भारतले कहिलेसम्म हेपिरहन्छ नेपाललाई ?

नेपालको २५० वर्षदेखिको इतिहासलाई हेर्ने हो भने भारतीय भूमिमा सक्रिय साम्राज्यवादले नेपालविरुद्ध निरन्तर रूपमा भीषण युद्ध जारी राखेको छ । नेपाललाई स्वाधीन राष्ट्रका रूपमा कायम गरिराख्नका लागि भारतीय साम्राज्यवादविरुद्ध सन् १८१६ अगाडि जबाफी सैन्य युद्धसमेत गरी सुगौली सन्धिमार्फत युद्धविराम भएको थियो । आजका दिनसम्म पनि भारतको साम्राज्यवादी सरकार, कर्मचारीतन्त्र र सैन्यबलले नेपाललाई हेप्ने, भाषण र औपचारिक कुरा एउटा गर्ने तर व्यवहार ठीक उल्टो गरिरहेको छ । यस विषयमा नेपालका सबै भुक्तभोगी छन् तैपनि कार्यकारी भूमिकामा रहेकाहरू बोल्दैनन् किनकि यिनीहरू स्टकहोम सिन्ड्रोमबाट पीडित छन् । नेपालको हालको बचेखुचेको स्वाधीनताको मुख्य कारण र स्रोत भनेकै यो देशमा सत्ताधारी दलाल मात्र नभई देशभक्त जनाधारको सक्रिय उपस्थिति हो । यो पृष्ठभूमिकै परिणामस्वरूप लिपुलेकमा भारतले गरेको अतिक्रमणका विषयमा जबाफ खोजौँ– भारतले कहिलेसम्म नेपाललाई हेपिरहन्छ त ?

दुई शताब्दीदेखि आजसम्म नेपालको राजनीतिको मूल चरित्र जनविरोधी रह्यो । त्यसले जनतालाई केन्द्रमा नराखी आफ्नो सत्ता र शक्तिलाई प्राथमिकतामा राख्यो । जनतासमक्ष जतिसुकै बहिष्कृत भए पनि दक्षिण–पश्चिममा पदासीन बादशाहलाई रिझाउन सकेमा सत्ताच्यूत हुनु नपर्ने राजनीतिक संरचना खडा गरिएको छ । सार्वभौमिकताको स्रोत श्रमजीवी जनता होइन, विदेशी प्रभुप्रतिको लम्पसारवादी परिमाणलाई मानिन्छ । यसको पछिल्लो संस्करणका रूपमा ल्याइएको २०७२ सालको संविधानले छानिएका एक हजार नेपाली दलालमार्फत राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय राजनीति र जनतालाई नियन्त्रण गर्न सकिने पद्धतिलाई संस्थागत गरेको छ । राजनीतिक, प्रशासनिक, सैन्य र आर्थिक ठेकेदारमार्फत देशलाई पराधीन बनाइएको छ । त्यसैले देश र जनताविरुद्ध घात गर्ने गुटगत समूह नै सत्तासीन हुने ७० वर्षदेखिको दलाल संसदीय राजनीतिक व्यवस्था कायम रहेसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

भारतपरस्त आर्थिक नीति र कार्यक्रमको निर्माण गर्ने प्रचलन एक सय वर्ष अघिदेखि कायम छ र त्यसलाई थप बलियो बनाइँदैछ । देश र जनताको आर्थिक सक्षमता नै राष्ट्रिय स्वाधीनताको एक प्रमुख आधार हो । भारतले नेपाललाई शोषण गर्ने र नेपालमा रहेका दलालले तीन करोड जनतालाई शोषण गर्ने त प्रणालीगत संस्कृतिजस्तै भएको छ । नेपालले भारतबाट प्राप्त गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट लैजाने विप्रेषण तीन गुणा बढी भई झन्डै ४०० अर्ब रुपैयाँ हुँदा पनि श्यामशरणहरू धम्कीपूर्ण लेखमार्फत भारतमा ६० देखि ८० लाख नेपाली रहेको भनी ब्ल्याकमेलिङ गरिरहन्छन् । खाद्यान्न, इन्धनलगायत ६५ प्रतिशत व्यापार निर्भरता भारतमाथि छ भने अधिकांश होलसेल व्यापार, उद्योग र सेवा क्षेत्रमा भारतीय व्यवसायीको पकड बढ्दै गएको छ । विद्यमान लकडाउनमा पनि नेपाली किसानको उत्पादन बारीमा नै कुहिँदा पनि भारतबाट ट्रकमा तरकारी र अन्य खाद्यान्न आउनुले नेपाली जनताको दैनिक आर्थिक जीवनमा कसरी भारतको हस्तक्षेपपूर्ण बाहुल्यमार्फत साम्राज्यवादको सेवा गरेर नेपाली आर्थिक उत्पादक शक्तिमाथि निरुत्साहनपूर्ण घात गरिएको छ भन्ने प्रमाणित हुन्छ । यस्तो परपोषक दलाल पुँजीवादी आर्थिक प्रणाली नेपालमा कायम रहेसम्म भारतले नेपाललाई केही वर्षको अन्तरालमा नाकाबन्दी गरिरहन्छ, दुःख दिइरहन्छ, हेपिरहन्छ ।

सामाजिक–सांस्कृतिक क्षेत्रमा भारतको सेवाबिना नेपाल टिक्नै सक्दैन भन्ने परजीवी स्कुल अफ थट प्रचारप्रसार गरिएको छ । भाषा र धर्मका नाममा नेपाललाई कमजोर बनाउन एजेन्टहरू खटाइरहुन्जेल, सांसदको टिकट लिन, सीडीओ खटाउन, आफ्नो स्थानीय तहको पुँजीगत खर्च २० प्रतिशत पनि नगरी विद्यालय र स्वास्थ्य संस्थाको छानो छाउने जस्तापाता लिन राजदूतावासमा लाम लाग्ने मानसिकता रहेसम्म, समानान्तर सरकारकै झझल्को दिने गरी राजदूतावासले नेपालका वडावडामा रहेका सानासाना परियोजनामा १–२ करोड बजेटरी प्रणाली बाहिर नै खर्च गर्न दिने प्रणाली रहेसम्म, राजदूतावासबाट खान्की लिइरहने नेतृत्व रहेसम्म, माननीय सांसदलाई भारतीय राजदूतावासले रात्रीभोजका लागि निम्ता गरेर फोटो सेसन गराइरहँदासम्म भारतले नेपाललाई हेपिरहन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा भारतकै लाइनमा हामी हिँड्छौँ भनी बकपत्र गर्ने क्रान्तिकारी प्रधानमन्त्रीहरू रहेसम्म, सामाजिक सञ्जालमा चर्को विरोध भएपछि रुन्चे तरिकाले अतिक्रमणकारीलाई पीडित राष्ट्रले उल्टै वार्ताबाट समस्या समाधान गरौँ भनी वक्तव्य निकाल्ने परराष्ट्र मन्त्रालय भएसम्म, ७१ स्थानमा देशको सिमाना मिचिँदा र दसगजामा अन्तर्राष्ट्रिय नियमविपरीत बाँध बाँध्दा आवाज नउठाउने प्रशासन रहेसम्म, हतियारधारी विदेशी सेनाले नेपालको सिमानाभन्दा ५० किमिभित्र प्रवेश गर्दा पनि कारबाही नगर्ने सुरक्षा संयन्त्र रहेसम्म, स्विट्जरल्यान्डमा भएको अन्तर्राष्ट्रिय सङ्गठनको कार्यक्रममा सारा संसारका प्रतिनिधिका अगाडि नेपाललाई धम्क्याउँदा पनि चुँ गर्न नसक्ने प्रतिनिधिमण्डल रहेसम्म र प्रधानमन्त्री भएको एक सातामा नै भारत भ्रमणका लागि बोलाइदिनुहोस् न भनी राजदूतलाई पाइजामा र चप्पल लगाएरै भेट्न आउन अनुमति दिने प्रधानमन्त्री भएसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

चारवटै सुरक्षा निकायका प्रमुखको नियुक्तिमा भारतको सिफारिस र अनुमोदन खोजेसम्म, देशभित्रका दललाई जोड्न र फोर्न, एउटा दलले अर्को दलविरुद्ध विदेशी भूमिमा गएर कुरा लगाएसम्म, चुनावमा कसलाई जिताउने र हराउने सल्लाह राजदूतावासमा बसेर गरेसम्म, पञ्चशीलका प्रचलनको विपरीत आफूविरुद्ध काम गर्दा सबै कूटनीतिक पहल नगरेसम्म र त्यस्तो पहलबाट समस्या समाधान नभएको अवस्थामा जनसमर्थनसहित बल प्रयोग गर्ने हिम्मत नभएसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

राष्ट्रिय मुक्ति, स्वाधीनता र भौगालिक सिमानाको रक्षाका लागि १८ देखि २१ वर्ष उमेरका नेपाली नागरिकले तीनमहिने अनिवार्य सैन्य तालिम लिएर सम्पूर्ण राष्ट्रलाई विचार र विवेकसहित वैज्ञानिक समाजवादी सत्ताअन्तर्गत सैन्यीकृत नगरेसम्म, विज्ञान, प्रविधियुक्त सामरिक सुरक्षा रणनीति र कार्यक्रम नबनाएसम्म हामी हेपिइरहनेछौँ । अनि कोठाभित्र बसेर नेपालीलाई हेप्नी ? भनेर आफैँसँग रिसाएर ब्लडप्रेसर मात्र बढाइरहेसम्म भारतले नेपाललाई विगत दुई सय वर्षदेखि जसरी हेपिरहेको छ त्यसैगरी पुस्तौँपुस्तासम्म हेपिरहनेछ ।

अतः साम्राज्यवादीहरू सङ्ख्या र स्वरूपमा ठूलाजस्ता देखिए पनि सुन्निएका कागजी बाघ मात्र हुन् भन्ने तथ्य त साबुनपानीले पराजित गर्ने कोरोनाले यिनीहरूको लूटको साम्राज्यमा कसरी धावा बोलेको छ भन्ने तथ्याङ्कले नै देखाउँछ । यो सत्ता आफूभित्रको अविश्वासपूर्ण स्वार्थी मल्लयुद्धले मक्किएर जीर्ण भइसकेकाले वास्तवमा धेरै कमजोर र विघटनउन्मुख छ । त्यसैले देशभित्रको सामाजिक दलाल पुँजीवादको नेतृत्वमा रहेको दलाल संसदीय व्यवस्था एवम् त्यसलाई घोडा बनाएर नेपाल र नेपाली जनताविरुद्ध चौतर्फी युद्ध थोपरिरहेको साम्राज्यवादलाई परास्त गर्नु नै नेपाली जनताका लागि वस्तुगत रूपमा उपलब्ध ऐतिहासिक अवसर तथा हेपाइको सर्वकालीन अन्त्यको उपाय हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :