जनस्वास्थ्यकर्मी महासङ्घले गर्यो ५ सय ३० जनाको निःशुल्क उपचार


काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले कोरोना सङ्क्रमणको भयावह अवस्थामा पनि जनताका बस्तीहरूमा गएर पाँच सय तीसजनाको निःशुल्क स्वास्थ्य उपचार गरेको जनाएको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले चितवन मेडिकल कलेजका डाक्टरहरु र अन्य स्वास्थ्यकमीहरुको सहभागितामा निःशुल्क घुम्ती स्वास्थ्य सेवा दिएको विषयमा विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘विश्वका हरेक विकसित, विकासउन्मुख र गरिबीको चपेटामा परेका देशहरू विभिन्न रूप र स्तरमा विश्व–महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएका छन् । यही सङ्कटका क्रममा थुप्रै दलाल, भ्रष्टाचारी, कालोबजारी, तस्करी र बिचौलिया बढेको हामी सबैले महसुस गरिरहेका छौँ । ठूला, शक्तिशाली, कोरोना लक्षित भनिने दलालको कर्पोरेट र ढोंगी अस्पतालमा बिरामीले सेवा हैन, तिरस्कार र अमानवीय व्यवहार भोगिरहेका छन् भने सञ्चालकहरूले दिनदाहडै भ्रष्टाचार गर्ने मात्र हैन, कोरोना बिरामीका लागि खरिद गरी ल्याइएका सामग्रीसमेत चोरेर आफ्नो घरमा लगेका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’

उनले अगाडि भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा हाम्रो महान् तथा गौरवशाली सङ्गठन जनताको घरघर, टोलटोलमा गएर कोरोनाविषयक सचेतना कार्यक्रमका साथै चितवन मेडिकल कलेजका डाक्टरहरु र अन्य स्वास्थ्यकमीहरुको सहभागितामा र गाउँमा भएका विभिन्न राजनीतिक दल, युवा क्लब, समूह अभियन्ता, सुरक्षाकर्मी र समाजका अग्रज बुद्धिजीवीसँग हातेमालो र सहकार्य गरी शिवराज नगरपालिका वडा नं. ९ शिवगढी कपिलवस्तुका भोकरमा (५० जना – १ दिन), भगवानपुर (१०० जना – १ दिन), रमाध (१८० जना – १ दिन) र तुरुन्तपुर सहिद स्मृति प्रतिष्ठान (२०० जना – २ दिन) गरी कुल ५३० जना – ५ दिन गरिब बिरामी जनतालाई छालासम्बन्धी एलर्जी, दीर्घ रोगहरू, उच्च रक्तचाप, चिनीरोग, पेटसम्बन्धी ग्यास्ट्राइटिस, पेट दुख्ने, झाडापखाला, महिलासम्बन्धी रोगहरू, रुघाखोकी, ज्वरो, हातखुट्टा पोल्ने, झमझमाउने, जिउ दुख्नेजस्ता रोगहरूको निःशुल्क औषधिसहित उपचार गरेका छौँ । युवा, बालबालिका र वृद्धाहरूलाई निःशुल्क सर्जिकल मास्क वितरण गरेका छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘राज्य अहिले पनि हाम्रो सङ्गठनका होनहार सहकर्मीहरूलाई गिरफ्तार गर्ने, धरपकड गर्ने, झूठा मुद्दा लगाउनेजस्ता निकै घृणित कार्यमा लागिपरेको छ, यो निकै निन्दनीय छ । यस किसिमको तुच्छ र घटिया हर्कतलाई बन्द गरी देशका सम्पूर्ण स्वास्थ्यकर्मी, युवा, बुद्धिजीवीसँग सहकार्य गरी यस कोरोना महामारीलाई रोक्नमा दत्तचित्त भई सहकार्य गर्न अनुरोध गर्दछौँ साथै राज्यको अनावश्यक दमन र धरपकडको विरोध गर्न पनि हरेक तह र तप्काका बुद्धिजीवी, सामाजिक अभियन्ता र राष्ट्रसेवक सुरक्षाकर्मी र कर्मचारी युवा र आम जनतालाई अपिल गर्दछौँ । निःशुल्क स्वास्थ्य सहयोग कार्यक्रममा सहभागी भई सहयोग गर्नुभएका डाक्टर तथा स्वास्थ्यकर्मी साथीहरु औषधि र औषधिजन्य सामाग्री सहयोग गर्नुहुने व्यक्ति र संघ संस्थाहरु युवा तथा बुद्धिजीवी साथीहरुलाई संगठन स–सम्मान धन्यवाद व्यक्त गर्दछ । भोलिका दिनमा पनि हाम्रो सङ्गठन गरिब जनताको स्वास्थ्यका निम्ति अहोरात्र खट्ने प्रतिबद्धतासहित सङ्गठनका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूलाई जनताको सेवामा खट्न निर्देशन गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :