कीर्तिपुरमा विद्यार्थी कुटिए, नगरप्रमुखविरुद्ध प्रतिरोधमा उत्रिने अखिल क्रान्तिकारीको चेतावनी


काठमाडौँ : नगरप्रमुखको योजनामा काठमाडौँ, कीर्तिपुरमा विद्यार्थी कुटिएको भन्दै अखिल (क्रान्तिकारी) ले घटनाको विरोध गरेको छ । कीर्तिपुर नगरपालिकाले विद्यार्थीलाई राहत नदिने सूचना पनि निकालेको र विद्यार्थीले नै सङ्कलन गरेको राहत वितरण गर्न पनि नदिएको भन्दै अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सोमबार विज्ञप्ति जारी गर्दै नगरप्रमुखकै योजनामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हेमराज थापा, ललीजङ्ग रावललगायत विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले दोषीलाई कारबाही नगरिए प्रतिरोधमा उत्रिन विद्यार्थीलाई अपिल पनि गरेका छन् ।

‘काठमाडौँको कीर्तिपुर नगरपाललिकाले विद्यार्थीलाई राहत वितरण गर्न नसक्ने भन्दै सूचना जारी गरेको थियो । उक्त नगरपालिकाले विद्यार्थीलाई राहत वितरण नगरेपछि त्रिभुवन विश्वविद्यालयका केही विद्यार्थीको पहलमा त्यस नपाभित्र डेरामा बस्ने विद्यार्थीलाई राहत वितरण भइरहेकोमा नगरप्रमुखकै षड्यन्त्रमा राहत वितरणकार्य रोक्न गुन्डा र प्रहरी दुवैलाई परिचालन गरी त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हेमराज थापा, ललीजङ्ग रावललगायतमाथि सडकमै निर्घात कुटपिट गरी घाइते बनाइएको छ । नगरप्रमुखको यसप्रकारको निच, घटिया एवम् घृणास्पद कार्यकोे हाम्रो सङ्गठन घोर निन्दा गर्दछ र दोषीलाई कारबाहीको माग गर्दछ । साथै नगरप्रमुखको यस्तो घृणित एवम् गुन्डागर्दी रबैयाको प्रतिरोध गर्न हामी सबै विद्यार्थीलाई अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

संयोजक विकले सङ्कटमा विद्यार्थीको अभिभावक बन्नुपर्ने बेला सत्ता र शक्तिको दुरुपयोग गरी विद्यार्थीलाई कुटपिट गर्न लगाउने नगरप्रमुखमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । उनले लकडाउनको मारमा परेका विद्यार्थीलाई राहत उपलब्ध गराउन पनि माग गरेका छन् । ‘सङ्कटको यस घडीमा सबैका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला सत्ता र शक्तिको दुरुपयोग गरी विद्यार्थीलाई कुटपिट गर्ने–गराउने कीर्तिपुर नगरपालिकाका प्रमुखमाथि छानबिन गरी कडा कारबाही गर्न हाम्रो सङ्गठन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ । साथै लकडाउनको मारमा परेका पीडित विद्यार्थीलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :