मुग्लिन–नारायणगढ यात्रा खतरापूर्ण

pahiro

रातो खबर संवाददाता/काठमाडौँ/असार २१ : राजधानी काठमाडौँलाई बाँकी देशसँग जोड्ने र देशको दोस्रो ठूलो सहर तथा पर्यटकीय केन्द्र पोखरालाई तराईसँग जोड्ने मुग्लिन–नारायणगढ सडक स्तरोन्नतिको प्रयाससँगै यात्रुका लागि भयानक कहर मात्र नभएर ठूलो आर्थिक क्षतिसमेत भएको छ । गएको चैत्र २१ गते सुख्खा पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो । घुमाउने नजिक सुख्खा पहिरो सडकमा खस्दा घटना भएको थियो । एक लेनको सो सडक २०३३÷३४ सालमा चीन सरकारको सहयोगमा गोरेटो (ट्रयाक) खोलिएको थियो । बढ्दो चाप र दुर्घटनाका कारण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सो सडक स्तरोन्नति गरी दुई लेन बनाउने प्रयास जारी छ । घुमाउने र १६ किलो २ स्थान सर्वाधिक जोखिमपूर्ण छ । यी भरतपुर महानगरपालिका– १६ मा पर्छन् । जुन नारायणगढबाट २२ कि.मी र मुग्लिनबाट १४ कि.मी. दुरीमा छन् । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत यो काम भइरहेको छ । २०७१ साल चैतबाट दुई वर्षमा काम सक्नेगरी सो कार्यक्रम सुरु भएको हो । हालसम्म ५०% मात्रै काम सकिएको र अर्को थप १ वर्षको समयावधि पनि २०७४ पुस ६ मा सकिंदैछ । काम भने आधा मात्र भएको छ ।

फरक फरक ३ वटा कम्पनीले सो कामको ठेक्का हात पारेका छन् । २ अर्ब ९० करोडको सो आयोजना आँपटारी–दासढुङ्गा बीएलए एससीसी जेबी कम्पनी, दासढुंगा–सिमलतालखण्ड उडहिल लामा जेभि कम्पनी र सिमलताल–मुग्लिन खण्ड सुप्रीम रौता जेवी कम्पनीले हात पारेका छन् । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात बन्द गरेर निर्माण कार्य गरिंदै आएको हो । शुक्रबार पहिरो पन्छाएर सक्दा नसक्दै अपरान्ह फेरि ठूलो पहिरो कालीखोला वरपर आएपछि ३४ घन्टा यातायात अवरुद्ध भएको थियो । शनिबार साँझ सो सडक खुले पनि पहिरो जानेक्रम भने रोकिएको छैन । नेपाल प्रहरीका ५ वटा टोली सो क्षेत्रमा खटिएका छन् । शनिबार नारायणगढतर्फ फिस्लिङसम्म पोखरातर्फ खैरहनीसम्म र नारायणगढतर्फ गोन्द्राङ बरन्डाभार जङ्गलसम्म तथा केन्द्रीय बसपार्क भरतपुर परिसरमा समेत यातायातका साधन भरिभराउ थिए । एक सातामा ८ जनाको मृत्यु र २ जना अझै बेपत्ताका घटना भएका छन् । चैतको सुख्खा पहिरोमा परी ६ वटा सवारी साधन पहिरोमा पुरिएका थिए भने एकसाता अघि ३ प्रहरीसहित प्रहरीको एक सवारी साधनलाई पहिरोले त्रिशुलीमा हुत्याइदिएको थियो । तल त्रिशुली नदी, माथि टोपी खस्ने पहाडको बीच नदी किनार हुँदै सो सडक गुज्रन्छ । चोरखाला–चेपाङडाँडा १.६ कि.मि. खण्डमा निरन्तर पहिरो गइरहन्छ । शनिवार पैदलयात्रु सर्लाही, मदनपुरका भिखारी चौधरी र स्थानीय एकबहादु मगर पहिरो हेर्दाहेर्दै पहिरोले धकेलेर नदीमा खसेका थिए ।

Muglin-Narayangadh-road-section-obstructed-by-dry-landslide

सो सडक खण्डमा पटक–पटक दुर्घटना भएपछि गत मंगलबार संसद्को विकास समितिले अनुगमन गरेको थियो । समितिका संयोजक रविन्द्र अधिकारीले मंगलबार भरतपुरमा आयोजित बैठकमा सरोकारवाला पक्षलाई समयभित्र काम सक्न र दुर्घटना न्यूनीकरण उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए तर सडक विभागका उपमहानिर्देशक तथा आयोजना संयोजक सञ्जय श्रेष्ठले ‘२ वर्षमा सक्ने आयोजना नै होइन’ भनेका छन् । त्यसै हो भने २ वर्षमा सक्ने भनी किन गरेको त ? ठेक्का हात पार्ने, समय लम्ब्याएर कमिसन खाइरहने र यात्रु तथा देश लुट्ने मनसाय निर्माण कम्पनी र अधिकारीहरूमा झल्कन्छ । थपेको समय डिसेम्बरसम्म ६० प्रतिशत मात्र काम हुने थप २ वर्ष थपेर २ वर्षको आयोजनालाई ६ वर्ष पु¥याएर दुहुनो गाई बनाउने नियत झल्कन्छ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने कठीन कामजति सकिएकोले डिसेम्बरसम्म काम सकिने दावी गरेका छन् । अधिकारीहरूकै बीचमा मतैक्य देखिन्न । इच्छाकामना गाप– ६, कालिखोला वरपरको क्षेत्र निकै खतरायुक्त छ ।

दिनहुँजसो पहिरो जाने र रातको यात्रा झन् बढी खतरनाक भएपछि हाल रात्रीयात्रा रोकेर दिउँसो मात्र चलाउन थालिएको छ । राती यात्रा गर्नु, पैदल हिंड्नु, छेउमा बस्नु, पानी परेको समयमा यात्रा गर्नु जोखिमपूर्ण हुने ट्राफिक प्रहरीको दाबी छ । लगातार यातायात अवरुद्ध हुँदा देशभरिका दैनिक ८ हजार सवारी साधन र यात्रुहरूलाई समस्या त परेकै छ चितवनको आर्थिक क्षेत्रमा ठूलो समस्या सृजना भएको छ । कुखुरापालन र त्यससँग सम्बन्धी कारोबार, बिरामी ओसार–पसार, पर्यटन व्यवसाय, केरा व्यापार, माछा व्यवसाय सबैतिर नकारात्मक प्रभाव परेको छ । वैकल्पिक मार्ग प्रयोग गर्दा यात्रुलाई थप समय र आर्थिक भार परेको छ । दुई वर्षअघि गएको भूकम्प र तेर्सो कटान नगरेर सिधा (ठाडो पारेर जगसमेत कटान गरेको धेरै पहिरो गएको विज्ञहरूको दावी छ ।

मंगलबार पनि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध नै छ । बाटो खुल्ने र बन्द हुने प्रक्रियामा लुकामारी खुलजस्तै भएको छ । गत वर्ष मंसिर २ गते सर्वपक्षीय बैठकमा भएका निर्णयहरू निर्माण कम्पनीहरूले लागू नगर्दा मुख्य समस्या भएको दावी चितवनका प्रजिअ नारायणप्रसाद भट्टको छ । गत मंसिर २ गते खाल्डा पुर्ने, धुलो उड्न नदिन पानी हाल्ने, तीनओटै सडक खण्डमा एकएकओटा निगरानी र उद्धार औजार टोली (¥यापिट रेस्पान्स टिम) राख्ने, पहिरो गएको स्थान निक्र्योल गर्न मोटरसाइकल टोली खटाउने, तिनै खण्डमा बिग्रेका साधन तान्ने वाहन तयारी हालतमा राख्ने सहमति भएका थिए । यी सहमति बेवास्ता गरेका कारण धनजनको धेरै क्षति भएको र यात्रुलाई सास्ती भएको चितवन प्रजिअको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :