अखिल (क्रान्तिकारी) ले आरम्भ गर्यो कोरोनाविरुद्ध सहयोग अभियान

असहाय र बालबालिकालाई मास्क, साबुन, ह्यान्डवास, सेनिटाइजर, फलफूल र नगद वितरण


काठमाडौँ : विश्वभर फैलिरहेको कोरोना भाइरससम्बन्धी जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा धनगढीमा रहेको असहाय, बालबालिका र महिलाहरू बस्ने दृष्टि फाउन्डेसनमा मास्क, डिटोल साबुन, ह्यान्डवास, सेनिटाइजरका साथै फलफूल र नगद २,१५० सहयोगस्वरूप प्रदान गरेको छ ।

उक्त कार्यक्रममा सङ्गठनका सेती–महाकाली संयोजक वीरेन्द्र शाह, सङ्गठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल, अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष सुवास जोशीलगायत जिल्लाका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा दृष्टि फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले आफूहरू राज्यका विभिन्न निकायमा सहयोगका लागि गुहार माग्दा राज्यको कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरिन् । उनले विद्यार्थी सङ्गठनले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा उक्त रोगको रोकथामका लागि मास्क, साबुन र सेनेटाइजर वितरण गरेर आफ्नो घाउमा मलम लगाएको भन्दै धन्यवाद दिएकी थिइन् । उनले सबै सहभागी विद्यार्थी नेताहरूलाई दृष्टि फाउन्डेसनले निर्माण गरेको ब्याच मायाको चिनो स्वरूप प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सङ्गठनका तर्फबाट सेती–महाकाली संयोजक वीरेन्द्र शाह र केन्द्रीय सदस्य बबरजङ्ग सिंहले आफ्नो सङ्गठन सदैव दृष्टि फाउन्डेसनको साथमा रहने र सक्ने सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :