सत्तासीनहरूको देशद्रोही चरित्रका कारण राष्ट्रिय स्वाधीनता सङ्कटमा

काठमाडौँ : भारतले नेपाली भूमि अतिक्रमण गरेपछि नेपालभित्र मात्र होइन, विदेशमा बसेका नेपालीहरूबीच पनि सर्वत्र विरोध भइरहेको छ । भारतीय साम्राज्यवादविरुद्ध आमनेपाली जनता क्रुद्ध भएका छन् । कोरोना भाइरसको त्रासका कारण देश बन्दाबन्दीमा परिरहेको समयमा पनि ठाउँठाउँमा विरोधका कार्यक्रमहरू भइरहेका छन् । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको र नेपाल पनि त्यसको मारमा परिरहेको बेला भारतले नेपाली भूमि अतिक्रमण गरेर नेपाललाई चिढ्याउने र थप पीडा दिने काम गरेको छ । वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूमिमा सडक उद्घाटन गरेदेखि नेपालमा झन्झन् विरोध भइरहेको छ ।

सरकारद्वारा प्रतिबन्धित पार्टी नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक पार्टीहरू, सीमाविज्ञहरू, राष्ट्रियताका पक्षधरहरू लेखक, बुद्धिजीवीलगायत आमनागरिकले नेपाली भूमि फिर्ता ल्याउनुपर्ने माग गरिरहेका छन् । नेकपाले भारतीय साम्राज्यवादका विरुद्ध लामो समयदेखि देशैभरि विभिन्न किसिमका सङ्घर्ष गर्दै आइरहेको छ । तर सरकारमा रहेका नेपाली रूपका विदेशी दलाल सत्ताधारीहरूका कारण नेपाली सार्वभौमिकतामाथि दिन–प्रतिदिन हस्तक्षेप बढिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । नेपाली भूमि फिर्ता ल्याउने विषयमा कुनै पहल गरेको नदेखिएको बेला सरकारको जिम्मेवार मन्त्रालयबाट बेनामी विज्ञप्ति निकालेर औपचारिकता पूरा गर्ने र झारा टार्नेबाहेक सरकारले केही गरेको देखिँदैन । बरु एकपछि अर्को गर्दै सत्ताधारीहरूले राष्ट्रघाती कदम चाल्दै गएका छन् । सत्ताधारीहरूले इतिहासमा गरेका यस्तै गम्भीर गल्तीका कारण पनि विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप दिनदिनै बढिरहेको छ ।

कहाँसम्म भने सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा वलीले नै वैशाख ३० गतेको मन्त्रिपरिषद्को बैठकमा भारतले लिपुलेकमा बनाएको सडक लिजमा दिन सकिने बताएका थिए । भारतले गरेको नेपाली भूमिको अतिक्रमण र राष्ट्रिय स्वाधीतामाथिको हस्तक्षेपको विषय राष्ट्रसङ्घमा पु¥याउनुपर्ने धारणाहरू व्यक्त भैरहेको सन्दर्भमा सत्तारूढ दलकै द्वितीय अध्यक्ष प्रचण्डले भारतले मिचेको जमिनबारे अन्तर्राष्ट्रियकरण गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिए । यस्तै जनता समाजवादी पार्टीकी नेत्री सरिता गिरीको भारतसँग सल्लाह नगरी नेपालको नक्सा सार्वजनिक गर्न हुँदैन भन्ने अभिव्यक्ति पनि राष्ट्रघाती, लम्पसारवादी र दलाल मानसिकताको उपज हो ।

यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि नेपाललाई नयाँ नक्सा सार्वजनिक गर्न नेपालको संविधान बाधक भएको भन्दै पन्छिन खोजे । राष्ट्रिय स्वाधीनताका विषयमा सिङ्गो देश एकजुट भएको बेला सत्ताधारीहरूले नेपाली भूमि फिर्ता ल्याउने विषयमा उचित निर्णय लिन नसकेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले भने अब राष्ट्रिय स्वाधीनताको आन्दोलन घनीभूत बनाउन आवश्यक भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :