मोहन बैद्यले भने ‘कोरोना नियन्त्रणमा सरकार गैरजिम्मेवार बन्यो’

‘अग्रमोर्चामा लड्ने स्वास्थ्यकर्मीको जीवन बीमा गराेस’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन बैद्य ‘किरण’ले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणमा सरकार गैरजिम्मेवार बनेको बताएका छन् । महासचिव किरणले एक वक्तव्य जारी गरी सरकार देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भए झै गरी सुतुर्मुर्गले जस्तो टाउको लुकाएर बसेको उल्लेख गरेका छन् ।

किरणले कोरोना भाइरस संक्रमितहरुको पहिचान गर्न, लकडाउनसँगै स्वरोजगार तथा दैनिक ज्यालादारी मजदुर, गरिब, सुकुम्बासी तथा न्युन आय भएका जनताहरुमा राहतको व्यवस्था गर्न, स्वास्थ्य उपचारमा संलग्न डाक्टर, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै जनस्तरबाट सरकालाई दबाब दिन आवश्यक भएको भन्दै किरणले सरकार जिम्मेवार नबन्ने हो भने कोरोनाजन्य महामारी र त्यसले पैदागरेका समस्या अरु भयावह बन्दै देश उम्किनै नसक्ने सङ्कटमा फस्ने कुरा निश्चित रहेकोले सरकारमाथि दबाब सृष्टि गर्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

यस्तै किरणले विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्नुपर्ने कुरामा जोड दिदै सङ्क्रमित भएकाहरु सबैको पहिचान भएपछि तिनलाई क्वारेन्टाइनमा राखी लकडाउन खुकुलो पार्न सकिने बताएका छन् । साथै किरणले उपचारको अग्रमोर्चामा लड्ने डक्टरहरु, नर्सहरु र अन्य सबै कर्मचारीहरुको जीवन बीमा गरिदिनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तै महामारीले पैदागरेको कठिन स्थिति सहज नहुँदासम्म विभिन्न उद्योग तथा व्यावसायमा कामगर्ने मजदुरहरु, स्वरोजगारीबाट जीवन निर्वाह गर्ने श्रमिकहरु र आम गरीब तथा अशक्त जनताका आधारभूत आवश्यकता पुरा गर्नका लागि सरकारले आर्थिक प्याकेज बनाई त्यसलाई तुरन्त कार्यान्वयनमा लैजानु पर्ने धारणा ब्यक्त गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव किरणको विज्ञप्तिमा भनिएको छ ‘सरकारले खाद्यान्न, ग्यास, पानी, दुध, तरकारी जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको आपुर्तिको जिम्मेवारी लिनु पर्दछ । घरघरमा खाद्यान्न पुर्याउने नाममा महङ्गी बढाउने र कालोबजारी गर्ने निजी स्टोरहरुलाई सख्त कार्वाही गर्नु पर्दछ । सरकारले लाठी लगाएर लकडाउन सफल भएको देखाउने तिर होइन कि जनताका न्युनतम आधारभुत आवश्यकता पुरा गरेर लकडाउनको कष्टपूर्ण जीवनलाई सहज बनाउन विशेष जोड दिनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :