स्वास्थ्य चौकीमा निःशुल्क मास्क र साबुन हस्तान्तरण


काठमाडौँ : रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडामा रहेको बिहानी जागरण युवा क्लबले कोरोनाको पूर्वसतर्कताका लागि स्वास्थ्य चौकीमा निःशुल्क मास्क र हात धुने साबुन हस्तान्तरण गरेको छ । क्लबले हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई न्यूनीकरण गर्न रुन्टीगढी गापाअन्तर्गतका स्वास्थ्य चौकी डुब्रिङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ५०–५० वटा मास्क र ५–५ वटा हात धुने साबुन हस्तान्तरण गरेको हो ।

क्लबले दुईवटा हेल्थपोस्टसहित रुन्टीगढी गाउँपालिका ६ न. वडा (साबिक डुब्रिङ ३ नम्बर) का वडाबासीलाई घरघरमा पुगी ७५० वटा मास्क र ११० वटा हात धुने साबुन हस्तान्तरण गरेको जानकारी क्लबका अध्यक्ष केशरबहादुर रावतले दिए । यो राष्ट्रिय सङ्कटको घडीमा पनि गाउँमै सहज रूपमा मास्क उत्पादन गरी साबिक ३ न. वडा तथा स्वास्थ्य चौकी डुब्रिङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा मास्क र हात धुने साबुन हस्तान्तरण गरिएको क्लबका सचिव दीपक बुढाले बताए ।

स्वास्थ्य चौकी डुब्रिङका प्रमुख पूर्णबहादुर बुढाले मास्क र साबुन ग्रहण गर्दै क्लबले अत्यन्तै राम्रो काम सुरुआत गरेकोमा खुसी व्यक्त गरी धन्यवाद प्रकट गरेका थिए ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका इन्चार्ज बुद्धिजीवी सेजुवालले सहयोग सामान ग्रहण गर्दै यस्तो विपत्तिको बेलामा स्थानीय सरकारले गर्नुपर्ने काम क्लबले गरेको भन्दै यो काम अनुकरणीय भएको बताए । क्लबले आगामी दिनमा पनि यस्ता काम गर्दै जाओस् भन्दै उनले क्लबका सम्पूर्ण सदस्यलाई धन्यवाद पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :