भारतीय सेना प्रमुख नराभनको अभिव्यक्तिविरुद्ध युवा सङ्गठनको प्रदर्शन र सभा


काठमाडौँ : भारतीय सेना प्रमुख मनोज मुकुन्द नराभनले चीनको उक्साहटमा नेपालमा लिपुलेक र कालापानीको विरोध भएको भनी दिएको अभिव्यक्तिका विरुद्ध युवा सङ्गठन नेपाल दाङले सभा आयोजना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङको आयोजनामा सोमबार तुलसीपुरमा भौतिक दूरी कायम गर्दै युवाहरूले भारतीय सेना प्रमुखको उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै चर्काे नारासहित विरोधसभा सम्पन्न गरेका हुन् ।

कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्रले भारतले नेपाली भूमिमाथि दशकौँदेखि सीमा अतिक्रमणजस्तो जघन्य अपराध र नाङ्गो हस्तक्षेप गरेको र कालापानी क्षेत्रमा नेपाली भूमि मिची सडकसमेत निर्माण गरेर छिमेकी राष्ट्रले मित्रवत् सम्बन्ध तोडेको बताए ।

भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनले केही दिनअघि नेपाललाई चीनको उक्साहटमा लिपुलेकको कुरा उठाएको र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यसप्रति आपत्ति जनाउँदै उनले भने, ‘यो राज्यसत्ता र सरकार भारतका सामु गुलाम बनेर झुक्ने अवस्थामा छ भने सम्पूर्ण देशभक्त, स्वाभिमानी नेपाली युवाहरूलाई सत्ता जिम्मा दिइयोस् ।’ नेपाल कम्युनिस्ट पार्टीको योजना र आदेशमा युवा सङ्गठन नेपालको अगुवाइमा सीमा रक्षाका निम्ति लाखौँ युवा कालापानीमा रेड परेड खेल्न तयार रहेको उनको भनाइ थियो । उनले भारतसँग गरिएका सम्पूर्ण असमान सन्धिसम्झौता तुरुन्त खारेज गर्नसमेत माग गरे ।

राष्ट्रिय स्वाधीनताका लागि देशभक्त नेपाली बलिदान गर्नसक्ने आँट, साहस र चेतनाले भरिपूर्ण भएको कुरा राम्रोसँग बुझ्न उनले भारतीय शासकहरूलाई चेतावनी दिए । उनले आमयुवालाई मिचिएको भूमि फिर्ता गराउन नेपाल आमाको लालरक्षक बन्न आह्वान पनि गरे ।

उनले भने, ‘हाम्रो पार्टीले राष्ट्रियतासँग सम्बन्धित समस्यालाई बलियोसँग उजागर गरेको र सीमा समस्या समाधान गर्न राज्यलाई चुनौती दिएकाले हाम्रो पार्टीमाथि सरकारले गैरन्यायिक राजनीतिक प्रतिबन्ध लगाएको छ ।’

उक्त कार्यक्रमको सहजीकरण सङ्गठनका सहसचिव शीर्षकले गरेका थिए ।

सभामा युवाहरूले भारतीय साम्राज्यवाद– मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !, भारतीय सेना मुर्दावाद !, युवा सङ्गठन जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद ! लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :