एकीकृत जनक्रान्तिको कार्यदिशा– २


कमरेडहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा स्पष्ट भएन वा रणनीति र कार्यनीतिको शृङ्खला स्पष्ट भएन भनेर तर्क गर्नुभएको छ उहाँहरूको तर्कको अन्तर्यमा प्रतिक्रियावादी सत्तामा हुने चुनावको प्रयोग के गर्ने ? सत्ताको विरोध गर्दा आइलाग्ने कतिपय आर्थिक फाइदाहरू, पदप्रतिष्ठाहरू के गर्ने भन्नेसँग जोडिएको पाइन्छ र त्यसको उपयोग वा बहिष्कार गर्ने कार्यनीति भएमा त्यो रणनीति र कार्यनीति पूर्ण हुन्छ भन्ने मनसाय पाइन्छ । यसप्रकारको नीतिको बढी माग गर्ने कतिपयको मनसाय कार्यनीतिका नाममा प्रतिक्रियावादी सत्तामा हुने चुनावको उपयोग र सरकारमा हिस्सेदारी गर्नु सही हुन्छ भन्ने पाइन्छ । यसप्रकारको कार्यनीतिलाई एकीकृत जनक्रान्तिले अवसरवाद, झूट, जनता झुक्याउने प्रपञ्च, जनतालाई गलत कामका लागि प्रशिक्षित गर्ने दुष्कार्य, देशलाई संसद्वादको चङ्गुलमा फसाउने षड्यन्त्र वा त्यसप्रकारको षड्यन्त्रको सिकार भन्ने मान्दछ ।

यसप्रकारको क्रान्तिविरोधी दुष्कार्य, दुर्नियत र षड्यन्त्रको सिकार क्रान्तिकारीहरू हुने गरेको हामीले आहुतीका अभिव्यक्तिमा पाउँछौँ । त्यही लेखमा भनिएको छ, ‘आजको विश्वमा मध्यम हतियार जोड्न सकिने सम्भावना र सङ्गठनले मात्र पनि कम्युनिस्ट क्रान्तिको मूल समस्या हल गर्न सक्दैन ।’ यसको तात्पर्य के हो ? देशमा क्रान्ति पूरा गर्नका लागि अमेरिका, बेलायत, फ्रान्स र रुसमा साम्राज्यवादी सत्ताले जस्तो बीस हजार किमि प्रहार गर्ने रकेट, प्रेसिसन मिसेल, आणविक बम र बर्सौं पानीमा रहने जलचर सेना र नक्षत्र युद्ध गर्ने नक्षत्र सेना आवश्यक हुन्छ भनेको हो ? यसप्रकारको सोचाइबाट क्रान्ति सोचिएको हो भने त्यो क्रान्ति होइन, त्यो आतङ्कवाद हो, विध्वंस हो, नरसंहार हो र त्यो अर्को साम्राज्यवाद हो अथवा कम्युनिस्टले अपनाउने साम्राज्यवाद सामाजिक साम्राज्यवाद हो । जसरी मध्यम स्तरका हतियारबाट क्रान्ति हुन नसक्ने र ठूला हतियार प्राप्त गर्न नसकिने आसयको कुरा गरिएको छ त्यसमा हतियारको आवश्यकतालाई पूर्ण रूपमा परित्याग गर्ने सोचाइ अभिव्यक्त हुन्छ । हतियार समाउँदा आतङ्कवाद सोच्ने र हतियार छोड्दा निरीहता सोच्ने दुवै प्रवृत्ति दक्षिणपन्थी, गैरक्रान्तिकारी, अवसरवादी र प्रतिक्रान्तिकारी हुन् । लेनिनले भन्नुभएको थियो उग्र वामपन्थ उग्र दक्षिपन्थमा पत्ताउँछ । यो मुद्दामा पनि त्यही चरित्र चरितार्थ हुन्छ ।

हतियार सानो वा ठूलोको कुरा होइन, मध्यम वा लामो दूरीको भन्ने होइन, वास्तविकतामा हतियारबिना संसारमा कुनै पनि क्रान्ति हुन सक्दैन । क्रान्तिका लागि पहिलो हतियार वैज्ञानिक विचार हो । वैज्ञनिक विचारद्वारा निर्देशित जनताको चेतना हो । किन सङ्घर्ष गरिरहेको छु भन्ने जानकारी पाउने जनताको राजनीतिक स्तर हो । यो चेतना, विचार र स्तरको जनता बनाउन सक्नु सबैभन्दा ठूलो हतियार हो । माक्र्सवाद–लेनिनवाद–माओवाद, महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको मूल्य र मान्यता, वर्गसङ्घर्षको मान्यता, बन्दुकको बलमा दमन गरिएको जनताले बन्दुकबाट मुक्त हुन बन्दुक उठाउनुपर्छ भन्ने मान्यता, सत्तामा बल प्रयोगको सिद्धान्त र सत्ता प्राप्त गर्न पनि बल प्रयोग गर्नुपर्छ भन्ने मान्यता यी राज्यसत्ता प्राप्त गर्नका लागि आवश्यक पर्ने क्रान्तिकारी क्षेप्यास्त्रहरू हुन्, यी आणविक बमहरू हुन् र यी साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा वैज्ञानिक समाजवादी क्रान्तिका लागि नक्षत्र युद्ध लड्ने आधुनिक शस्त्रास्त्रहरू हुन् । क्रान्तिका लागि दोस्रो र सहायक हतियार भनेको बन्दुक हो । क्रान्ति गर्नका लागि राजनीति रणनीति हो र प्रधान पक्ष हो । बन्दुक कार्यनीति र गौण पक्ष हो । जब कुनै कान्तिकारी ‘ मध्यम हतियार जोड्न सकिने सम्भावना र सङ्गठनले’ ‘क्रान्तिको समस्या हल गर्न सक्दैन’ भन्ने निष्कर्षमा पुग्छ त्यो पहिलो कुरा वैचारिक हतियारबाट निःशस्त्र छ र यसप्रकारका निःशस्त्र, निरीह र क्रान्तिकारी इतिहास गुमाएका टुहुरा क्रान्तिकारीहरूबाट क्रान्तिको अपेक्षासम्म हुनसक्छ तर क्रान्तिको नेतृत्व र क्रान्ति पूरा गर्ने काम हुन सक्तैन ।

पार्टी गठन गर्दाखेरिको एउटा पत्रकार सम्मेलनमा पत्रकारहरूबाट ‘क्रान्तिका लागि हतियार कहाँबाट प्राप्त गर्ने ?’ भनेर सोधिएको प्रश्नको जबाफ दिँदै हाम्रो पार्टीका महासचिव विप्लवले भन्नुभएको थियो– पहिले हतियार दिमागमा हुनुपर्छ । दिमागमा हतियार छ भने क्रान्ति सम्पन्न गर्ने हतियार पर्याप्त मात्रामा पैदा हुनेछन् । वैज्ञानिक कुरा यही हो । एकीकृत जनक्रान्तिको कार्यदिशामा रणनीति र कार्यनीतिको शृङ्खला नबुझेका ‘राजनीतिककर्मी’ हरूले पहिले आफ्नो दिमागलाई शस्त्रास्त्रयुक्त गर्न आवश्यक छ अनि मात्र त्यो अस्त्रको माध्यमबाट एकीकृत जनक्रान्तिको रणनीति र कार्यनीति छर्लङ्ग बुझ्न सकिनेछ ।

अहुतीको त्यो लेखमा अहुतिमार्फत हाम्रो पार्टीको रणनीति, कार्यनीतिसम्बन्धी प्रश्न उठाउनेहरूले हाम्रो अगाडि जटिल र महत्वपूर्ण प्रश्न राखेका छन्, ‘ विगत एक शताब्दीलाई मूल्याङ्कन गर्दा सन् १९१७ को अक्टोबार क्रान्तिदेखि १९४९ को क्युबाली क्रान्तिसम्म संसार कम्युनिस्ट क्रान्तिमय छ तर त्यसपछिको साठी वर्ष प्रतिक्रान्तिमय रह्यो, किन ?’ यस प्रकारको प्रश्नको जबाफ क्रान्तिको सफलता र असफताका बारेमा बहसमा गरिने बुद्धिविलास, क्रान्तिका बारे गरिने विद्यावारिधि र बौद्धिकहरूबीच गरिने प्राचार्यताबाट प्राप्त गर्न सकिँदैन । यसलाई क्रान्तिकारी आन्दोलन, कम्युनिस्ट नेतृत्व, माक्र्सवादी विचारको वैज्ञानिक प्रयोग र कम्युनिस्टको राजनीतिक श्रेष्ठताबाट मात्र बुझ्न सकिन्छ । यो प्रश्नको जबाफ बुझ्न साथीहरूलाई हाम्रो प्रतिप्रश्नबाट सहज हुन सक्छ । हाम्रो प्रतिप्रश्न छ, सन् १९१७ को अक्टोबर क्रान्तिदेखि १९४९ को क्युबाली क्रान्तिसम्म संसार कम्युनिस्ट क्रान्तिमय थियो भने रुस, चीन, क्युबा, कोरिया र भियतनामबाहेक अरू देशमा कि क्रान्ति भएनन् ? पश्चिम युरोपका देशहरूमा चलेको क्रान्तिकारी सुनामी किन बिस्तारै पूर्वतिर विस्थापित भयो ? आहुती जस्ता रोमान्टिस्ट क्रान्तिकारीहरूले क्रान्तिलाई हरेक वर्ष तीजको पर्व आएजस्तै स्वतस्फूर्ततामा आउने, रोमान्टिक नाचगानजस्तो रूपमा बुझेको देखिन्छ । नेपाली धार्मिक परम्परामा वार्षिक पर्वहरूलाई अशुभ दिनहरूले यो वर्षका लागि बन्देज गरेका हुन्छन् । त्यस्तै आहुतीहरूको प्रश्न रहने गरेको पाइन्छ– अघिल्लो शताब्दीमा आएको क्रान्तिको पर्वलाई कुन अशुभ दिन, कुन सिद्धान्त र राजनीतिको मृत्यु भएकाले आएन भन्ने सोचाइ देखा पर्छ । निश्चित रूपमा यो त जटिल विषय नै हो । माओले भन्नुभएजस्तै क्रान्ति भनेको रोमान्स होइन, चुँदरी बुन्नुजस्तो होइन र भोजभतेर होइन । क्रान्ति वैचारिक अस्त्रबाट सुसज्जित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टको नेतृत्वमा हुने सामाजिक रूपान्तरणको भीषण लडाइँ हो । जुन देशहरूले जुन समयमा वा जुन शताब्दीमा त्यसप्रकारको नेतृत्व पाए त्यहाँ क्रान्ति भए । जहाँ, जुन देशहरूले त्यसप्रकारको नेतृत्व पाउन सकेनन् त्यहाँ क्रान्ति पूरा हुन सकेन । सही कुरा यत्ति हो । यसको जबाफ हामीले नेपालको इतिहासबाटै देख्न सक्छौँ, प्रचण्डको नेतृत्वमा मालेमावादको वैचारिक हतियार नेपाल कम्युनिस्ट पार्टी माओवादीले चलाउँदैनथ्यो भने नेपालमा यत्ति छिट्टै गणतन्त्र पनि आउने थिएन । के त्यतिबेला हामीसँग शान्तिकालमा संसद्वादमा समर्पण गरेका सबै हतियार वा एउटा पनि हतियार थिए ? नेतृत्वको विचारमा हतियार थियो, जनमुक्ति सेनाले हतियार पायो । नेतृत्वको विचारबाट हतियार गयो, जनमुक्ति सेनाको हतियार पनि गयो । लेनिनले भन्नुभएको थियो, सबै चीजको फैसला कार्यदिशाले गर्छ । यही होइन सत्य ? यही होइन हतियारको प्रश्न ?

सक्षम नेतृत्व हुँदैनथ्यो भने न रुसमा क्रान्ति सम्भव थियो, न चीनमा, न त क्युबा र भियतनाममा क्रान्ति सम्भव थियो, न कोरियामा । के लेनिनको समयमा भारतमा सशक्त प्रकारको क्रान्तिकारी आन्दोलन थिएन ? के पश्चिम युरोपका इटली, फ्रान्स, ग्रिस, जर्मनीलगायत देशहरूले क्रान्तिको सङ्घारमा टेकेका थिएनन् ? तेस्रो अन्तर्राष्ट्रियमा चीनमा समाजवादी क्रान्ति हुन सक्दैन भनेर बहस हुँदाहुँदै पनि माओको नेतृत्वमा क्रान्ति सम्पन्न हुने र भारतलगायत पश्चिम युरोपका देशहरूमा नहुने किन भयो ? यसको मुख्य कारण विचारको हतियारबाट सुसज्जित नेतृत्वको अभावबाहेक केही होइन । क्रान्ति अनुभववाद, व्यवहारवाद, जडसूत्रवाद, कठमुल्लावाद, मनोगतवाद, स्वतस्फूर्ततावादजस्ता कुनै पनि आदर्शवादबाट हुन सक्दैन । क्रान्ति हुनका लागि क्रान्तिकारीसँग द्वन्द्वात्मक भौतिकवाद, माक्र्सवाद–लेनिनवाद– माओवाद, सर्वहारा अन्तर्राष्ट्रियतावादको हतियार नै आवश्यक हुन्छ ।

अघिल्लो शताब्दीको क्रान्तिपछिका ‘साठी वर्ष प्रतिक्रान्तिमय रह्यो, किन ?’ भन्ने प्रश्नले साम्राज्यवादीहरूले गरेको वकालत पुँजीवाद निर्विकल्प हो भन्ने कुतर्कलाई मलजल गर्न पुग्छ । क्रान्तिकारीहरूले यसप्रकारको प्रश्न गर्न नपाउने भन्ने त हुँदैन तर हरेक प्रश्नले जबाफ पनि बोकेर आएको हुन्छ । यो प्रश्नले त्यही जबाफ नदेखिने गरी पिठ्युँमा बोकेर ल्यएको छ, त्यो हो क्रान्ति यो शताब्दीमा नहुने भएपछि क्रान्ति राम्रो कुरा हो तर संसद्वादबाहेक अर्को विकल्प छैन ।

त्यस्तै त्यो लेखमा हाम्रो अगाडि प्रश्न सोझ्याइएको छ, ‘मरणासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो ?’ लेननले जुन कारणले पुँजीवादलाई मरणासन्न भन्नुभएको थियो ती कारणहरू अहिले पनि विद्यमान छन्, बरु ती विश्लेषणहरूको वैज्ञानिकता अहिले पनि पुष्टि भएको छ । लेनिनले भन्नुभएको थियो, एकाधिकार पुँजीवाद सडेगलेको छ र पतनको बाटोमा छ । बेलायती साम्राज्य के पतन भएन ? लेनिनले भनेको कुरा प्रस्ट रूपमा हामीले देखिराखेका छौँ, एकाधिकारवादी पुँजीको नमुना बेलायत थियो । लेनिनले त्यसको पतनको कुरा गर्नुभएको थियो । त्यो व्यवहारमा लागू भएको पनि देखियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्य माक्र्सवादी अर्थशास्त्री रेमन्ड लोट्टाले अमेरिका पतनको प्रक्रियामा (अमेरिका इन डिक्लाइन) भन्ने पुस्तकमा टुइन टावरभन्दा पहिले नै विश्लेषण गरिसकेका थिए । एकाधिकार पुँजीवाद र पुँजीको केन्द्रीकरणको कारण के त्यो दिशामा अहिले अमेरिका छैन ? जहाँसम्म ‘मरणासन्न भनेको पुँजीवाद कुन अमृतले बलवान् भयो’ भन्ने प्रश्न छ त्यो आजको नयाँ प्रश्न होइन । पुँजीवादको विकास हुँदै गरेको उन्नाईसौँ शताब्दीको पूर्वाद्र्धमा पनि यस्तै प्रश्नहरू थिए । तमाम युरोपेली कम्युनिस्टहरूको तर्क थियो, पुँजीवादले औद्योगिक प्रतिस्पर्धात्मक चरित्रबाट एकाधिकारमा विकास गरेका कारण यो अजेय बनेको छ । सामान्य शक्तिले नमासिने पुँजीवादी समाजमा क्रान्ति सम्भव छैन । यसप्रकारको तर्क गर्नेहरू कार्ल काउत्स्की, ट्राट्स्कीहरू र अरू संशोधनवादीहरू थिए । त्योभन्दा पहिले बाकुनिन र मिलेराहरू पनि यही तर्क गर्थे । क्रान्ति सम्भव छैन भन्ने निष्कर्षमा पुगेकाहरूका लागि आज तिनै मानिसहरू महान् गुरु बनेका छन् र औँला उठाएर विश्वका मुक्तिकामी जनतालाई भन्ने गरेका छन्, ‘देख्नुभो, क्रान्ति कहाँ सफल भो !’

पुँजीवाद आफैँमा वर्गसङ्घर्ष हो र यसले आफूलाई बचाइराख्नका लागि आफैँमा निरन्तर क्रान्तीकृत गरिरहेको हुन्छ । यो क्रान्तीकृत गर्ने प्रक्रिया नै पुँजीवादलाई बचाइराख्ने अमृत हो । जहाँसम्म सर्वहारा समाजवादी सत्ता किन टिकेन भन्ने प्रश्न आउँछ, वर्गसङ्घर्षको लडाइँमा सर्वहारा सत्तामाथि पुँजीवादी विचार र नेतृत्व हाबी भएकै कारण प्रतिक्रान्ति भएका हुन् जुन स्टालिनपछिको रुस र माओपछिको चीनमा देखापर्यो । ‘वामपन्थी बुद्धिजीवीहरू’ तर्क गर्छन्, मानिसले पुँजीवाद मनपराएका कारण पुँजीवादी व्यवस्था फैलिएको हो । यसप्रकारका तर्क गर्नेहरूको वैचारिक दिबालिया सहज देख्न सकिन्छ । के अमेरिकाका शतप्रतिशत जनता त्यो विभेदभित्र बस्न मन पराउँछन् जहाँ देशको १ प्रतिशत मानिसको हातमा ९९ प्रतिशतको भन्दा बढी सम्पत्ति केन्द्रित रहेको छ ? के बेलायती जनता त्यस्ता पुँजीवादी बैङ्कहरूको शोषण मन पराउँछन् जसको सम्पत्ति (सन् २०१५ मा) बेलायती जनताको कुल गार्हस्थ उत्पादनभन्दा ३२० गुणा बढी पुगेको थियो । के युरोपियन जनता त्यस्तो पुँजीवादी लुट मन पराउँछन् जहाँ बैङ्कपतिहरूको सम्पत्ति (सन् २०१५ मा) कुल युरोपियन जनताको भन्दा १००० गुणा बढी छ जहाँ इटली, ग्रिस, स्पेनजस्ता देशहरू बैङ्कको ऋण तिर्न नसकेर टाट पल्टिरहेका छन् । के भारतीय जनताले प्रत्येक वर्ष बैङ्क ऋण तिर्न नसकेर सयौँको सङ्ख्यामा आत्महत्या गर्नु पुँजीवाद मनपराएर हो ? भारत, मेक्सिको, बर्मा र बङ्गलादेशका करोडौँ जनता गाँस–बासविहीन अवस्थामा बाँच्नका लागि गल्लीमा भौँतारिँदै हिँड्ने पुँजीवाद मन पराएर हो ?

मानिसहरू तर्क गर्छन्, पुँजीवादले वैज्ञानिक विकास गरेका कारण समाजवाद असफल भयो । यसप्रकारको तर्क गर्नेहरूमा पुँजीवादका चाटुकार फुकुयामादेखि भारतीय लेखक अनिल राजिमवालेसम्म छन् । यसका बारेमा बृहत् चर्चा अन्यत्र गरिनेछ तर यहाँ यत्ति मात्र चर्चा गरिन्छ, वैज्ञानिक विकास पुँजीवादका कारणले भएको होइन, वैज्ञानिक विकासको कारण निरन्तर आफूलाई क्रान्तीकृत गर्ने मानिसको स्वभावका कारणले हो । हरेक मानिस वस्तुगत आवश्यकताको प्रतिबिम्बका रूपमा निरन्तर नयाँ आविष्कारमा हुन्छन् । उपयुक्त वातावरण पाउँदा त्यो आविष्कार समाज रूपान्तरणका लागि युगान्तकारी हुनसक्छ । वाष्प इन्जिनदेखि रेडियो तरङ्ग, आणविकदेखि नक्षत्र र कृष्णविवरसम्मका अनुसन्धान पुँजीवादले होइन, मानिसको बौद्धिक श्रमले गरेको हो । विचारकै कुरा गर्ने हो भने आइनस्टाइन समाजवादी थिए र स्टेफेन हकिन्स कम्युनिस्ट आमाका छोरा थिए ।

पुँजीवादले विज्ञानको विकास गरेको होइन, विज्ञानको विकासलाई मुनाफाका लागि नियन्त्रण गरेको हो । यसकारण जति विकास हुनु सम्भव हुन्थ्यो त्यो हदसम्म पुँजीवाद अवरोधक बन्ने गरेको छ । यो सत्यलाई कुनै पनि माक्र्सवादीले इन्कार गर्न सक्दैन । माक्र्स–एङ्गेल्स, लेनिन, स्टालिन, माओले पुजीवाद प्रगतिका लागि अवरोधक हुने बताउनुको तात्पर्य यहाँ प्रस्ट हुन्छ । यसरी हेर्दा बन्दुकको बलमा मानिसमाथि, समाजमाथि, देशमाथि जसरी लूट मच्चाइएको छ र नियन्त्रण गरिएको छ पुँजीवादलाई बचाउने अमृत त्यही बनेको छ । तर यो अमृत पुँजीवादका लागि आफैँमा विषमा परिणत भइसकेको तथ्यलाई कसैले पनि बिर्सनु हुँदैन ।

विश्व राजनीतिक व्यवस्था, विश्वको अर्थप्रणाली, विश्वको सेना र सरकार आफ्नो नियन्त्रणमा लिएको साम्राज्यवाद अहिले विश्वसत्ता सञ्चालनमा छ, चाहे त्यो द्विध्रुवीय अवस्थामा रहेको होस् वा बहुध्रुवीय । यस्तो अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्ति निश्चित रूपमा रक्षात्मक भएको अहिलेको यथार्थ हो तर सर्वहारा क्रान्तिको आवश्यकता समाप्त भएको भन्ने कुरा सही होइन । यो अवस्थाले सर्वहारा क्रान्तिको मागलाई अझ तीव्रता दिएको छ र त्यसको माग बढिरहेको छ । यसप्रकारको क्रान्तिका लागि आवश्यक विषयहरू मिल्नुपर्छ जो हामीले यही लेखमा माथि चर्चा गरिसकेका छौँ । क्रान्तिका लागि क्रान्तिकारी नेतृत्व, परिस्थिति, आवश्यक सेना र हतियार त चाहिन्छ नै । त्यो कुरा पनि नेतृत्वसँगै जोडिएको हुन्छ र त्यसप्रकारको नेतृत्वको विकास हुनैपर्छ ।

त्यो लेखमा भनिएको छ, ‘न लेनिनले देखेको करोडौँ मजदुर थुप्रिने औद्योगिक केन्द्र छन्, न त पुँजीवादी विश्वयुद्ध छ, न नै माओले भनेको दूरदराजनको आधार क्षेत्र बनाउने देहात । तब अब कसरी त ? आजको नयाँ युगको क्रान्तिमा नयाँ प्रश्नहरूको उत्तर नदिई सुख छैन ।’ प्रश्नका हिसाबले र वस्तुगत अवस्थाको अवलोकनका हिसाबले यो प्रश्न पनि पहिलेको प्रश्नजस्तै ठिकै कुरा हो र निश्चिति रूपमा आजको युगमा यी प्रश्नहरूको जबाफ नदिई सुखै छैन । त्यही त कारण हो एकीकृत जनक्रान्तिको कार्यदिशाले अहिले विकास गर्ने प्रयत्न गरेको । यसप्रकारका लेखकहरूको विश्लेषणमा पुँजीवाद मजबुत देखाउनुको कारण त्यसलाई परास्त गर्ने रणनीति र कार्यनीतिको विकास गर्नका लागि होइन, बरु त्यसका अजीर्ण चरित्रको चित्रण गर्दै कुन निष्कर्षमा पुग्नु रहेको हुन्छ भने परिस्थिति पहिलेको जस्तो नभएका कारण क्रान्ति सम्भव छैन ।

एकीकृत जनक्रान्तिको कार्यदिशामा हेर्यौँ भने हामीले न नेपालमा लेनिनले भनेको जस्तो हजारौँ मजदुरहरू थुप्रिने कलकारखानाको माग गरेका छाैँ, न माओले भनेका दूरदराजका आधार क्षेत्र बनाउने देहात । एकीकृत जनक्रान्तिले नेपालको अहिलेको वस्तुस्थितिअनुसार गाउँ र सहर जोड्ने, क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई जोड्ने, मजदुर र राष्ट्रिय पुँजीपतिहरूलाई जोड्ने, सर्वहारा र मध्यमवर्गलाई जोड्ने र दलाल पुँजीवादका विरुद्ध एकीकृत तरिकाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टको नेतृत्वमा हमला गर्ने भनिएको छ ।

जहाँसम्म क्रान्तिका लागि रुसका मजदुर थुप्रिने कलकारखाना र चीनका देहातहरूको खोजी गर्ने कुरा छ, त्यसले क्रान्तिलाई जडसूत्रका रूपमा लिएको देखिन्छ । यो विचारले जङ्गल देख्दा रूख देख्दैन र रूख देख्दा जङ्गल देख्दैन । यसले उकालोमा ओरालो देख्दैन र ओरालोमा उकालो देख्दैन । एक्काईसाैँ शताब्दीको भूमण्डलीकृत पुँजीवादमा बीसौँ शताब्दीको एक देशका मजदुर थुप्रिने कारखाना विश्वभरका मजदुर थुप्रिने कारखानामा बदलिएका छन् । बीसाँै शताब्दीका एक देशमा क्रान्तिको जिम्मा लिने मजदुर एक्काईसौँ शताब्दीमा विश्वक्रान्तिको जिम्मा लिने ब्यारेकमा बदलिएका छन् । बीसाैँ शताब्दीका माओका आधारहरू निर्माण गर्ने देहाती जनता अहिले सहरका जीर्ण तम्बुभित्र केन्द्रित हुन पुगेका छन् र त्यहाँ क्रान्तिका आधारहरू तयार गरिरहेका छन् । तर हामी तमाम जडसूत्रवादीहरूका विभ्रम र क्रान्तिविरोधी विचारहरूले हैरान हुन्छौँ, त्यसको खण्डन हरसमय गर्नु परेको छ । माथि नै भनिसकिएको छ जडसूत्रले क्रान्ति हुन सक्दैन । क्रान्तिलाई जडसूत्रमा होइन, विज्ञानमा हेर्नुपर्छ । यही जडसूत्रले ती साथीहरू अकर्मण्यतावादको सिकार भएको देखापर्छ । त्यहाँ लेखिएको छ, ‘पुँजीवादविरोधी कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि न त टुपाक अमारुजस्तो बलिदानी रोमान्समा सिद्धिने छूट छ, न त अमेरिकी बबएभाकियनजस्तै बुढेसकालसम्म केवल सिद्धान्तको रट लगाएर बाँच्ने नै छूट छ ।’ यहाँ ‘बलिदानीको रोमान्स’ मा सिद्धिने कुरा र ‘बुढेसकालसम्म केवल सिद्धान्तको रट लगाएर बाँच्ने’ छूट नभएको कुरा जसरी गरिएको छ त्यसको अन्तर्यमा विसर्जनवाद, पलायनवाद, संशोधनवाद, संसद्वाद लुकेको देखापर्छ ।

हामी सबैलाई थाहा छ– बलिदानबिना संसारको कुनै पनि मुलुकमा क्रान्ति पूरा हुन सक्दैन । अहिलेसम्म संसारको कुन मुलुकमा क्रान्ति भएको छ बलिदानबिना ? त्यस्तै कुन मुलुकमा क्रान्ति भएको छ वैचारिक प्रस्टताबिना ? आहुती र आहुतीहरूले बलिदानबिना क्रान्तिको माग गर्नु रोमान्सवाद हो, बचकनापन हो र वास्तविक रूपमा क्रान्तिविरोधी दृष्टिकोण हो । बलिदान दिने महान् योद्धाहरूलाई रोमन्स भन्ने र अध्ययन गर्ने अथक अध्येताहरूलाई ‘सिद्धान्तको रट लगाउने’ भनेपछि यो दुवै प्रक्रियाबाट टाढा बस्ने क्रान्तिकारी, कस्तो प्रकारको ‘राजनीतिककर्मी’ हो ? अनि यो राजनीतिककर्मीले गरेको वैचारिक बहसको ‘कर्म’ को अर्थ के हुने र यस्तो प्रकारको राजनीतिककर्मीले गरेको कर्मबाट कस्तो क्रान्तिको फलको अपेक्षा गर्ने ? यो कम्युनिस्ट आन्दोलनको कुरा त गर्ने तर आन्दोलनको मेलोमेसो केही नपाएर कुहिरोको काग हराउने जस्तो भएन त ? टुपाक अमारुको आलोचना गर्ने अधिकार केवल त्यसलाई छ जसले त्यहाँ भएका कमजोरीहरूलाई सच्याउँदै त्यो बलिदानलाई नयाँ उचाइमा उठाउन प्रयत्न गर्छ । उनीहरूले गरेको वीरतापूर्ण कारबाही, महानतम बलिदानी र त्यो क्रान्तिकारी सन्देशलाई स्थापित गर्नुपर्छ । केवल आलोचनाका लागि आलोचना गर्ने, क्रान्तिका लागि आवश्यक बलिदानीका विरुद्ध घृणा पैदा गर्ने र विश्वको क्रान्तिका लागि जीवन अर्पण गर्ने महान् बलिदानमाथि तुच्छ विवेचना गरेर क्रान्तिकारीहरूको प्रतिष्ठामा गन्धा हिलो छ्याप्ने अधिकार कसैलाई पनि हुँदैन ।

यही कुरा बराल र उनका सहपाठीहरूको हकमा पनि सही हो । यद्यपि यो विश्लेषण तमाम वैचारिक विचलनका विरुद्ध सङ्घर्ष गर्न अपर्याप्त हुन सक्छ तथापि हाम्रो पार्टीभित्र पलायनको रुझान रोक्ने, नेता र कार्यकर्तालाई वैचारिक हतियारले सुसज्जित गर्ने र क्रान्तिकारी आन्दोलनका लागि एकताबद्ध गर्ने हाम्रो प्रयत्नले केही काम अवश्य गर्नेछ । प्रस्ट रणनीति र कार्यनीति अब कसैका लागि रहस्यमयी हुनेछैन र कसैका लागि अस्पष्ट पनि हुनेछैन ।

‘वामपन्थी बुद्धिजीवीहरू’ र ‘वामपन्थी राजनीतिककर्मीहरू’ मा देखिने यी प्रवृत्तिहरूले पार्टीभित्र पनि पलायनवादलाई प्रश्रय दिन्छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरू जसले वैचारिक हतियारलाई धारिलो पार्न सक्दैनन् निश्चित रूपमा त्यसको परिणाम पलायनको बाटो हुन्छ ।

दृढताका साथ क्रान्तिको तयारी गरौँ

हामीले विश्लेषण गर्यौँ, नेपालको दलाल पुँजीवादी सत्ता आफूलाई बलियो बनाउने कोसिस गरिरहेको छ र बलियो हुँदै पनि गइरहेको छ । सम्पूर्ण नेपाली जनतालाई राम्रोसँग जानकारी छ, प्रतिक्रियावादी सत्ता जति बलियो बन्दै जान्छ देश अझ गहिरो सङ्कटमा पर्दै जान्छ । प्रतिक्रियावादी सत्ता बलियो हुनु भनेको देशमा अझ बढी सङ्कट र समस्याहरू बल्झनु हो । देशमा महँगी, भ्रष्टाचार, गरिबी, चोरी, डकैती, चेलीहरूको बेचबिखन, राजनीतिक पार्टीहरूबीच आपसमा षड्यन्त्र, जालझेल, आफ्ना सहधर्मीप्रतिको अत्याचार, पार्टीभित्रै काखा र पाखाको व्यवहार, सरकार जनताको हुन नसक्ने र केवल पार्टी र पार्टीभित्र परिवारको हुनु, आपसी अविश्वास, राजनीतिक शक्तिमाथिको एकाधिकार दलाल पुँजीवादी व्यवस्थाका सामाजिक सम्बन्धहरू हुन् । यसप्रकारको सामाजिक सम्बन्ध दलाल पुँजीवादी उत्पादन सम्बन्धले पैदा गरेको हुन्छ । जसरी दलाल पुँजीवाद एकाधिकार पुँजीवादसँगै सडेगलेको, पतनशील, मरणासन्न अवस्थामा रहेको हुन्छ त्यसैगरी त्यसको प्रतिनिधित्व गर्ने सामाजिक दलाल पुँजीवादी सरकार, त्यसले पक्षपोषण गर्ने व्यवस्था पनि पनि पतनशील, सडेगलेको र मरणोन्मुख भइरहेको छ ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा एक्काईसौँ शताब्दीसम्म आइपुग्दा विश्वमा समाजवादको अवस्था निश्चित रूपमा रक्षात्मक छ । तर यो रक्षात्मक अवस्था भनेको भुङ्ग्रोमाथिको चिसो खरानी मात्र हो, सुकेको जङ्गल मात्र हो र चर्कंदै गरेको ज्वालामुखी हो । पुँजीवादी युगअन्तर्गत ल्याइएका संरचनागत विकास र साम्राज्यवादले अपनाएको अन्तर्राष्ट्रियतावादले विश्वमा साम्यवादको भविष्य नजिक हुँदैछ । विश्वक्रान्ति क्षितिजमाथि देखा पर्छ । इतिहासमा अन्धराष्ट्रवादको चरम दलदलमा फस्ने गरेको साम्राज्यवादले समाजवादी नारा अन्तर्राष्ट्रियतावाद पुँजीवादी लूटका निम्ति उपयोग गरेको भए पनि वास्तवमा यसले विश्व साम्यवादका लागि आधार तयार गरेको छ । के मानव जातिले विकास गरेको सूचना क्रान्ति, प्रविधिको विकास, विज्ञानमा भएका नयाँ अनुसन्धान र अन्वेषणले त्यही द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्दैन जसले समाजको निरन्तर परिवर्तन आफैँमा अनिवार्य विषय मान्दछ ? माक्र्सवाद–लेनिनवाद–माओवादले अन्वेषण गरेको विषय के हो भने जसरी विज्ञानमा तमाम विषयहरू मेहनतबाट सतहमा आउँछन्, त्यसैगरी जनताको मेहनतले समाजवादी क्रान्ति पनि सतहमा आउनेछ । ‘लेनिनले व्याख्या गरेको मजदुर थुप्रिने कारखानाहरू’ अहिलेका बचकाना वामपन्थीहरू उही पुरानो अन्धराष्ट्रवादी पुँजीवादको चरित्रमा खोजिरहेका हुन्छन् । साम्राज्यवादले उपयोग गरेको पुँजीवादी अन्तर्राष्ट्रवादले वित्तीय पुँजीको माध्यमबाट आफ्ना कारखानहरू विश्वका कुनाकुनामा छरेको छ र विश्वको उत्पादक शक्तिलाई उसको उत्पादनका लागि, उसको वितरणका लागि र उसको खपतका लागि साधनका रूपमा प्रयोग गर्ने मेसिनका रूपमा प्रयोग गरेको छ । साम्राज्यवादले बेरोकटोक विश्वको उत्पादक शक्तिको शोषण चाहने तर विश्वभरबाट एकै ठाउँमा थुप्रिन बाध्य पारिएको उत्पादक शक्ति त्यसप्रकारको उत्पादन सम्बन्धका विरुद्ध खडा हुने यो प्रक्रियाले नयाँ समाजको गर्भधारण भैरहेको छ र त्यो नयाँ समाज अहिलेको विश्वमा केवल एक देशमा हुने समाजवादी क्रान्ति मात्र होइन, विश्वभर उथलपुथल ल्याउने साम्यवाद हुनेछ ।

यसका लागि नेपालको क्रान्तिकारी आन्दोलनको एकीकरण मात्र होइन, विश्वभरका क्रान्तिकारी आन्दोलनको एकीकरण आवश्यक हुन्छ । एकीकृत जनक्रान्तिको कार्यदिशाका यी रणनीति र कार्यनीतिलाई सबैले दृढताका साथ लागू गर्नुपर्छ र नयाँ भविष्यको बाटोमा अघि बढ्नुपर्छ ।

मङ्सिर, २०७६
समाप्त

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :