नेकपाले सगरमाथा ब्युरोभरि जलायो मोदीको पुतला


काठमाडौँ : भारतले नेपालको दार्चुलाको लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेकपा सगरमाथा ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । ब्युरोअन्तर्गत पर्ने सबै जिल्लाहरूका ग्रामीण बस्तीमा गरिएको पुतला दहनका क्रममा उपस्थित सर्वसाधारणले भारतीय साम्राज्यवादविरुद्ध चर्का नाराबाजी गरेको समाचारमा जनाइएको छ ।

भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा भोजपुर जिल्ला सेक्रेटरी नवीनले भने, ‘नेपाली भूमि अतिक्रमण गर्ने भारतीय साम्राज्यवादविरुद्ध जनस्तरबाट प्रतिरोध गर्नु आवश्यक छ ।’

उनले भारतले नेपाली भूमिमा जारी राखेको अतिक्रमणकारी गतिविधि तत्काल रोक्न चेतावनी दिँदै भारतीय साम्राज्यवादका दलालहरूको सरकारका कारण नेपाली भूमि अतिक्रमण नरोकिएको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भारतले अतिक्रमण गरेको नेपाली भूमिका पक्षमा पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको उनले बताए ।

खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लाहरूमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरिएको नेकपाले जनाएको छ । पुतलादहन कार्यक्रममा नेकपाका जिल्ला स्तरका नेताहरूले सम्बोधन गरेको बताइएको छ ।

भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटो सञ्चालनमा ल्याएको विरोधमा नेकपासहित विभिन्न जनवर्गीय सङ्गठनहरूले त्यसको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :