नेपाली भूमि मिचेर बनाउन लागिएको पिलर निर्माणकार्य बन्द गर

कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म नेपाली भूमि मिचिने गरी भैरहेको सहायक सिमाना पिल्लर निर्माणकार्य रोक्न अखिल (क्रान्तिकारी) ले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले प्रेस विज्ञप्ति जारी गरी नेपाल–भारत संयुक्त सर्भे टोलीद्वारा कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म नेपाली भूमि मिचिने गरी सहायक सीमा पिल्लर निर्माणको प्रक्रिया अगाडि बढाएको भन्दै उक्त कार्य रोकी वैज्ञानिक नक्साङ्कनका साथै सिमानाका मुख्य जङ्गे पिलरका आधारमा अगाडि बढाउन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुरको बेल्डाडी गापा वडा नं. ०३ वैवाह क्षेत्रमा नेपाली भूमिमा ७८३ र ४ नम्बर सीमा पिल्लर गाडिएको छ जुन जमिनको लालपुर्जासमेत स्थानीय नेपाली बासिन्दाहरूको रहेको छ । यस्तो अतिक्रमणकारी गतिविधिमा नेपाली सर्भे टोलीसमेत सहभागी भएको घटनाले हाम्रो सङ्गठनलाई आक्रोशित तुल्याएको छ र उक्त कार्यको घोर भत्सर्ना गर्दछौँ ।’
देशको राष्ट्रिय स्वाधीनता र नेपाली भूमिको रक्षार्थ आफूहरू आवश्यक जस्तोसुकै सङ्घर्ष गर्न प्रतिबद्ध रहेको भन्दै उनले नेपाली भूमि मिचिने गरी भैरहेको सहायक सिमाना पिलर निर्माणकार्य रोक्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :