दलित समुदायमाथिको विभेद अन्त्य गर्न संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको चेतावनी


काठमाडौँ : संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालले देशका विभिन्न स्थानमा दलित समुदायमाथि गैरदलितहरुले अन्याय, दमन, शोषण र विभेद गरेको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । समितिका संयोजक डम्बरबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी दलित समुदायका व्यक्तिमाथि छुवाछूत गर्ने, दलित समुदायकी बालिकामाथि बलात्कार गर्नेलगायत निन्दनीय काम भइरहेकाले पीडकमाथि सख्त कारबाही गर्न र विभेद अन्त्य गर्न चेतावनीसेत दिएका छन् ।

दलित समुदायमाथि विभेद भएका घटना उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हालै देशव्यापी भएका छुवाछूतका घटना एवम् यौनशोषणका काण्डबाट संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार सोही स्थान निवासी ३१ वर्षीया सङ्गीता राईले सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई भनेर ढुङ्गाले हिर्काउँदै लखेटेर जातीय विभेद गरेकी थिइन् । पीडितको उजुरीका आधारमा निज पीडक सङ्गीता राईलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ । यस्तै गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका ५ फोक्सिङमा २०७७ वैशाख २२ गते एक दलित समुदायका व्यक्ति श्याम परियार एकजना मगर जातिका व्यक्ति नेत्रबहादुर काउसाको घरभित्र प्रवेश गर्दा स्थानीय जनसमुदायले घर अपवित्र भएको भन्दै नेत्रबहादुर काउसा र सन्तबहादुर मगरलगायतले पूजापाठ गरी शुद्ध गर्नका लागि १,५०० रुपैयाँ दण्ड सजायस्वरूप तिराएको घटना सार्वजनिक भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसैगरी धनकुटा जिल्ला धनकुटा नगरपालिका ६ आत्मारा बस्ने १३ वर्षीया दलित (सार्की) समुदायकी बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, धनकुटा ६ कै व्यवसायी गौरी अत्री, सिरान बजारका होटेल सञ्चालक देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाइफकाइ गरी यौनशोषण गर्दै आएका थिए । उनीहरूले लामो समयदेखि ती बालिकालाई ललाइफकाइ गर्दै यौनशोषण गर्ने गरेका र ती बालिका गर्भवती भएपछि मात्रै चारजनाले बालिकालाई यौनशोषण गर्ने गरेको रहस्य खुलेको थियो । सो घटना खुलेपछि स्थानीयको पहलमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जेठ २ गते मुद्दा दर्ता भएको थियो । उजुरी दर्ता भएलगत्तै २ जनालाई पक्राउ गरेको र अन्य २ जना पनि हालै पक्राउ परेको बताइएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी २०७७ वैशाख १९ गते १२ बजे राती मोरङ मिक्लाजुङ ९ की १४ वर्षीया दलित बालिकालाई पनि बलात्कार गरिएको थियो र अभियुक्त वर्ष २२ का धीरेन मगर २०७७ वैशाख २८ गते पक्राउ परिसकेका छन् । त्यसैगरी हालै विराटनगर महानगरपालिका ४ की एकजना १४ वर्षीया बालिकालाई इक्राहीका २४ वर्षीय विरेन गडेरी (पाल) बलात्कार गरेको आरोपमा गिरफ्तार भएको खबर सार्वजनिक भएको छ ।’

विश्वकर्माको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनहरूमा छुवाछूतका यस्ता घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । यी घटनाहरूले राज्य अझै पनि स्वतन्त्र एवम् छुवाछूतमुक्त नभैसकेको पुष्टि हुन्छ । हामी यी सम्पूर्ण घटनाहरूको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । साथै यी घटनाहरूको गहिरो छानबिन गरी दोषीहरूलाई हदैसम्मको कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

सङ्घर्ष समितिमा दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, समाजवादी दलित मुक्ति महासङ्घ, संयुक्त दलित अधिकार मञ्च, नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, राष्ट्रिय दलित मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र, विभेद मुक्ति प्रगतिशील समाज र जातव्यवस्था उन्मूलन मोर्चा आबद्ध नेपाल छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :