भारततर्फ अलपत्र परेका नेपालीको जीवनरक्षा गर, आस्थाका आधारमा गिरफ्तार गर्न बन्द गर : भण्डारी


काठमाडौँ : जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कोरोना भाइरसको प्रकोप बढ्दै गएको अवस्थामा भारतबाट नेपालतर्फ फर्किरहेका नेपाली नागरिक नेपाल–भारत सीमाको भारततर्फका विभिन्न स्थानमा अलपत्र परेकोमा अभियानको ध्यानाकर्षण भएको भन्दै तत्काल नेपाली नागरिकको जीवनरक्षा गर्न माग गरेका छन् । उनले देशमा कोरोना प्रकोप बढिरहेको अवस्थामा पनि सरकारले आस्थाका आधारमा नागरिकहरूलाई गिरफ्तार गरेर न्यूनतम् नागरिक अधिकारको समेत खिल्ली उडाएको भन्दै गिरफ्तारी रोक्न र गिरफ्तार गरिएका नागरिकलाई यथाशीघ्र रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।

भण्डारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जनअधिकार अभियान नेपाल मानवअधिकारको संरक्षण, संवद्र्धन र यसको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर रूपमा क्रियाशील रहिआएको तथ्य सर्वविदितै छ । केही समययता कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वभरका मानवजाति र सम्पूर्ण राष्ट्रहरूले विशेष परिस्थीति र सङ्कटको सामना गर्नुपरेको छ । यसै सन्दर्भमा नेपाल र नेपाली जनताले समेत उक्त परिस्थितिको सामना गर्नुपरिरहेको अवस्था छ । यो विशेष समयमा नेपालभित्र रहेका र नेपालबाहिर रहेका नेपाली नागरिक तथा जनताको स्वास्थ्यलाई ध्यान दिँदै सम्पूर्ण जनताको मानवअधिकारको संरक्षण गर्नुपर्ने कुरा अति आवश्यक रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विदेशमा रहेका सम्पूर्ण नेपाली, विशेषगरी भारतमा रहेका नेपाली नागरिकहरू आफ्नो देशमा फर्किनका लागि नेपाल प्रवेश गर्ने क्रम बढेको छ । यस क्रममा बाँके जिल्लाअन्तर्गत रहेको भारत–नेपाल सीमाबाट नेपाल प्रवेश गरेका नेपाली जनताहरूले खुला आकाशमुनि कयौँ रात बिताइरहेको र दार्चुलास्थित सीमानाका नजिकै रहेको भारतीय भूमि धार्चुलामा नेपाल प्रवेश गर्न नपाएर अलपत्र परेका नेपाली जनताको कष्टकर अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । साथै एकातिर यस्तो अवस्था छ भने अर्कोतिर यस्तो सङ्कटको अवस्थामा समेत राजनीतिक आस्था र विचारका आधारमा थुप्रै नेपाली जनतालाई बिनाआधार र कारण पक्राउ गरिएको र न्यूनतम् मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लङ्घन भइरहेको समाचारप्रति पनि जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भण्डारीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस सन्दर्भमा जनअधिकार अभियान नेपाल सम्पूर्ण मानवजातिको सुस्वास्थ्यको कामना एवम् वैयक्तिक स्वतन्त्रताको सम्मान गर्दै खुला आकाशमुनि बसिरहेका नेपाली जनतालाई स्वास्थ्य एवम् आवासको हकको प्रत्याभूति दिलाउन र सिमानामा आफ्नो देशमा प्रवेश गर्न नपाई अलपत्रमा परेका जनताले संविधानको धारा ४५ को मर्म र भावनाअनुरूप नेपाल प्रवेश गर्न पाउनुपर्नेजस्ता मानवअधिकारको संरक्षण तथा तिनको व्यवस्थापनका लागि नेपाल सरकार तथा सम्पूर्ण सङ्घसंस्था, नागरिक समाजलगायत सम्बन्धित सम्पूर्ण पक्षसँग अपिल गर्दछ । साथै राजनीतिक आस्थाका आधारमा कुनै पनि मानिसलाई पक्राउ नगर्न, मानवोचित व्यवहार गर्न, संविधानप्रदत्त हकको संरक्षण गर्न, कानुनको शासन पालना गरी मानवअधिकारको पूर्ण प्रत्याभूति गर्न नेपाल सरकार एवम् सम्बन्धित सबै पक्षसँग आग्रहसमेत गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :