सांस्कृतिक प्रतिरोध दिवस र प्रतिरोध संस्कृति

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस हो । सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फासिवादी सत्तासँग निर्भयपूर्वक लडेर बलिदान गरेको दिन हो सांस्कृतिक प्रतिरोध दिवस ।
जनयुद्धले जन्माएका वा स्थापना गरेका नयाँ पर्वहरूमा फागुन १ नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३१ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवस मुख्य छन् । यी सबै बलिदान र प्रतिरोधले निर्माण गरेका दिवसहरू हुन् । यी सबै निरन्तर क्रान्तिसँग सम्बन्धित दिवस हुन् । यी दिवस आत्मसमर्पणवादी, दलाल, गद्दार र कायरहरूले होइन, क्रान्तिकारीहरूले मनाउने जनपर्वहरू हुन् । एकीकृत जनक्रान्तिले इतिहासका सबै विद्रोह, आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरूलाई क्रान्तिको बाँकी कार्यभार र ऊर्जाका रूपमा ग्रहण र आत्मसात गरेकाले यी पर्वहरू एकीकृत जनक्रान्तिका पर्व र दिवसहरू हुन् ।
जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन आततायी सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले हत्या ग¥यो । हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका अनुचरहरूले कलाकार बसेको घरमा आगो लगाए । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । बाहिरबाट एमालेको आवरणमा प्रहरीहरूले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका अनुयायीहरूले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि कलाकारहरूले आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । दुस्मनको कब्जामा पर्नासाथ नसोधेको प्रश्नको पनि उत्तर दिँदै दुस्मनको पाउमा आत्मसमर्पण गर्नेहरूका गद्दारहरूका लागि यो प्रतिरोधको उदाहरण कथा वा किंवदन्ती मात्र बन्न सक्छ तर यो सत्य हो, इतिहासले निर्माण गरेको कटुसत्य । क्रान्तिकारी आन्दोलनको इतिहासमा यो सत्य मुटुका धड्कनहरूमा अमिट भएर बसेको छ ।
निःशस्त्र कलाकारहरूलाई प्रतिक्रियावादी शक्तिसँग लड्ने यो ऊर्जा महान् जनयुद्धले प्रदान गरेको थियो । जनयुद्धले उत्पीडित, श्रमिक, सर्वहारा वर्गलाई मुक्त गर्छ भन्ने अटल विश्वास थियो क्रान्तिकारी संस्कृतिकर्मीहरूमा । मालेमावाद नै मुक्तिको एक मात्र दर्शन, विचार, राजनीति र कला हो भन्नेमा विश्वस्त थिए योद्धाहरू । यही विश्वासले अनेकोटमा कलाकारहरूलाई सत्ताको बर्बर दमन, आगो र गोलीसँग लड्नसक्ने शक्ति प्रदान गरेको थियो । यही शक्तिले नै मस्त बिस्टदेखि इच्छुक, अन्जान विरही, पुष्पराज चौधरी, शारदा श्रेष्ठ, चुनु गुरुङ, शिव श्रेष्ठ, हर्षबहादुर मल्ल ‘प्रभात’, रोहित कोइराला, देवकुमार आचार्य ‘डी कौडिन्य’, कौशिला तमु, दिलमाया बम्जन, रक्तिमलगायत एक सय ६० भन्दा बढी जनताका कलाकार, स्रष्टा, संस्कृतिकर्मीहरूलाई सत्ताको हत्यासंस्कृतिका विरुद्ध लड्न, प्रतिरोध गर्न र बलिदान गर्ने जोस, जाँगर, विश्वास, शक्ति र ऊर्जा प्राप्त भएको थियो । यो ऊर्जाले देशभर क्रान्तिकारीहरूमा प्रतिरोधी रक्तसञ्चार उत्पन्न भएको थियो । त्यसैले त्यो प्रतिरोध दिवसका रूपमा स्थापित बन्न सफल भएको थियो । जनताका छोराछोरीहरूको त्याग र बलिदान नयाँ पर्वका रूपमा विकसित भएको थियो ।
संसारमै माक्र्सवादी संस्कृतिकर्मी÷स्रष्टाहरूले आततायी सत्ताका विरुद्ध प्रतिरोध सङ्घर्ष गरेको गौरवशाली इतिहास छ । स्पेनका क्रिस्टोफर कड्वेल, पन्जाबका कवि पाश, चेकोस्लाभियाका लेखक जुलियस फ्युचिक, सुब्बा कृष्णलाल अधिकारीदेखि इच्छुकसम्मका स्रष्टाहरूले तत्कालीन फासिवादी सत्ताका क्रूर यातना, दमनको प्रतिरोध गर्दै बलिदान दिएको गौरवशाली इतिहास हाम्रासामु साक्षी छ । यी उदाहरणहरू जनक्रान्तिका दस्ताबेज मात्र होइनन्, प्रेरक हुन्, पूरा गर्न बाँकी सपना र कार्यदिशा हुन् ।
महान् जनयुद्धका क्रममा संस्कृतिकर्मी÷स्रष्टाहरूले सामूहिक प्रतिरोध गर्दागर्दै बलिदानको कीर्तिमान कायम गरेको इतिहास हाम्रासामु छ । तिनै प्रतिरोधमध्ये अग्रस्थानमा पर्छ २०५५ साल चैत ५ गते काभ्रे अनेकोटमा भएको सातजना जनकलाकारको प्रतिरोध र बलिदान । २०५९ सालमा डोल्पाको माझफालमा, २०५६ सालमा अछामको डुंगलामा, २०६० सालमा विनायकमा, २०५६ सालमा रोल्पाको भाबाङमा र २०५८ सालमा गुम्चालमा, २०५६ सालमा कालीकोटको घोडेकोटमा संस्कृतिकर्मीहरूले तत्कालीन फासिवादी सत्तासँग नझुकी प्रतिरोध गर्दागर्दै सामूहिक रूपमा बलिदानलाई स्वीकार गरेका थिए । रामेछापको बेथानमा २०५३ सालमा दिलमाया बम्जनले र २०६० सालमा दोरम्बामा रक्तिमले पनि यसैगरी दुस्मनसँगको प्रतिरोधका क्रममा बलिदान दिएका थिए ।
भाबाङमा २०५६ साल असार ८ गते जलजला सांस्कृतिक परिवारका जनकलाकारहरू मङ्गलबहादुर बुढामगर, सुन्दर घर्तीमगर, दुर्गाबहादुर घर्तीमगर, दीपेन्द्र घर्तीमगर, शुकप्रसाद घर्तीमगर, लालबहादुर सार्की, कुमारी घर्तीमगर, गोविन्द घर्तीमगर र दिलकुमार बुढामगरले प्रतिरोध गर्दागर्दै बलिदान गरेका छन् । त्यसैगरी २०५६ सालमा डुङ्ला सामूहिक हत्याकाण्डमा गुम्बासिंह चलाउने, अम्मरबहादुर चलाउने, मदनबहादुर चलाउने, रामबहादुर चलाउने, टेके कामी, पदमबहादुर ढोली, ढाक्रे दमाई, भक्त बुढा र मानबहादुरले प्रतिरोधकै क्रममा बलिदान गरेका छन् । २०५६ सालमा कालीकोटको घोडेकोट हत्याकाण्डमा चुली सांस्कृतिक परिवारका मीनबहादुर बिस्टलगायत चारजना जनकलाकारले बलिदानको बाटो रोजेका छन् भने २०५७ साल साउनमा कालीकोटकै ओदानकुमा काञ्जिरोवा जनसांस्कृतिक परिवार जुम्लाका रमेश भट्टराई र तिलाकन्या खत्रीले प्रतिरोध गर्दागर्दै बलिदानलाई आत्मसात गरेका हुन् ।
२०५८ साल चैत ४ गते रोल्पाको गुमचाल हत्याकाण्डमा लिस्ने सांस्कृतिक परिवारका पार्वती परियार, बालसरी रोका, कृष्णे घर्तीमगर र दुर्गी बाँठामगरले बलिदानको बाटो रोजे । २०५९ साल भदौ ९ गते माझफाल हत्याकाण्डमा जुनी जनसांस्कृतिक परिवार जाजरकोटका जयन्ता घर्ती ‘रमा’, यामकुमारी खड्का ‘शिशिर’, नारायण शर्मा ‘संदिप्त’, सुनिल, नमुना, ललिता, प्रमोद र भिजनले सहादत प्राप्त गरे । २०६० साल मङ्सिर १८ गते अछामको विनायकमा नौरता चलाउने, नरबहादुर नेपाली, नेत्रबहादुर कठायत र प्रभुनाथ धिमालले प्रतिरोध गर्दागर्दै बलिदान गरे । बलिदानको शृङ्खला लामो छ, दस हजारभन्दा बढी । त्यस्तै बेपत्ताको शृङ्खला र घाइते–अपाङ्गताको शृङ्खला पनि लामो छ ।
यिनै प्रतिरोध र बलिदानको जगमा उभिएको छ नेकपाले सञ्चालन गरेको एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिकै क्रममा पनि ११ जना योद्धाहरूले बलिदानको बाटो रोजिसकेका छन् । माक्र्सवादी स्रष्टा एवम् चिन्तक सुदर्शन, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, नेत्रीहरू बन्धु चन्द, भृकुटीलगायत स्रष्टाहरू यतिबेला केपी वली–प्रचण्ड सरकारको जेल र हिरासतमा बन्दी जीवन बिताइरहेका छन् । सहिदका शव र रगतमा टेकेर आएका प्रचण्ड, बाबुराम र रामहादुर थापाहरू आलोपालो सत्ता सञ्चालन गरिरहेका छन् तर उनीहरूले यो गौरवशाली इतिहास भुलेर इतिहासप्रति मात्र होइन, वर्तमान र भविष्यप्रति पनि गद्दारी गरेका छन् । प्रतिरोध दिवस र प्रतिरोध संस्कृतिले नै सहिद–बेपत्ता योद्धाहरूको प्रतिरोध चेतना र सपनालाई साकार पार्नेछ । त्यसका लागि एक मात्र विकल्प हो एकीकृत जनक्रान्ति । आउनुहोस् प्रतिरोधी चेतनाका वाहकहरू, फेरि प्रतिरोध गर्नु नपर्ने गरी अन्तिमपटक लडौँ यो फासिवादी सत्तासँग ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :