रुकुम हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिइए कारबाही गर्न बाध्य हुने दलित मोर्चाको चेतावनी


काठमाडौँ : नेकपाको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा नेपालले २०७७ साल जेठ १० गते अन्तरजातीय प्रेमविवाहका विषयमा रुकुम जिल्लाको चौरजहारी ८ सोतीमा चारजनाको ज्यान जाने गरी भएको घटनाको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

दलित मुक्ति मोर्चा नेपाल भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक पदम विश्वकर्माले बुधबार प्रेस विज्ञप्ति जारी गरी २१ औँ शताब्दीको विज्ञानप्रविधिको युगमा समेत जातीय अहंकारवादी मानवताविरुद्धको घटना गराउनु नितान्त खेदजनक भएको जनाएका छन् ।

मोर्चाले घटनामा संलग्न दोषीहरू सबैलाई कडाभन्दा कडा कारबाही र पीडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्न यथाशीघ्र जोडदार माग गरेको छ । मोर्चाले घटनाका दोषीहरूलाई कानुनअनुसार कडा कारबाही हुन नसके र घटनाका दोषीलाई उन्मुक्ति दिने कोसिस भएमा आफ्नो सङ्गठनले समेत कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

घटनाका विरुद्ध बृहत् संयुक्त सङ्घर्षका लागि कोणसभा, विरोधसभा तथा ज्ञापनपत्र बुझाउने गायत विभिन्न सङ्घर्ष गर्ने मोर्चाले जनाएको छ ।

विज्ञप्तिमा जाजरकोट भेरी नपा ४ रानागाउँबाट केटी पक्षको गाउँ रुकुम जिल्लाको चौरजहारी ८ सोतीमा गएका नवराज विक, टीकाराम विक, गणेश बुढाको वडा अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा केटी पक्षका व्यक्तिहरूद्वारा सामूहिक, अमानवीय, मानवताविरोधी बीभत्स हत्या गरिएको र भेरी नपा ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सन्जु सुनारसहित तीनजना बेपत्ता भएको उल्लेख छ ।

सुष्मा मल्लसँग नवराज विकको लामो समयदेखि प्रेम सम्बन्ध हँुदै आएको र उक्त कुरा माइती पक्षले अस्वीकार गर्दै आएकोमा केटी सुस्मा र केटा नवराज विकले भागेर पनि विवाह गर्ने निष्कर्षमा पुगेको अवस्थामा केटा पक्षले आफ्नो गाउँका केही साथीभाइलाई लिएर केटी पक्षको गाउँ गएको अवस्थामा घटना भएको विज्ञप्तिमा जनाइएको छ ।

यो घटना बीभत्स, अमानवीय, हिन्दु वर्णाश्रम, उच्च अहंकारवादी सामन्ती सोचाइ र चिन्तनबाट हुन गएको मोर्चाले जनाएको छ । मोर्चाले वर्तमान संविधान एवम् लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको ठाडो उल्लङ्घन र उपाहस भएको भन्दै यस घटनालाई विभिन्न तत्वहरूले बङ्ग्याउने र घटनाका दोषीहरूलाई उम्काउने खेलहरू पनि भइरहेको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान लोकतान्त्रिक व्यवस्थामा उत्पीडित दलित समुदायमाथि जातीय भेदभाव, शोषण, ठगी, हत्या, लुटपाट गर्ने लोकतान्त्रिक व्यवस्थाका हिमायती ठान्ने कम्युनिस्टका खोल ओढेका शासकहरू नै अपराधको हाईकमान्डमा रहेर आपराधिक भूमिका खेलिरहेका र राज्यका विभिन्न निकायको कभरमा संरक्षित, सुरक्षित रहेर काम गरेको बुझिन्छ ।’

साथै दलाल संसदीय पुँजीवादी व्यवस्थामा उत्पीडित समुदाय, क्षेत्र, लिङ्ग, राष्ट्र र राष्ट्रियताको भविष्य अन्धकार रहेकाले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति फेरि पनि अन्तिम एकपटक एकीकृत जनक्रान्तिमा सामेल भई विभेदकारी राज्यव्यवस्थाको समूल नष्ट गर्नुको विकल्प नभएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अमानवीय, विभेदकारी, बीभत्स हत्याकाण्डका विरुद्ध सबै न्यायप्रेमी दलित समुदाय, दलित अधिकारकर्मी सङ्घसङ्गठन, आमसचेत नागरिक, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल सबैमा न्याय, स्वतन्त्रता, मानवअधिकार र मानवीय सद्भावका लागि आवाज उठाउन आह्वान गरिएको छ । विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :