अमेरिका बस्ने नेपालीले पनि नेपाल–भारत सीमामा काँडेतार लगाउन पचास लाख दिने


काठमाडौँ : अमेरिकामा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा अमेरिकाले नेपाल–भारतबीच सीमामा काँडेतार लगाउन पचास लाख रुपैयाँ दिने भएको छ । मोर्चाका अध्यक्ष विश्वबहादुर शाहले विज्ञप्ति प्रकाशित गरी भारतले नेपालमाथि गरेको थिचोमिचो अन्त्य गर्न र सीमामाथि गरेको अतिक्रमण बन्द गर्न मोर्चाले पचास लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन् । कतारबासी नेपालीहरूको मोर्चाले पनि काँडेतार लगाउन पचास लाख दिने घोषणा गरिसकेको छ ।

मोर्चाका अध्यक्ष शाहले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतले पटकपटक नेपालको सीमा मिच्दै देशको अस्मितामाथि धावा बोल्दै आइरहेको छ । पश्चिममा कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग अतिक्रमण गरेर विगत ५७ वर्षदेखि भारतीय सेना तैनाथ गरी नेपालीहरूलाई प्रवेशमा समेत रोक लगाएको छ । दक्षिणपूर्वमा सुस्तासम्मको भूभागमा प्राकृतिक दोहनको फाइदा उठाई नेपालको ठूलो भूभाग मिचेर बसेको छ ।’

कतार मोर्चाले जस्तै मोर्चाको अमेरिका शाखाले पनि सरकारसँग आठबुँदे माग राखेको छ । मागपत्रमा भनिएको छ, ‘१. राष्ट्रिय सीमा सुरक्षाका निम्ति कम्तीमा १ लाख नेपाली सेना नेपालको चारैतिर सीमामा तैनाथ गरी भारतसँग वार्ता होइन, सम्पूर्ण प्रमाण सङ्कलन गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरियोस् । २. देशको आवश्यकताअनुसार १८ वर्षमाथिका युवा पिँढीलाई सैनिक तालिमसहित सीमा सुरक्षाका लागि तयार गरियोस् । ३. बिदेसिएका युवकयुवतीहरूलाई स्वदेशमै रोजगारीको दीर्घकालीन व्यवस्था गरी राष्ट्र निर्माणमा समावेश गराइयोस् । ४. सीमा समस्या समाधान गरी सिमानामा डबल काँडेतार लगाउने व्यवस्था गरी तत्काल काम सुरु गरियोस् । मिचिएको क्षेत्रलाई भाडामा दिने कुरा झनै गैरजिम्मेवार अभिवयक्ति हो । ५. विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरूलाई उचित व्यवस्थापनसहित तत्काल स्वदेश फर्किने वातावरण बनाइयोस् । ६. भारतीय सेनामा सदैव दोस्रो दर्जामा रहेका तर भारतको सुरक्षामा अग्रपङ्क्तिमा रहेका नेपाली युवाहरूको भर्तीकेन्द्र बन्द गरियोस् । ७. देशभित्र फर्कने युवाहरूलाई पुनः विदेश फर्कन नपर्ने गरी राज्यले दूरगामी योजनासहित व्यवस्थापन गरोस् भनी मोर्चा जोडदार माग गर्दछ । ८. नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई बिनासर्त जेलमुक्त गरियोस् । नेपालको संविधानले दिएको स्वतन्त्रताअनुसार एकीकृत जनक्रान्तिको नीति लिएर वैज्ञानिक समाजवादको नाराको साथमा अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीका मागहरूको सम्बोधन गरी उक्त पार्टीमाथिको प्रतिबन्ध अविलम्ब हटाइयोस् । खुला राजनीतिमा प्रतिस्पर्धा गर्ने वातावरण तयार गरियोस् ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देश बचाउनका लागि नयाँ पुस्ताका युवकयुवतीहरू, बिदेसयका सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त नेपाली नागरिकहरू एक हुँदै स्वदेश फर्कने र राष्ट्रिय मुक्ति आन्दोलनको सिर्जना गर्नुका साथै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु मात्र विकल्प रहेको छ । भारतमा रहेका भारतीय नेपालीहरूसहित एकजुट भएर विशाल नेपाल निर्माण गर्दै वैज्ञानिक समाजवाद निर्माण गर्नमा अग्रसर हुनुको विकल्प छैन । राष्ट्रवाद र जनताको सही व्यवस्थापन गर्ने माध्यम नै वैज्ञानिक समाजवाद हो । पुराना र असफल तर अनुभवी नेतृत्वहरूलाई ससम्मान बिदा गर्दै नयाँ पुस्ता अगाडि बढ्नुको बिकल्प छैन । राष्ट्रियताप्रति सबै नेपालीहरूको साझा नारा हुनुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरू एक हुनुको विकल्प नै नरहेको कुरा उजागर गर्दै माथि उल्लेख गरिएका मागहरूलाई पूरा गर्दै देशको सीमा समस्या समाधान गरेर पासपोर्ट प्रणाली लागू गर्ने गरी भारतीय प्रहारबाट मुक्त हुन सीमामा दोहोरो काँडेतार लगाइयोस् । सिमानामा काँडेतार अभियानका लागि नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने यसै विज्ञप्तिमार्फत घोषणा गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :