चिन्ता र पीडाभित्र आक्रोश जम्मा पार्दै बितेका पलहरू

कोरोनाविरुद्ध लकडाउन डायरी

कोरोना सङ्क्रमण बढेपछि देश लकडाउन भयो । व्यक्ति क्वारेनटाइन छिरे । मेरो दैनिकी कोठाभित्र सधैँभन्दा फरक तरिकाले सुरु भयो ।

वसन्तऋतुमा लहलहाउन थालेका हरियालीलाई पनि चैते खडेरीले पछ्याइरहेको छ । नयाँ वर्षको आगमनमा मुस्कुराउन थालेका लालीगुराँसका थुङ्गाहरू पनि खुसीविहीनजस्ता देखिएका होलान् । छङ्छङ आफ्नै सुरमा गीत गाउँदै उर्लिरहने झरनाहरू पनि थकाइ लागेजसरी झर्दैछन् होला । सुइँसुइँ चलिरहने हावा पनि रोकिँदै चलेजस्तो लाक्छ किन–किन यो समय उराठलाग्दो छ न नयाँ वर्षको उमङ्गले छुन्छ, न त मीठोमसिनो खाऊँजस्तो लाग्छ ।

यसैबीच चैतेदसैँ आयो । आफन्त र साथीहरूको शुभकामना आइरहेको छ । शुभकामना फर्काउन पनि मन लागेको छैन । देश लकडाउन भएको आज चौध दिन भयो । कोठाका चार पर्खालभित्र कैद भएको पनि चौध दिन भयो । सुरुको दिनभन्दा दोस्रो, तेस्रो दिन हुँदै आजको दिनसम्म आउँदा अलि सहजजस्तो लागिरहेको छ । सहज नमानेर पनि के गर्नु ! विश्वमा हैकम जमाउँदै कोरोना भाइरस (कोभिड १९) कुदिरहेको छ । रोकिने कुनै सङ्केत छैन । मानवजीवन धरापमा छ । मानौँ कुनै हिंस्रक जन्तु अदृश्य बनेर बाटोमा कुदिरहेको छ र हामी सबै ज्यान जोगाउन कोठामा लुकिरहेका छौँजस्तो लाग्छ ।

देशविदेशमा रहेका नेपाली र घरभन्दा टाढा रहेका आफन्तहरूको सम्झनाले मुटु छियाछिया भएजस्तो हुन्छ । बेलाबेला आँखा रसाउने गर्छ । मुटु मिचेर बस्नुको कुनै विकल्प छैन । लकडाउनका दिनहरूमा मेरा साना साथीहरू छोराछोरीसँग रमाउँदै कहिले भाँडाकुटी खेल्छु, कहिले लुकामारी खेल्छु, कहिले साहित्यिक कार्यक्रम गर्छु, कहिले कलात्मक कार्य गर्न सिकाउँछु । उनीहरूले यो खाने र ऊ खाने भनी मागहरू राख्छन् । सकेको पूरा गर्छु, नसकेको पछि कोरोनाको महामारी सकिएपछि खाउँला भनेर सम्झाउँछु । एकैछिन म यताउता अरू काममा लाग्दा केके कुरामा झगडा गर्छन् दुई दिदीभाइ– ममी, मलाई दिदीले यसो गरी, ममी भाइले यसो भन्यो । मानौँ उनीहरूकी न्यायाधीश मै हुँ भनेजसरी मुद्दा लिएर मकहाँ आइरहन्छन् । कसको कस्तो गल्ती छ, त्यहीअनुसार फैसला दिनुपर्छ । तलमाथि परे फेरि रिट दायर गरिहाल्छन् । आमा हुनुको आनन्द यही होला सायद, एक्लो महसुस हुन दिँदैनन् ।

बच्चाहरूसँग चौबीसै घन्टा कोठामा सँगै बसेको पहिलो र नयाँ अनुभव पनि भैरहेको छ । बच्चाहरूसँग आफूलाई उनीहरूकै क्रियाकलापमा सहभागी गराउँदा आफ्नो बाल्यकाल र आफ्ना प्रिय मान्छे, जीवनको पहिलो माया सिकाउने, हात समाएर हिँड्न लगाउने, मुखको गाँस झिकेर खाना खुवाउने, आफू नाङ्गो रहेर पनि सन्तानको जिउ ढाक्ने आमाबाबाको सम्झना भइरहेको छ । व्यस्त र आधुनिक जीवनशैलीले हामीलाई विगत बिर्साइरहेको रहेछ । यो क्वारेन्टाइन बसाइले विगत फर्काएको महसुस गरेँ मैले । हाम्रो विगत र आजका बच्चाहरूको जीवनस्तर तुलना गर्दा धेरै गुना फरक छ तर बालमनोविज्ञान र परिवेश फरक भए पनि सिकाइ उस्तै हुन्छ । सुरुको दिनदेखि नै समयतालिका बनाएकी छु । तालिकाअनुसार यो कहालीलागदो समयलाई सहज बनाउने प्रयत्न गरिरहेकी छु । फेसबुकमा साथीहरू र आफन्तले अपलोड गरेका फोटाहरू हेर्दा पनि स्नेहभाव आफैँ छचल्किने गर्छ । सायद समयको जटिलताले होला ।

विश्व कोरोना महामारीको महासङ्कटमा छ । मानौँ कोभिड १९ अन्धो छ । कसैलाई छोड्दैन । आत्मसचेतनाबाहेक उपचार छैन । दिनमा कयौँ हजारको सङ्ख्यामा मान्छे मरिरहेका छन् । यो सामान्य विषय पनि त होइन । यो कुनै युद्ध होइन तर युद्धभन्दा कम छैन । गोलाबारुदको युद्ध भए सबै मिलेर परास्त गरिन्थ्यो होला । गोलाबारुद नपड्किए पनि लडाइँ भयावह छ । मानवजीवनको रक्षामा खटेका डाक्टरहरू ब्याटलमा लडिरहेका छन् । मृत्युले कसलाई कति बेला टिपेर लाने हो, थाहा छैन ।

विश्वलाई आज प्रविधिले एक ठाउँमा कैद गरेको छ । एक ठाउँमा बसेर विश्व नियाल्न सकिन्छ । लासका चाङहरू हामी हेरिरहेका छौँ । मृत्युसँग लड्दै गरेका बिरामीहरूको करुणादायी दृश्य देखिरहेका छौँ । उपचारमा खटिएका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरू ढल्दै गरेको देख्दा मन थाम्नै गारो हुन्छ । कोभिड १९ सहिद भनेर सलाम गर्न मन लाग्छ । भारतका गल्लीमा नेपाल पुर्याइदेऊ भन्दै हिँडेर अलपत्र परेकाहरूको दृश्य र सिमानामा हूल बाँधेर हिँडेका नेपालीहरू, मानाैँ उनीहरू देशको माटो टेकेर प्राण त्याग गर्ने मात्र उद्देश्य बोकेजसरी हिँडिरहेका छन् आफ्नो देश पुग्ने सपना बोकेर । यो समय साह्रै दर्दनाक बनिरहेको छ । युवक लोकेन्द्र बोहोरालगायत युवाहरू मडारिँदै बगेको महाकालीमा हामफाले र आफ्नो माटो चुमे । कति प्रिय हुन्छ देशको माया सङ्कटको बेलामा थाहा हुँदो रहेछ । जीवनको होस् वा देशको माया उस्तै हुँदो रहेछ । सोच्दासोच्दै मन घाइते हुन्छ । जुरुक्क उठेर पर्दा खोलेर बाहिरी संसार नियाल्ने प्रयत्न गर्छु । दिउँसोको तीन बजेको थियो होला । यति सुनसान सडक मैले कहिल्यै देखेकी थिइनँ । देशमा जनयुद्ध चलिरहँदा सरकारले लगाएको सङ्कटकालको बेला पनि मान्छे यति धेरै त्रसित भएनन् होला !

आफ्नै साथीभाइ र आफन्तलाई देखेर पनि भाग्नुपर्ने, मनको ढुकढुकी बढ्नुपर्ने ! म आफैँलाइ प्रश्न गर्छु– हैन के हो हो ? जबाफ पनि मुसुक्क हाँसेर दिन्छु– यो महासङ्कट हो । अरू बेलाजस्तो झ्यालबाट हेर्दा न कोही बोल्यो, न त कसैले हेर्यो । सबै ढोका बन्द गरेर भित्र बसेका छन् । भँगेरी चरीहरू एक्लो महसुस गरेर होला चिरबिर गर्दै वल्लो डाली र पाल्लो डाली गर्दै थिए । फेरि ढोका तानेर भित्र फर्किएँ र आफ्नै दैनिकी सुरु गरेँ ।

लकडाउनको पहिलो दिनमै समयतालिका बनाएकी छु । डायरी पल्टाएर हेरेँ–। यो समय पढ्ने–लेख्ने समय रहेछ । छोराछोरीका लागि विषयवस्तु छुट्ट्याएँ र म पनि लेख्न बसेँ । केही त लेखेँ तर खासै ध्यान केन्द्रित भएन । केही नयाँ समाचार आयो कि भनेर मोबाइलतिर हात लगेँ र मोबाइल खोलेर हेर्न थालेँ । फेरि नेपाल–भारत सिमानाको धार्चुलामा सयौँ नेपालीहरू नाराबाजी गर्दै आफ्नो जनता फिर्ता ले, सीमानाका छिर्न दे भन्दै सुक्दै गएको स्वरमा चिच्याइरहेका थिए । फेरि मानवीय संवेदना उर्लेर आयो । कठै नेपाली ! नेपाली हुनुको पीडा । आफ्नै नागरिकलाई किन यस्तो शासन ? देशभरि बनाएको भनिएका क्वारेन्टाइन कहाँ छन् ? त्यहाँ पुर्याएर लियर व्यवस्थापन गर्नुपर्छ नि । आपत् पर्दा आफ्नो देश नआएर कहाँ जालान् बाध्यताले बिदेसिएका नागरिकहरू ! उनीहरुको यो बिजोग ? मलाई लाग्यो– हाम्रो देशको सरकार कहाँ छ होला ? के गर्दै छ होला ? अहोरात्र खट्नुपर्ने होइन र ? साँच्चै कोरोना फैलिए सरकारले थेग्न सक्छ यस्तो कमजोर तयारीले ? एक छिन एक्लै गुनगुनाएँ । मोबाइल अफ गरेर आफूलाई शान्त पार्ने कोसिस गरेँ । अहँ, मन बहकिइरह्यो ।

लकडाउनको चौध दिन भैसक्यो दिनभर काम गरेर छाक टार्ने मजदुरको स्थिति कस्तो होला ? सरकारले घरघरमा रासन पु¥याउँछु भन्थ्यो, पाए कि पाएनन् होला ? कोरोनाको त्रासमा लकडाउन भएको देशमा खाना नपाएर र बिरामीहरू उपचार नपाएर मर्ने पो हुन् कि ? यस्तै सोच्दै थिएँ म । बाबुले ममी, फेरि अब हात धोऔँ भन्यो । हुन्छ छोरा साबुन लगाएर मिचिमिची धोऊ हस् ! बीस सेकेन्डसम्म । बच्चालाई पनि हात धुने बानी बस्न थालिसकेछ । दिदीलाई पनि हात धुन आऊ भन्दै थियो । हात धुनुमा ऊ गर्व गरिरहेको थियो किनकि कोरोनालाई जित्ने भनेको हात धुनु हो भनेको सुनिरहेको छ उसले । छोरी ममी मेरो यो हेरदिनु न भन्दै कापी लिएर आई । के बनायौ छोरी मैले सोधेँ । हेर्नु न भनी उसले । धारामा एउटा बच्चाले साबुनपानीले हात धुँदै गरेको चित्र बनाएकी रहिछे । ठीक छ छोरी, समयसान्दर्भिक छ भनेँ । छोरी खुसीले गदगद भई । बाबुलाई तिमीले के बनायौ नि, खै लेऊ त भनेँ । दगुर्दै आयो र कापी दियो । साबुनको चित्र बनाएको रहेछ । ऊ लाजले घोप्टो परिरहेको थियो । मेरो भएन कि जस्तो लागेर होला । राम्रो छ बाबु भनेको, खुसीले एउटा खुट्टा उचालेर नाच्यो । मैले सोधेँ– साबुनको चित्र किन बनाएको बाबु ? हात धोइरहनु पर्छ त्यसैले भन्ने जबाफ दियो । कोरोनाविरुद्धको सचेतना १० दिनमा विकास भएकै रहेछ भन्ने लाग्यो । दुजैजना धन्यवाद पाएपछि खुसीले फुरुङ्ग हुँदै कापी लिएर गए ।

दैनिकीहरू चलिरहेका छन् । मेरो मनमा फेरि गन्थन सुरु भयो । अझै कति दिन देश लकडाउनमा रहने हो ? देशमा निजी अस्पतालहरूले बिरामीको उपचार नगरेरै बिरामी फर्काइदिएका छन् । सरकारले खरिद गरेको सामानमा पनि घोटाला भएको समाचार बाहिरिएको छ । यो संवेदनशील घडीमा पनि मानवजीवनमाथि खेलबाड गर्ने व्यक्ति मात्र अपराधी हो कि यो सिङ्गो व्यवस्था ? व्यवस्था नै यसको कारक तत्व हो । राज्यव्यवस्था नै यस्तो भएपछि कसको आस गर्ने जनताले ? हुन त यो नौलो घटना होइन । २०७२ सालको महाभूकम्पमा पनि त्रिपाल बेचेर खाएकै हुन् । त्यो बेलाको पीडा पनि कम्ती थिएन । विदेशी सहयोगमा हारालुछ गरे । अझैसम्म भूकम्पपीडितको सही व्यवस्थापन भएको छैन । यो मानव सङ्कट पनि भँजाइखाने अवसर बन्न सक्दो रहेछ ! सिहदरबारदेखि गाउँसम्म यो खेल चल्न सक्छ । जति सक्यो जनता आफैँ सचेत हुनुको विकल्प छैन । आफैँ सचेत भएनौँ भने नेपालमा पनि अन्य देशजस्तै कोरोनाले भयावह स्थिति पैदा हुन्सक्छ, विकराल रूप लिनसक्छ ।

ढकढक ढोकाको आवाज आयो । म झसङ्ग भएँ यस्तो बेलामा को आयो होला भनेर । यसो बाहिरतिर हेरेँ । छिमेकी बहिनी हुनुहुँदोरहेछ । के काम पर्यो बहिनी भनेर सोधेँ । केही होइन, भित्र बस्दाबस्दा दिक्क लागेर एकछिन गफ गराैँ भनेर आएकी दिदी भन्दै मुसुक्क मुस्कुराउनुभयो ! मन त मलाई पनि थियो सँगै बसेर भलाकुसारी गर्ने तर समय निष्ठुरी बनेर आएको छ । मनहरूलाई मार्दै भए पनि आफूलाई अनुशासनमा राख्नैपर्छ । ‘बहिनी, समय यस्तो छ । देश लकडाउनमा छ । कोरोनाको अहिलेसम्म कुनै औषधी छैन । विश्व नै महामारीसँग जुधिरहेको छ । हामी एकदुईजनाले गरेको गल्तीले धेरैले दुःख पाउनुपर्छ । त्यसैले माफ गर्नुहोला बहिनी, पछि भेटौँला ! अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किनू । अरूलाई पनि भन्नुहोला । साबुनपानीले पटकपटक हात धुनुहोला । बाँचेपछि दिनैभरि सँगै बसौँला’ भनेँ । दुवैलाई कस्तोकस्तो लाग्यो । बाहिर हाँसेरै हुन्छ दिदी भनेर बिस्तारै खुट्टा सार्दै फेरि भेटौँला भनेर फर्किंदै, हेर्दै जानुभयो । मैले पनि हेरिरहेँ ।

कोरोनाको सचेतनाबारे कुरा गर्ने बानी लागिसकेको छ । आफन्तसँग फोनमा कुरा गर्दा पनि कोरोनाविरुद्ध लड्नू है भन्ने सल्लाह आदानप्रदान हुन्छ । कसैले ढोग गर्दा पनि कोरोनालाई जित्नू, साबुनपानीले पटकपटक हात धुनू भनेर आशीर्वाद र शुभकामना दिनुपर्ने अवस्था आयो । के यस्तो सङ्कट आइलाग्यो– मनमनै गुनगुनाएँ ।

२४ चैत, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :