गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष चन्द गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का माइला दाजु जयन्द्र बहादुर चन्द सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार ललितपुरको जावलाखेलबाट गिरफ्तार गरिएको पारिवारीक श्रोतले जनाएको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चन्दलाई खेलकुदको बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको पारिवारीक श्रोतले बताएको छ । उनीसँगै महासंघका महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको बताईएको छ । पारिवारीक श्रोतले दिएको जानकारी अनुसार लामो समयदेखी प्रेसर छातीको समस्या लगायतका बिरामीले पिडित चन्द नियमित औषधी सेवन गरेर घरमा आराम गरिरहेका थिए । बिरामी अवस्थामा रहेका र खेलकुद क्षेत्रमा मात्र सक्रिय रहेका र खासै अन्य राजनीतिक गतिविधी नगर्ने चन्दलाई गिरफ्तार गर्नुको कारण थाहा नभएको र भेटघाट गर्न समेत नदिएको उनका आफन्तले जनाएका छन् । यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्तो सम्मानित क्षेत्रमा योगदान दिइरहेको एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेकोमा घोर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । उनले यो पक्राउ विरुद्ध सम्पूर्ण खेलजगतलाई  रिहाईका लागि जोडदार आवाज उठाउन आग्रह समेत गरेका छन् ।

यसअघि बिप्लवका जेठा दाजु एवं पार्टी केन्द्रिय सदस्य, चन्द्रबहादुर चन्द ‘विरजंग’लाई गत असोजमा दाङबाट गिरफ्तार गरेको थियो । उनलाई अहिले प्रहरी कस्टडिमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :