षा होला ? आन्दोलनका धमिराबाट नेपालको विद्यार्थी आन्दोलनले के अपेक्षा गर्ने ? के पाठ सिक्ने ? के शिक्षा लिने ? के यस्तै सुकुल गुन्डाका लागि लेखनाथ न्यौपाने, हिमाल शर्मा, ठाकुर गैरे, रामकुमारी झाँक्री, रमेश मल्ल, नरेन्द्र न्यौपाने, किशोरविक्रम मल्लहरूले ज्यानको बाजी लगाइलगाई आन्दोलनमा गोली, लाठी, हिरासत, जेलनेल, यातना पाएका हुन् ? महरका यस्ता गुन्डाराजका अगाडि रन्जित तामाङहरूको बोली किन नफुटेको होला ? कि बोली बन्द पारिएको छ ? कि गोदाइ खाने डरले कट्टु बिगारिरहेका छन् ? कहिलेसम्म यस्ता गुन्डाको विरुद्धमा मुखमा पट्टी बाँधी बस्ने हुन् भूपू क्रान्तिकारी भनिनेहरू ? विद्यार्थी आन्दोलनका वैचारिक बहसमा अब्बल बिम्ब मानिने तिलक राजभण्डारी उत्तम अधिकारी वसिम आलमहरू कुन दुलोमा लुकेर ज्यान जोगाउँदैछन् ? कि बाहुबली कुखुरे डनका अगाडि तिनका कलमले लेख्दैन ? रश्मि आचार्यलाई पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति अनि पटकपटक निर्वाह गरेको जिम्मेवारीको आफ्नो इतिहासले कति कुरीकुरी गर्छ होला है ? लज्जाबोधले सेतीमा चाहिँ हामनफाल्नुहोला । के महेश बर्तौलाहरूलाई अझै यस्ता गुन्डाको पछि लागेर नेतृत्वमा पुगिन्छ भन्ने आस छ । यिनका विरुद्ध विद्रोह गर्न सुदेश पराजुलीहरूलाई कुन आइतबार पर्खनुपर्ने हो ? विप्लवलाई आतङ्ककारी घोषणा गर्ने अनेरास्ववियुको संस्थागत धारणा नै हो ? जबाफ दिने हिम्मत छ कि टाङमुनि पुच्छर छिराएर कुलेलम ठोक्ने हो कमरेडहरू ?

१४ जेठ, २०७७

(विद्यार्थी नेतासमेत रहेका लेखकले प्रयोग गरेका आचारसंहितासँग सम्बन्धित कतिपय शब्दहरूमा लेखक नै जिम्मेवार छन्।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :