जन्मथलो त्याग्नुपर्ने बाध्यता भोगेकाहरूको पुनर्मिलनको कथा

कोरोना डायरी

कोरोना कहरले फेरिएको छ दैनिकी ।


कोरोना नलाग्दै सहर छाडेर गाउँमा रमाउन आएको । बालापन फर्किएको अनुभूति हुनै लाग्दा एकाएक कोरोनाले गाँज्यो संसारलाई । देशलाई पनि लपेट्यो । देशलाई कोरोनाले गाँज्नुभन्दा अघिदेखि नै शासकहरू पूर्वतयारीमै चुर्लुम्म डुबे भ्रष्टाचारमा । कोरोना कहर सुरु भएपछि यता लकडाउन घोषणा गरिदिए, उता भ्रष्टाचारको योजना सफल पारे । जनतालाई कहरमाथि त्रास, आतङ्क थपिदिए, बस् । यस्तो बेलामा दैनिकी पनि कोरोना र सत्ता दुवैबाट प्रभावित हुने नै भयो । तैपनि आफूलाई समाल्दै सामान्य हुने प्रयत्न गरिरहेको छु तर दैनिकी भने फेरिएको छ । घर, कोठा, कम्प्युटर, सामान्य भेटघाट, प्रभाती यात्रा, कोरोनाविरुद्ध जागरुकता यस्तैयस्तैमा बितिरहेका छन् दिनहरू ।

‘बा, आज उमाले खाना खान यतै बोलाएकी छिन्’, भतिज ऋषिले भने । हुनत म उनको काका हुँ तर उनी मलाई बा नै भन्छन् अलि बढी नै आदर गरेर ।

ऋषिको र मेरो घर सँगै छ, मेरो पूर्वपट्टि, उनको पश्चिमपट्टि ।
‘धन्यवाद बाबु । केही विशेष छ कि भान्सामा ?’, मैले जिज्ञासा राखेँ उनीसँग । उसो त उनी साकाहारी हुन्, म साकाहारी होइन ।
‘हरिले हिजो गैराथोकबाट सिस्नु ल्याएको रहेछ । च्याङ्ख्ला, गहत र सिस्नु खाने कार्यक्रम छ’, उनले पूरै योजना सुनाए । म फुरुङ्ग भएँ र दङ्ग पनि परेँ । बर्सौंपछि भान्सामा सिस्नु भेटिएको खुसी, त्यसमाथि मकैको च्याँख्ला र गहत पनि । के चाहियो र ! हरि अर्थात् ऋषिका भाइ । मेरा ठूलाबाका माइली श्रीमतीपट्टिका माइला छोराका कान्छा छोरा । ऋषि जेठा, हरि कान्छा । स्थानीय विद्यालयका कर्मचारी हुन् हरि । साह्रै सरल । साह्रै मिजासिला छन् । माइला दाजु एकपाखे हुनुहुन्छ । माइली भाउजू लवकुमारी र मेरा बाबा कवि हितप्रसाद उपाध्याय एकै वर्ष बित्नुभएको २०३९ सालमा । जेठमा सुत्केरी अवस्थामै माइली भाउजूले प्राण छोड्नुभयो, चैतमा मेरा बाबाले सामान्य ज्वरो र निमोनियाले । त्यतिबेला निमोनियालाई दोख भनिँदो रहेछ क्यार ! आमा घरमा नभएको बेलामा बाबालाई ज्वरो आएछ । भान्सेले ज्वरो आएको बेलामा आलो तामाको तरकारी बेस्मारी खुवाइदिएको रे ! देख्नेजान्नेहरूले सुनाएका थिए । जे होस्, त्यसपछि हामी पनि एक पाखे नै भएका थियौँ । आमाले हामीलाई हुर्काउनुभएको हो बिरालाले बच्चा च्यापेजस्तै कहिले कहाँ र कहिले कहाँ पुर्याएर र बनीबुतो गरेर !

अँ त, हरिले खसी खोज्न जाँदा गैराथोकबाट सिस्नु टिप्न लगाएर ल्याएका रहेछन् । ऋषिको घरमै बन्यो सबैलाई भान्सा । उमाले पस्किइन् । उमा अर्थात् ऋषिकी जीवनसाथी । हरि, हरिकी जीवनसँगिनी सानु, माइला दाजु र ऋषिको परिवार सबैको एकै ठाउँमा भान्सा भयो । कोरोना त्रासका कारण सामाजिक दूरी कम र भौतिक दूरी अलि टाढा कायम गर्दै अलि परपर बसेर बेस्मारी खाइयो । ‘प्रणामी धर्म लिएकाले सिस्नु खानु हुँदैन रे’ भनेर माइला दाजु र ऋषिले घरभित्र भान्सामा र हामी सबैले बाहिरै बसेर भोज गर्यौँ । नातीहरू गणेश, कुमार र नातिनीबुहारीहरू सरिता, निर्जला अनि नातिनी यशोदा सबै सँगै रमायौँ । पनातिनीहरू कञ्चन, सरगम अनि पनाती गिरीश पनि रमाए ।

दिन पनि कस्ताकस्ता आए, आए । पहिला घरमा धानचामल नहुनेहरूले च्याँख्ला खान्थे, खानैपथ्र्यो । अरू विकल्प थिएन । पाहुना र घरको मूलीलाई चामलको र अरूलाई च्याँख्लाको भात पाक्थ्यो प्रायः घरमा । निर्धक्क चामलको भात खान कि त पुगिसरी आएका, साहूखलककाहरूले मात्र पाउँथे । अरू सबै परिवारका लागि दसैँ, तिहार र सराद्दे वा अरू चाडपर्व नै कुर्नुपथ्र्यो, त्यैपनि सबैको घरमा पाक्दैनथ्यो । अहिले त्यही च्याँख्ला चीज भएको छ गाउँघरमा पनि ।


अँ त, हिजोआज दैनिकी पनि पूरै फेरिएको छ । पहिला रहर र पछि बाध्यताले बसायो मलाई काठमाडौँ खाल्टोमा । २०४५ सालमा तत्कालीन मसालको सक्रिय कार्यकर्ता भएर काठमाडौँ खाल्टोमा छिरेको थिएँ म जनआन्दोलनको तयारीका लागि, भासिएको तराई परवानीपुरबाटै । पञ्चायतको कालरात्री थियो, आजको दलाल पुँजीवादी सत्ताजस्तै क्रूर ! जान त त्यसअघि पनि भूमिगत हुँदै विद्यार्थी र युवाका सम्मेलनहरूमा पुगेको थिएँ तर २०४५ सालपछि भने मलाई काठमाडौँले छाडेन वा मैले काठमाडौँलाई छोड्न सकिनँ, आक्कलझुक्कल र कामविशेषले बाहेक घर पुगेर आनन्दसँग बस्ने समय कहिल्यै आएन । मनपरे पनि काठमाडौँ, मन नपरे पनि काठमाडौँ । त्यसैले दूधकटुवा बच्चाझैँ म पनि जन्मथलोको मायाकटुवा बनेँ, बनाइएँ ।

हुनत निम्नमध्यम र मध्यमवर्गीयहरूका लागि काठमाडौँ स्वप्नसंसारका साथै एउटा फेसन नै भएको छ र बाध्यता पनि ।
पढ्न कहाँ जाने ?
काठमाडौँ ।
काम खोज्न कहाँ जाने ?
काठमाडौँ ।
सिक्न कहाँ जाने ?
काठमाडौँ ।
छोराछोरी कहाँ पठाउने ?
काठमाडौँमा ।
अलिअलि पैसा कमाएर के गर्ने ?
काठमाडौँमा घडेरी किन्ने र घर बनाउने ।

फलानाको त काठमाडौँमा घडेरी र घर छ रे भनेपछि उसको सान नै बेग्लै । काठमाडौँमा छोराछोरी नपठाउनु, काम गर्न नजानु, घडेरी नकिन्नु वा घर नबनाउनु भनेको अपराध गर्नु, सानो हुनु वा बेइज्जती सहनुजस्तै थियो । बिस्तारबिस्तार हाम्रो पनि सपनाको संसार बन्यो काठमाडौँ । त्यहीँ बसेर केही काम गरियो, दुःखसुख स्नातक र स्नातकोत्तर गरियो र विद्यावारिधि (पीएचडी) को अध्ययन अघि बढाइयो । केही दर्जन पुस्तकको लेखन, सम्पादन र प्रकाशन गरियो । मान्छेहरू चिनियो काठमाडौँमै बसेर । विचार, दर्शन, राजनीति, पारिवारिक संरचना, उल्झन… सबैथोकको राजधानी काठमाडौँ नै बन्यो ।

वास्तवमा व्यवस्था र सरकारको केन्द्रमुखी, नेतृत्वमुखी, राजधानीकेन्द्रित राजनीति, संस्कृति, अर्थनीति र अदूरदर्शिताको परिणाम थियो काठमाडौँ । विद्वान्, श्रमजीवीदेखि लफङ्गा, चोर, लुटेरा सबै अटाएको काठमाडौँले मलाई पनि हिँड्न दिएन । कहिले वैचारिक–बौद्धिकको र कहिले कपटी र ठगहरूको सङ्गत गर्दै गुजारेछु मैले पनि तीन दशकभन्दा लामो समय काठमाडौँमा । अहिले सम्झिँदा पनि कहाली लाग्छ– कसरी बिताएँ हुँला हँ मैले यति लामो समय त्यस्तो उकुसमुकुसमा ? त्यस्तो तानातान र अविश्वसनीय सहरमा ? तर मेरो बाध्यता थियो । किशोरावस्था नटेक्दै बाबालाई गुमाउनु । बाबापछि जिम्मेवारी लिनुपर्नेबाट धोका र गद्दारी सहनु । आमाको सहारामा बनीबुतो गर्दै पालिनु, हजार कहर काट्नु र स्वाभाविक रूपमा वैकल्पिक जीवनको खोजी गर्दागर्दै राजनीतिमा धकेलिनु अनि सम्भावनाको खोजी गर्दै र भौँतारिँदै हिँड्नु । त्यसैको परिणाम थियो काठमाडौँ यात्रा र बसाइ ।

तर म काठमाडौँ पस्दा काठमाडौँ उपत्यका नै यति उकुसमुकुसपूर्ण थिएन । जनआन्दोलन २०४६ मा सक्रिय कार्यकर्ता भएर हिँड्दा काठमाडौँका असन, इन्द्रचोक र टेबहालसम्म साइकल कुदाउँदै पुग्थेँ म भूमिगत पर्चाहरूको पोको लुकाएर बोक्दै । अहिले साइकल होइन, शरीर मात्र छिराउन पनि मुस्किल छ । २०४६ सालको आन्दोलनपछि आएको एक थान प्रजातन्त्रले पनि मानिसलाई गाउँघरमा केही दिएन । एउटा वर्गलाई मात्र सम्पन्न बनायो, श्रमिक–सर्वहाराका लागि आकाशका जूनघामजस्तै बन्यो समानता र प्रजातन्त्र । सपना मात्रै देखायो, हात लाग्यो शून्य । पूरै देश रित्तिने गरी सम्भावना खोजी गर्दै सहर छिर्यो र सहरलाई हेर्दाहेर्दै सिमेन्टको जङ्गल बनाइदियो । सिमेन्टको जङ्गलले जमिनलाई मात्र होइन, मानवीय संवेदना र हृदयलाई पनि पत्थरझैँ कठोर बनाइदियो ।

सिंहदरबारको उत्तरतर्फ धोबीखोलाको किनारतिर बस्थेँ म । बिहान ५ बजे नै उठेर पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा स्नातक तह अध्ययन गर्नका लागि हिँड्थेँ । आज अनामनगर भनिने त्यस ठाउँबाट बबरमहल निस्किने कुनै बाटाहरू थिएनन् । ढिस्काढिस्की, खाल्टाखुल्टी, कतैकतै ससाना गोरेटा । अनेकथरी काँडाहरूका बुट्टा र सिस्नुका झाङ मात्र । बस्ती पनि खासै थिएन, औँलामा गन्न सकिने । ठाउँको नाउँ नै नभएर अनामनगर नाउँ राखिएको रहेछ भर्खरै । अनामनगरबाट बबरमहल निस्किँदासम्म पाँचसात ठाउँमा स्यालसँग कुस्ताकुस्ती परिसक्थ्यो । एक–दुईवटा स्याल भेटेको बेलामा म स्याललाई लखेट्थेँ । स्यालको हूल नै भेटिएको अवस्थामा स्यालले मलाई लखेट्थे । बबरमहल निस्किएपछि बल्ल लामो सास फेर्थें र माइतीघर हुँदै बागमती पुल तरी कुपन्डोल निस्किएर ६ बज्दानबज्दै संयुक्त क्याम्पस छिर्थें पैदलै ।
फेरि बहकिन पो थालेँछु म त । कहाँ कोरोना कहर, जन्मथलोको प्रभाती यात्राको कुरा, कहाँ नामै नभएको, त्यतिबेलाको स्यालबस्ती अनामनगरको कुरा !

हो, पूरै फेरिएको छ दैनिकी मेरो । तीन दशकपछि जन्मथलो फर्किंदा दुःखी पराईघरको कष्टपूर्ण जीवनबाट छुट्कारा पाएर तीजमा माइत आएकी चेलीभन्दा खुसी भएको छु म मेरो जन्मथलोमा । नयाँघरे माइलो गाउँ फर्कियो रे भनेर कयौँ दाइ, दिदी, काकाकाकी, भाइभतिजहरू खुसी भएका छन् । ‘साँच्चै अब गाउँमै बस्ने हो त माइला देवर ?’, छाँगे विष्णुहरि दाइका साइँला छोरा नेत्र दाइकी श्रीमती अर्थात् साइँली भाउजूले पाँचपटकभन्दा बढी सोधिसक्नुभयो घरमै आएर । ‘दिन बिराएर मही पार्छु । यसो मकैभटमास, मही, मुलाको साग खान आउनु न’, साइँली भाउजूले यसो भन्दा मुटु फुट्लाजस्तो भएर खुसी छचल्किन्छ । साइँली भाउजू मेरी आमालाई सम्झिनासाथ रुन थाल्नुहुन्छ । भन्नुहुन्छ, ‘मेरी कर्मआमा थिइन् नयाँघरे कजिनीआमै । चौध वर्ष पनि नपुगी पराईघरलाई आफ्नो घर ठानेर आएकी थिएँ म । जाँतो पिँध्न सघाइदिन्थिन्, ढिकी कुट्न पालो दिन्थिन् । घाँसको भारी पु¥याइदिन्थिन् । मौरीको रानुजस्ती थिइन् गाउँकै । राम्रा मान्छेलाई दैवले पनि छिट्टै बोलाउँदो रहेछ…’, साइँली भाउजुू सुँक्कसुँक्क गरेर रुन थालेपछि मलाई पनि के हुन्छ, हुन्छ । उहाँको अनुहारमा हेर्न सक्तिनँ, भावुक हुन्छु । मेरा पनि आँखा रसाइहाल्छन् । भन्छु– ‘नरुवाउने भए मात्रै आउँछु नि भाउजू…।’ बहिनीहरू इन्दिरा र मीरा आएको बेलामा त भाउजूको हातले भुटेका मकैभटमास र भाउजूले पारेको मही नखाई चित्तै बुझ्दैन, गइहाल्छौँ । म एक्लै हुँदा भने डर लागिरहन्छ, कतै आमालाई सम्झिएर भाउजुू फेरि रोइदिनुभयो भने ? भो म रुन जान्नँ भनेर घरनजिकै खारखोलासम्म पुगेर पनि कत्तिपल्ट फर्किएको छु ।

केही दिनअघि मात्रै भतिज हरिकी दुलही, बुहारी सानुले भनिन्– ‘माइला बा, तपाईं कोदाको ढिँडो मनपराउने मान्छे । घरमै गुन्द्रुक छ । बारीका मसिना रातागेडा (टमाटर) टिपेर अचार बनाउँछु । दाल र दूध पनि भएपछि ढिँडो रमाउँछ, आउनू खान ।’ उनले मायाले निम्ता गरेपछि तानिएँ म उतै । स्वाद मानीमानी पेटै चर्किने गरी थालभरि कोदाको ढिँडो खायौँ भतिज ऋषि र मैले ।

सानु भतिज ऋषिकी भाइ हरिकी श्रीमती हुन् । आँखामा राखे पनि नबिझाउने छिन् । दिउँसो चिया खाने बेला भयो भने हामी नपुग्दा पनि चिया पाकिसकेको हुन्छ उनको घरमा हाम्रा लागि । माइलो दाजु गुन्जबहादुर अर्थात् भतिजहरू ऋषि र हरिका बुबा पनि चिया समय भएपछि हामीतिरै हेरिरहनुभएको हुन्छ सँगै चिया खान । झन् हिजोआज त भतिज माधव पनि थपिएका छन् । कोरोना लकडाउनकै प्रतिफल हो यो पनि नत्र उनी अस्ति नै भिमान फर्किइसकेका हुन्थे नाती सिजनलाई लिएर । किनकि सिजनकी आमा सङ्गीता (भारती) एक्लै घर धानिरहेकी छिन् भिमानमा । मन अमिलो बनाएर बसेको छ यो परिवार कोरोनाका कारण छिन्नभिन्न भएर ।

काठमाडौँ र अन्यत्रबाट साथीहरू फोन गरेर सोध्छन्– कसरी अडिएको छस् है तँ गाउँमा ? अमेरिकाको स्थायी बासिन्दा बनिसकेको अत्यन्तै मिलनसार साथी सन्तोष थपलियादेखि क्यानाडा निवासी भेना हरि सिवाकोटीसम्म म गाउँमा रमाएको देख्दा अवाक् भएको पाउँछु– ‘सहर बस्ता पनि जमेकै थिइस्, गाउँमा पनि उत्तिकै रमाएको छस् त, के हो रहस्य ?’

यसको रहस्य शब्दमा अभिव्यक्त गर्न सकिनेखालका छैनन् प्रियजन ! म यो उमेरमा आएर हृदयदेखि नै अनुभूत गरिरहेको छु जन्मथलो र ग्रामीणपनलाई । म मेरा प्रियजनहरूलाई मलाई लोभ्याउने गाउँको माया कसरी वर्णन गर्न सक्छु शब्दको माध्यमबाट ! यही गाउँमा त छ मैले सधैँ सपनामा देख्ने गरेको नयाँ घर जहाँ म प्रायः दिन बिराएर पुग्ने गर्छु । बाजे चन्द्रलालले बज्यै पदमकुमारीको उकुसमुकुस, क्लान्त र उद्वेलित हृदय शान्त पार्नका लागि बनाइदिएको त्यतिबेलाको ताजमहल थियो नयाँ घर । ढुङ्गेपानी डम्फेबारीमा लगातार छोरी षोडरत्न र छोरा विष्णुकुमारले पालैपालो चुआको फूलको रूख र झ्यालबाट लडेर ज्यान गुमाएपछि बज्यै पदमकुमारीले बाजे चन्द्रलालसँग ‘म अब यहाँ बस्दिनँ’ भनेर जिद्दी गर्नुभएछ । धेरै जिद्दी गरेपछि चन्द्रलालले पदमकुमारीलाई नयाँ घर बनाएर राखिदिनुभएको रहेछ । २२ वटा झ्यालढोका भएको त्यो घर यस भेगकै कहिलएको घर रहेछ । हुन पनि नयाँ घरबाट देखिन्छन् पूर्वबाट दक्षिण हुँदै पश्चिम र उत्तरतिर क्रमशः ठूलीमदौ हुँदै गैराथोक, सालु, सुनारपानी, मचबारी, भालुखोप, हिलेपानी, रामेछापडाँडा, भँगेरी, ल्याङल्याङ, हुलाकीडाँडामाथिको भित्तो, इन्चिनडाँडा, महादेवस्थान, बाबियाखर्क, मच्छेडाँडी, रनजोर खोला, मन्थलीबजार, कुँडहर, भलुवाजोर, कुनौरी, मुगीटार, रजगाउँ (राजागाउँ), सान्नेको उकालो, पकरबास, बडिमुहान हुँदै फुस्रोमाटा, सिरवानीडाँडा, सालुके, काफ्लेटार–लाहुरेबारी हुँदै देवीथान, मन्डरे, सल्ट्यार, मझुवा, ठूलीभीर, गबेबारी, पल्लाकालापानी र नागथान खोलाको माथिल्लो भाग । यही रमणीय भूभागको सुन्दर भविष्य देखेरै त बनाएका थिए चन्द्रलालले नयाँ घर । चन्द्रलालले त्यो घर बनाएपछि नै हामी नयाँघरे कहलिएका रहेछौँ । नौ भाइ छोरा र ५ बहिनी छोरीमध्ये चन्द्रलाल–पदमकुमारीका अधिकांश सन्तान यही घरमा जन्मिएका थिए र चन्द्रलालका कान्छा छोरा कवि हितप्रसाद उपाध्यायको जन्म पनि यसै घरमा भएको थियो । कवि हितप्रसादले जूनमाया सुवेदीलाई २०११ सालमा यही घरमा भित्र्याउनुभएको थियो भने निःसन्तान निधन भएकी पहिली पत्नी वदनकुमारीको शोकमा हितप्रसादले चन्द्रवदन काव्य यही घरमा लेख्नुभएको थियो । हामी पनि यही घरमा जन्मिएका थियौँ र हाम्रो बालापन पनि यही घर र यहीँको रमणीय वातावरणमा बितेको थियो । कवि हितप्रसाद उपाध्यायको निधन २०३९ सालमा यही घरमा भएको थियो । चन्द्रलालले यहाँ नयाँ घर बनाएर पदमकुमारीको चित्त शान्त पारेको झन्डै एक सय साठी वर्ष पुरानु कुरा हो । हो, २०४५ सालको भूकम्पले जराजीर्ण बनाएको त्यही घरलाई हामीले ११–१२ वर्षअघि पुनर्निर्माण गर्ने घोषणा गरेका थियौँ र ममतामयी आमाको हातबाट शिलान्यास पनि गराएका थियौँ एउटा परम्परागत कार्यक्रमकै बीचमा । त्यही जगमा अहिले हित–जून युद्ध–कला सङ्ग्रहालय २ नाम दिएर उस्तै बान्कीको नयाँ घर निर्माण भइरहेको छ । यो मेरो स्वप्नमहल हो । यहीँ पाएको छु मैले बालापनको ‘पुनर्जन्म’ । म पुनर्जन्म मान्दिनँ तर मेरो खोसिएको बालापन आधा शताब्दीपछि फर्किएको अनुभूत गरिरहेको छु ।


टिरिङटिरिङ घन्टी बज्यो । मोबाइल हेरेको पौने पाँच भइसकेको रहेछ । भतिज ऋषिको मिसकल थियो । ऋषि अर्थात् मेरो माइला दाजुको जेठो छोरो, भतिज ऋषि । उमेरले मभन्दा एक वर्ष जेठो । ३५ वर्षजति भारतका विभिन्न स्थानमा काम गरेर आएका भतिज ऋषि र तीन दशक काठमाडौँ बसेर गाउँ फर्किएको काका म । हामी दुई खुब मिल्छौँ हिजोआज । सानामा स्कुल जाँदाका दिनहरू सम्झन्छौँ र गफिन्छौँ हामी । ‘म आफूभन्दा सानो मान्छेलाई किन काका भन्छु ? काका हुन त मभन्दा ठूलो हुनुपर्छ’, स्कुलबाट घर फर्किंदा बाटामा यसो भन्दै पिट्थे उनी मलाई । म सम्झाउने प्रयत्न गर्थें– ‘तेरा बा र म दाजुभाइ भएपछि उमेरले सानो भए पनि म तेरो काका भइनँ त ? तैँले मलाई काका नै भन्नुपर्छ ।’ तर पनि उनको बालचेतना र मेरो बालचेतना टक्कराउँथे र म प्रायः उनको कुटाइ खाइरहन्थेँ । घरको कमजोर आर्थिक अवस्थाले उनलाई घरमा बस्न दिएन । तीन कक्षा पढ्दापढ्दै उनी ११ वर्ष पनि नपुग्दै मुग्लान भासिए । केही कमाए । केही जोडे । घर फर्किए । घर फर्किएको पनि दशक पुग्न लागिसकेको छ । अहिले श्रीमती, दुई छोरा, दुई बुहारी, तीन नातीनातिना, एक छोरीसहित राम्रोसँग जीवन निर्वाह गरिरहेका छन् ।

अँ त फोनको घन्टी बजेको कुरा गर्दै थिएँ । यो मिसकल मर्निङवाकका लागि उनले दिएको सूचना हो मलाई । हामी पाँच बजे हिँडिसक्छौँ घरबाट मर्निङ्वाक । माथिमाथिसम्म पुग्छौँ एकएकवटा लट्ठी टेकेर । साथमा हुन्छन् मिली, जुली, जङ्गे र गोले नामका कुकुरहरू । छोड्दैनन् हामीलाई बिहानदेखि बेलुकासम्म । लाग्छ, मान्छेभन्दा बढी नै इमानदार छ कुकुर । मानिस कोहीसँग सम्बन्ध राख्नुअघि नाफाघाटा हेर्छ तर यी मिली, जुली, जङ्गे र गोलेलाई कुनै नाफाघाटासँग सरोकार छैन । केही पाकेको समयमा घरमा आए भने र भान्सामा बचेको समय पर्यो भने केही दियो नत्र चूप बस्छन् तर हामी कतै हिँड्ने बेलामा भने पछ्याइहाल्छन् । हामीले स्थायी रूपमा पालेका कुकुर होइनन् यी । जङ्गे एकलचौर इन्द्र चापागाईंको घरबाट फुत्किएर बेसी झरेको हो । यो कहिलेकहीँ मात्र हुन्छ हामीसँग । ठाडोबाटो, कुइनेटा हुँदै तित्रीबोटे कटेपछि ठूल्चौरबाट उकालो लाग्न मान्दैन यो । टापु कट्नासाथ एकल्चौरबाट इन्द्रको परिवारले देख्ला र समातेर बाँध्ला भनेर पिसाब फेर्ने बहाना बनाएर त्यतै कतै लुकिदिन्छ । मिली–जुली आमाछोरी हुन् भाइ पूर्णको घरमा जन्मिएका र हुर्किएका तर हाम्रोतिर पनि आइपुग्छन् मूल बाटोबाट तल्तिर झरेर । जङ्गे यिनै मिलीजुली आमाछोरीलाई भेट्न आइपुग्छ गाउँबाट बेसीसम्म । लाग्छ, आमाछोरी नै प्रेमिका बनेका छन् यसका । ठूलो टाउको भएको र झ्याप्ले रौँले छोपिएको जङ्गे देख्दै डरलाग्दो छ । गोले भने सालुतिरबाट आएर जनक र पदमप्रसादको घर हुँदै ऋषिको घरमा बस्न थालेको धेरै वर्ष भइसकेको छ । बूढो पनि हुन थालिसकेछ अब त । बर्सेनि रौँ फेरिइन्छन्, कहिले रातोरातो देखिन्छ, कहिले कालो र कहिले रातो–खैरो मिश्रित । भोटे कुकुरजस्तो अग्लो, कालो, लामो जिउडालको भलाद्मीखालको छ गोले । ‘कुखुरा पाल्दा मरेका चल्ला दिने गरेको थिएँ । त्यही गुनले कतै जाँदैन । मेरो कोठाबाहिर सुत्छ । म उठ्नासाथ उठ्छ र पछ्याइहाल्छ’, ऋषि गोलेको बयान गर्छन्, ‘ठूलो खानदानको कुकुर हो गोले । चित्त नबुझ्ने खाना खाँदैन बरु पाँचसात दिनसम्म भोकै बस्छ ।’ कुनै समयमा घरमा पालिएका यी कुकुर अब छाडाजस्तै भएकाले हाम्रो मर्निङवाकका साथी बनेका छन् । पुग्छन् माथिमाथिसम्म, हाम्रो साथसाथमा । कहिलेकहीँ पाउने हुन् सिकार । यी तीनचार महिनामा एउटा खरायो र एउटा दुम्सीको सिकार गरे क्यार ! मानिसका लागि सिकार बन्द भएकाले गाउँमा मयुर, मिर्ग, खरायो, कालिजहरू धेरै बढेका छन् । आक्कलझुक्कल मात्र भेट्छन् यिनीहरूले यस्तो मौका ।

कोरोनात्रास अघिसम्म लोकहरि भतिज, प्रमिला नातिनीका दम्पती, कोइराला ज्वाइँ र दाहालजीसमेत हाम्रो ठूलै टोली जमिसकेको थियो मर्निङवाकका लागि । मर्निङवाक जाँदा आज कुन बाटो कहाँसम्म पुग्ने भन्ने हामी खारखोलामा पुगेर मात्र तय गर्छौं । एउटा गन्तव्य छ– नयाँ घर–दोबाटोसम्मको । यो गन्तव्य पुग्न अघि बढ्दा बाटोमा आउँछन् खारखोलो, ठाडोबाटो, कुइनेटो, तित्रीबोट, ठूल्चौर, टापु, बिसौना, एकल्चौर, डाँडाआहाल, ढाँडचौर, ढिकाडाँडा, नयाँ घर र दोबाटो ।

फुस्रामाटा गन्तव्य हुँदा ठूल्चौरबाट टापुतिर नलागेर ढुङ्गेपानीतिर देब्रेतर्फ लाग्नुपर्छ खारखोलो तरेर । तेर्सै पूर्व रालटारतिर गन्तव्य बनाउँदा खारखोलो तरेपछि उपल्टार, कमेरेखोला, बिरालीटार– फुटबल ग्राउन्ड, कालापानी खोलो–घट्टेपानी, सापमारे, नागथान खोलो हुँदै ठूलीमदौको पुछार भएर अघि बढ्नुपर्छ । नयाँ घर–दोबाटो जाने अर्को बाटो पनि छ खारखोलो तरेर उपल्टार, कमेरे खोलो, फुटबल ग्राउन्ड, मैनडाँडा, सालचौर, डाँडाआहाल, ढाँडचौर, पल्लाबारी, नयाँ घर, आहालेबारी, बुढोथाकी टोल हुँदै । सिर्जनानगर माझाटारबाट सुरु हुने हाम्रो मर्निङवाक विभिन्न स्थान हुँदै कुइनेटो वा उपल्टार हुँदै फेरि माझाटार सिर्जनागरको एक फन्को पूरा हुन्छ डेढ घन्टासम्ममा । ढाँडचौर पुग्दा ६ बज्न थाल्छ ।

कोरोना कहरपछि मर्निङवाकमा अरू सबै साथीहरू सुस्ताएका छन् र थपिएका छन् भतिज माधव र उनका नाती सिजन । माधव मेरा आठमध्येका एक ठूलो बुबा जयप्रसादकी माइली पत्नीका जेठा छोरा कृष्णबहादुरकी जेठी श्रीमतीपट्टिका एक मात्र छोरा हुन् । उनी पनि ऋषि र मजस्तै झन्डै पचास वर्षपछि जन्मथलो फर्किएका हुन् । लामो समयसम्म भारतका विभिन्न सहरमा काम गरेर सिन्धुली भिमानमा बसोबास गरिरहेका भतिज माधव मभन्दा आठ वर्ष जेठा हुन् । असल छन् । आफ्नो जन्मथलोको माया मार्न नसकेर उनी पनि डोहोरिएका छन् यतै । घर बनाएका छन् । श्रीमती उर्मिलालाई पनि यतै ल्याएका छन् र एउटा पसल खोलेका छन् बजारमा भर्खरै । पसल उद्घाटन गरेको एक साता पनि नपुग्दै कोरोनाको महामारी फैलिएर लकडाउन भएपछि उनको परिवार तीनतिर छरिएको छ– छोरा बब्लु भारतको दिल्लीमा, बुहारी सिन्धुलीमा र तीनजना यहाँ । कोरोनाले धेरै नकारात्मक काम गरे पनि हामी घर छोड्न बाध्य भएर लामो समयपछि फर्किएका तीनजनाको जोडी भने राम्रैसँग जुराइदिएको छ । मानिसहरूले ईष्र्या गर्नेसम्मको दौँतरी मिलेको छ हाम्रो । उनले आफूसँग नाती सिजनलाई पनि ल्याएका छन् । कोरोना लकडाउनले गर्दा बाबा र आमासँग टाढा बस्नुपरे पनि उनी हाम्रो यात्राका बालसखा भएका छन् ।

मर्निङवाकमा उकालो चढेर सीधै ढाँडचौर पुग्दा वा दोबाटो, नयाँ घर घुमेर झर्दा कान्छो दाजु रामबहादुर र कान्छी भाउजू राधा उठेर घरधन्दा सुरु गरिसक्नुभएको हुन्छ । लकडाउनले गर्दा जेठी बुहारी लक्ष्मी पनि यतै छिन् । हामीसँग कुकुर पनि साथमै छन् भने दूध दुहुँदा भैँसी तर्सिन्छ भनेर दाजु पहिला नै खबर गर्न भन्नुहुन्छ । कुकुर साथमा छन् भने उहाँ हामी पुग्नुभन्दा पहिला नै दूध दुहिसक्नुहुन्छ । भाउजूले तताएर राखेको पानी पिएपछि हामी सँगै बसेर बुहारी लक्ष्मीले बनाएको चिया पिउँछौँ र यस दिनको प्रभाती यात्रा सकिएको घोषणा गर्दै सालचौर वा कमेरेखोला–चैते–उपल्टार हुँदै बेसी झर्छौं ।

साथमा कुकुर छैनन् भने हामी पुगेपछि सुरु हुन्छ कान्छो दाजुको घरको दैनिकी । ग्रामीण जीवन, मेहनत र पौरखका पर्याय हुनुहुन्छ कान्छो दाजु–कान्छी भाउजू । पाखुराकै भरमा दुई छोरा र चार छोरी हुर्काउनुभयो । छोराहरू तीर्थ र टेकले पढाइमा पनि अब्बल स्थान हासिल गरेका छन् । कोरोना कहरका कारण लकडाउन भएपछि भतिजहरू तीर्थ, टेक र बुहारी सरु काठमाडौँमै थुनिएका छन् । ढाँडचौरमा दाजु–भाउजू अनि नाती मौलिक र नातिनी मञ्जिलासँगै बसेर चिया पिउँदै र खेल्दै गरेका तस्बिरहरू हेरेर उनीहरू प्रफुल्लित भएको पाउँछु म ।

क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :