भारतीय अतिक्रमण र सरकारी फासिवादका विरुद्ध विद्रोहमा उत्रिन नेकपाको आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले भारतीय अतिक्रमण तथा केपी वली सरकारका फासिवादी क्रियाकलापका विरुद्ध विद्रोहमा उत्रिन जनतामा अपिल गरेको छ । ब्युरो इन्चार्ज मिलनले विज्ञप्ति जारी गरी साम्राज्यवादी अतिक्रमण र सरकारी हर्कतका विरुद्ध विद्रोहमा उत्रिन जनतालाई अपिल गरेका हुन् ।

ब्युरो इन्चार्ज मिलनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने युगान्तकारी अभियानमा रहेको बेहोरा यहाँहरू सबैमा अवगत नै छ । नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था तीव्र रूपमा असफल हुँदै गर्दा एकीकृत जनक्रान्तिले एकपछि अर्को सफलताको सिँढी चढिरहेको सन्दर्भमा विश्व–महामारीका रूपमा कोरोना भाइरस ‘कोभिड १९’ को मानव समुदायले सामना गर्नुपरिरहेको छ । साम्राज्यवादी असफलताका रूपमा आएको कोरोना महामारीको समयमा पनि वली सरकार भ्रष्टाचार, कुर्सी छिनाझप्टी, अनियमितता, राष्ट्रघात गर्न उद्यत हुनुले हामी अत्यन्त गम्भीर भएका छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘चरम फासिवादी जगमा उभिएको वर्तमान सरकारले जनतालाई योजनाविहीन लकडाउन गरेर सरकार र सरकारी पार्टीनिकट मान्छेलाई खुलमखुला छोडिदिएको छ । कोराना उपकरण खरिदप्रक्रियामा करोडौँ रकम भ्रष्टाचार तथा अनियमितता गरिरहेका छन् । यो सरकारले राहतमा पनि ठूलो विभेद गरेको जनगुनासो छ । झन्डै एक अर्ब रुपैयाँबराबरको राहत वितरण गरिएको भन्ने सरकारी तथ्याङ्क छ तर जनताले त्यसको कुनै अनुभूति गर्नसम्म पाएका छैनन् । सरकार भाटभटेनीलगायत कर्पोरेट पुँजीवादका नेपाली एजेन्टहरूका पक्षमा उभिँदै साना व्यापारीलाई दमन गर्दै आएको छ । सरकार भाटभटेनी खोल्ने अनुमति दिन्छ तर भुइँमान्छेहरूको जीवन निर्वाह गर्ने बाटो बन्द गर्दछ । हामी घरानियाहरूका पक्षमा उभिँदै आधारभूत जनताका विरुद्ध क्रियाशील सरकारी रबैयाको घोर भत्र्सना गर्दै यसप्रकारको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ ।’

मिलनले विज्ञप्तिमा भनेका छन्, ‘लकडाउनपछि मात्र झन्डै दर्जनौँ मजदुर–किसान आत्महत्या गर्न बाध्य भएको घटनाले सरकारलाई कहीँकतै छोएको देखिँदैन । यो सरकार उत्पीडित तथा श्रमजीवी समुदायलाई आत्महत्या गर्न बाध्य पार्दैछ । संसारभरबाट नेपाली श्रमिकहरू सकुशल स्वदेश फर्कन हारगहार गरिरहेका छन् । कैयौँ नेपालीको सिमानामा चिल्लीबिल्ली छ तर यो भ्रष्ट सरकार कानमा तेल हालर बसेको छ । देशमा यत्रो मानवीय सङ्कट चुलिएको अवस्थामा पनि दलालहरूले आफ्नो स्वार्थ र कुर्सीको छिनाझप्टीमा मरिहत्ते गरेर संसारलाई हँसाएका छन् । सरकार प्रमुखकै निर्देशन र मिलोमतोमा कमरेड कुमार पौडेलको हत्याका योजनाकार पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, सांसदद्वय किसान श्रेष्ठ र महेश बस्नेतहरू सांसद अपहरणजस्तो घृणित र तुच्छ कार्यमा लागेको घटनाले उनीहरूको चरित्रलाई झनै छर्र्लङ्ग पारेको छ । सरकारले ओम्नी र यतीजस्ता बदनाम र भ्रष्ट संस्थाहरूसित अपारदर्शी र संदिग्ध सम्बन्ध राखिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकतामाथि बारम्बार हस्तक्षेप गर्दै आइरहेको छ । यसको पछिल्लो दृष्टान्त भारतले नेपालको भूभाग मिचेर राजमार्ग निर्माण गर्नु हो जुन अत्यन्त खेदजन्य र भत्र्सनायोग्य छ । नेपाली सार्वभौमिकतामाथि हाकाहाकी धावा बोलिँदा पनि वली सरकार लाचार बनेर चुप लाग्नु नेपालको सार्वभौमिकता बेचेर आफ्नो कुर्सीको आयु लम्ब्याउने षड्यन्त्रकारी, राष्ट्रघाती र जनविराधी कदम हो । साथै यस्तो मानवमृत्युको महामारीमा पनि हाम्रो पार्टीका नेता तथा कार्यर्तामाथि झूट्टा मुद्दा लगाउने, गिरफ्तार गर्ने, धरपकड गर्ने कार्यलाई तीव्र पारिएको छ । यसले एकातिर वली सरकार आफैँ यही महामारीको निहुँमा क्रान्तिकारीहरूमाथि जघन्य अपराध गर्नतिर उद्यत भइरहेको देखिन्छ भने अर्कोतिर जनतालाई एकीकृत जनक्रान्तिमा लामबद्ध हुँदै विद्रोहमा उत्रन मार्गप्रशस्त गरेको छ । वली सरकारको यसप्रकारको जघन्य मानसिकताबाट सजग रहन हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकारको हरेक प्रकारको आपराधिक तथा जनविरोधी क्रियाकलापको सशक्त प्रतिरोध गर्दै यो महामारीबाट मानव समुदायले विजय प्राप्त गर्न सबै सचेत रहन अनिवार्य छ । त्यसका लागि हाम्रो पार्टी विविध कार्यक्रम र कार्ययोजनाका साथ जनताका बीचमा पुगिरहेको कुरा पनि विदितै छ । सम्पूर्ण तह र तप्काका जनसमुदायलाई दलाल फासिवादका विरुद्ध गोलबन्द हुँदै विद्रोहमा उत्रन हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरो यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :