देशभक्त नेपालीको आन्दोलनको ज्वारभाटाले नेपाललाई भारतबाट मुक्त पार्नेछ : लोहनी


काठमाडौँ : राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले भारतलाई नेपालको अतिक्रमित भूभाग छोडेर तत्काल आफ्नो देश फर्किन र सरकारलाई भारतीय अतिक्रमणबाट देशलाई मुक्त पार्न सुझाव दिँदै अन्यथा देशभक्त नेपालीको आन्दोलनको ज्वारभाटाले नेपाललाई भारतीय अतिक्रमणबाट मुक्त गराउने दृष्टिकोण अघि सारेका छन् । लोहनीले मञ्चका तर्फबाट शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नेपालको अतिक्रमित सबै भूमि फिर्ता नगरिएमा र सरकारले यसमा कुनै पहल नगरेमा नेपाली जनता ज्वारभाटा भएर उर्लिने र विरासतका रूपमा रहेको वीर नेपालीको पहिचान साबित गर्ने जनाइएको छ ।

मञ्चका संयोजक लोहनीले विज्ञप्तिमा इतिहास स्मरण गराउँदै भनेका छन्, ‘हाम्रा पुर्खाहरूले रगतपसिना एक बनाएर निर्माण गरेको प्यारो मातृभूमि व्यापार गर्न भनी भारत प्रवेश गरेको तत्कालीन इस्ट इन्डिया कम्पनीले यहाँको प्राकृतिक सौन्दर्य, प्रचूर मात्राको प्राकृतिक साधनस्रोत, सामरिक हिसाबले सुरक्षित नेपालमाथि आँखा लगाउँदै आएको थियो । अङ्ग्रेज नामको इस्ट इन्डिया कम्पनीले ५ सयभन्दा बढी राज्यमा विभक्त वर्तमान भारतमाथि साम्राज्यवादी पञ्जाले जकडेको अवस्थामा नेपाली आमाका असल सन्तानहरूले भोक—प्यास, सुख—दुःख केही नभनी अङ्ग्रेजका आधुनिक हतियार र षड्यन्त्रहरूलाई नाकाम बनाइरहेका थिए ।’

लोहनीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यही क्रममा तत्कालीन नालायक शासकहरूको कमजोरीका कारण सन् १८१६ मा कपटपूर्ण सुगौली सन्धिमा पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म, यस्तै उत्तरमा तिब्बततर्फ टासिल्हुन्पोसम्म तन्किएको र दक्षिणमा घाघरा–गङ्गा तथा यमुना–गङ्गा नदीको मैदानसम्म २,६७,५७५ वर्गकिलोमिटरमा फैलिएको नेपाल १,४७,१८१ वर्गकिलोमिटरमा खुम्चिन पुगेको थियो । सिन्धुलीगढी, जितपुरगढीजस्ता कैयौँ किल्लाहरूमा अङ्ग्रेजलाई परास्त गर्दै नालापानीमा नझुकेका कारण हाम्रो मातृभूमिले स्पष्ट आकार लिएको थियो ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘हामी सबैलाई थाहा छ सामन्तवादी सोचाइका साथ भए पनि पृथ्वीनारायाण शाहले सुरु गरेको बृहत् नेपाल निर्माणमा पछि दरबारमा बसेर राज गर्नेहरूले ऐसआरामको जिन्दगी बिताउन थालेपछि जनताका छोराछोरीले एकीकरणलाई सार्थक बनाएका थिए । अङ्ग्रेजले भारत छाड्दै गर्दा सुगौली सन्धिमार्फत गुमेको नेपालको जमिन फिर्ता गर्नुपर्ने थियो । त्यसो गरिएन । त्यसपछि पनि लोकतान्त्रिक भनिएको छिमेकी राष्ट्र भारतका शासक–प्रशासकहरूले नेपाली भूमिमाथि गिद्देदृष्टि लगाइराखे । अहिले सुगौली सन्धि भएको २ सय ४ वर्ष पुगिसकेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पनि नेपाली भूमिमाथि भारतीय अतिक्रमण बढ्दै गइराखेको छ । त्यसैको पछिल्लो संस्करण हो गत सालको नोभेम्बर २ मा भारतले नेपाली भूमि हड्पिएको नक्सा सार्वजनिक गर्नु । नेपालमा राणा शासनको अन्त्य हुँदै अहिलेसम्म आइपुग्दा ७१ स्थानमा भारतले सीमा मिचेका तथ्यहरू सार्वजनिक भैसकेका छन् । १५ मई २०१५ मा बेइजिङमा भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौतामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको ठूलो भूभाग भारतले हडपेको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नक्सामा उक्त भूभाग भारतमा पारेको देखाइएको थाहा हुँदाहुँदै नेपाल सरकारले सामान्य रूपमा भारत सरकारलाई नोट पठाउने कामबाहेक अरू केही गर्न सकेन जसको फलस्वरूप, गत ८ मेका दिन भारतका विदेशमन्त्री राजनाथ सिंहले अनलाइनमार्फत दार्चुलाको व्यासी गाउँपालिकाको २२ किलोमिटर लामो सडक निर्माण गरिएको घोषणा गरे । नेपाली जनता आक्रोशित हुन पुगेका छन् र देशभक्तिपूर्ण आन्दोलनमा सरिक भैराखेका छन् । नेपाली जनताले गर्दै आएको आन्दोलनले भारतीय शासकहरूको यस्तो साम्राज्यवादी नीति नेपाली जनतालाई कुनै पनि मानेमा स्वीकार्य हुन सक्दैन भन्ने पुष्टि गरेको छ ।’

विज्ञप्तिमा लोहनीले भनेका छन्, ‘हुनत भारतीय शासकहरूले १९५० को सन्धिदेखि नै नेपालका राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा अतिक्रमण गर्दै आएका छन् । यसबीचमा हामीले सोचेका थियौँ– नेपाल सरकार र भारत सरकारले वार्ताको माध्यमद्वारा सिमानासम्बन्धी सबै समस्याहरू समाधान गर्नेछन् । भारत र नेपालका बीचमा पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्धहरू कायम रहनेछन् । यसका लागि नेपाल सरकारले तत्कालै कूटनीतिक पहल गरेर भारतले मिच्दै आएका लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत सबै भूमि नेपालको सार्वभौमिकताभित्र ल्याउनेछ तर सरकारले भारतीय अतिक्रमणका विरुद्ध आन्दोलन गरेका देशभक्त शक्तिलाई गिरफ्तार गर्ने राष्ट्रघाती र जनघाती काम गरिराखेको छ । यसले सच्चा देशभक्तहरूमा आक्रोश बढ्नु स्वाभाविक हो । सरकारको यस्तो रबैयाको हाम्रो मञ्च घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार गरिएका आन्दोलनकारीलाई ससम्मान रिहा गर्न माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा लोहनीले चेतावनी दिँदै भनेका छन, ‘स्मरण रहोस्, भारतीय अतिक्रमणका विरुद्ध मञ्चका तर्फबाट २०७६ मङ्सिर २६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो तर सरकारले कुनै सरोकार राखेको छैन । अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने, सरकारले कुनै पहल गरेन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिनेछन् । एकपटक विरासतका रूपमा रहेको वीर नेपालीको पहिचान साबित गर्न पछि पर्ने छैनन् । उक्त ज्वारभाटाको पङ्क्तिमा मञ्च पनि सामेल हुनेछ । देशभक्त शक्तिको ज्वारभाटाले भारतीय अतिक्रमणबाट मातृभूमिलाई मुक्त गर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :