विश्वव्यापी कोरोना सङ्क्रमणको त्रास

नेपाल सरकार पूर्वतयारीमै उदासीन

काठमाडौँ : विश्वभरि नै स्वास्थ्य प्रकोपका रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण मानिसहरूमा एकप्रकारको त्रासदी उत्पन्न भएको छ । विश्वका एक सय दस मुलुकमा यसको सङ्क्रमण फैलिइसकेको छ । नेपालको सरकारले भने अहिलेसम्म कोरोना नभित्रिएको दाबी गरे पनि नेपालबाट यूएई पुगेकाहरूमा कोरोना सङ्क्रमण पाइएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मङ्गलबारसम्मका २४ घन्टामा विश्वभरि तीन हजार ९९३ जनामा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लूएचओले जनाएको हो । इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या ४६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिणकोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै इरानमा ७ हजार १६१ जना सङ्क्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेबसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दक्षिणी छिमेकी भारतमा ४७ पुगेको जानकारी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार दिएको छ । मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ । उनीहरूमध्ये केरलाका तीनजनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्युटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरू स्थगित गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार माल्दिभ्समा अहिलेसम्म दुईजनामा सङ्क्रमण भएको पुष्टि भएको छ । जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओसाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

सञ्चारमाध्यमहरूका अनुसार पछिल्लोपटक बेल्जियममा सङ्क्रमितको सङ्ख्या २३९ पुगेको छ भने हङकङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठजना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् । यस भाइरस सङ्क्रमणका कारण विश्वभर चार हजार २७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेश, अल्बानिया र पाराग्वेसहित तीन नयाँ देशमा कोभिड १९ को सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसारका ११० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबेई प्रान्तको बुहानमा एक दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरि यस रोगबाट मृत्यु हुने सङ्ख्या तीन हजार एक सय३६ पुगेको जनाइएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमणका कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम सङ्ख्या भएको पनि समाचारमा जनाइएको छ ।

कोरोनाका कारण विश्व–अर्थतन्त्रमा समेत गम्भीर असर पर्न थालेको छ । कोरोना प्रकोपकै कारण अहिलेसम्म चीन, इटलीलगायत मुलुकमा चार हजारभन्दा बढीको ज्यान गैसकेको र एक लाखको सेरोफेरोमा मानिसहरू सङ्क्रमित भएको ताजा विवरण छ । कोरोना प्रकोपको विषयलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गम्भीर चीनता व्यक्त गर्दै यसले भविष्यमा स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या पैदा गर्ने चेतावनी दिइसकेको छ ।

चीनबाट सुरु भएको भनिएको उक्त महामारीविरुद्ध जुध्न नसके र प्रारम्भिक रूपमा नै उपचार हुन नसके विश्वका चार करोड मानिस जोखिममा पर्ने चुनौतीका बीच कोरोना नियन्त्रणमा चीनले उल्लेख्य सफलता हातपारेको छ । यसअघि चीनले कोरोना सङ्क्रमणको केही दिनमै पूरै बुहान सहर लक डाउन गरेर एक सातामा नै हजार शैयाको अस्पताल निर्माण गरेको थियो । आफ्नो सबै शक्ति प्रयोग गरेर कोरोनाविरुद्धको जटिल युद्ध लडिरहेको चीनले पछिल्ला केही दिनमा ठूलो सफलता हातपारेको बताएको छ । चीनबाट प्रकाशित हुने एक अखबारले उल्लेख गरेअनुसार सोमबार जम्मा त्यहाँ १९ जनामा मात्र सङ्क्रमण भेटिएको र तीमध्ये पनि चीनभित्र देखिएको सङ्क्रमण १७ जनामा मात्र छ र बुहान सहरभन्दा बाहिर नयाँ सङ्क्रमण भेटिएको छैन । भाइरस सङ्क्रमण भएको एक महिनाभित्र चीनको बुहान क्षेत्रमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३८ सय बिरामी फेलापरेका थिए भने अहिले जम्मा १७ जना मात्र सङ्क्रमित भेटिनुमा चीनको निकै ठूलो प्रयासले काम गरेको मान्न सकिन्छ ।

स्वास्थ्य उपचारमा खटिएका चिनियाँ जनमुक्ति सेनाका डाक्टरहरूले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउनका लागि रातदिन प्रयास जारी राखेका छन् । कोरोनाविरुद्धको कार्यमा चीनले ठूलो सफलता हातपारेसँगै चिनियाँ राष्ट्रपति सी जिङ पिङले कोरोनाको उद्गम स्थल मानिएको बुहान क्षेत्रको भ्रमण गरेका छन् र बुहानमा सीले कोरोनाविरुद्धको युद्ध आफ्नो राजनीतिक जीवनको चुनौतीपूर्ण मोड भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति सीले कोरोना प्रभावित क्षेत्रको भ्रमण गरेर कोरोनाविरुद्धको युद्धमा आफ्नो देशले सफलता हातपारेको सन्देश दिन पनि लक डाउन क्षेत्र बुहानको भ्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कोरानाको सङ्क्रमण इरान, दक्षिणकोरिया र इटालीपछि नजिकैको छिमेकी देश भारतमा समेत फैलिएको छ । कोरोनाको सङ्क्रमण चीनबाहिर तीव्र गतिमा फैलिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै बताइसकेको छ । भारतसँगको नेपालको खुला सिमाना, अपर्याप्त स्वास्थ्य प्रयोगशाला–उपकरण, अपर्याप्त जनशक्ति र जनताप्रति उदासीन केन्द्रमुखी सरकारका कारण नेपालका यो महामारी फैलिएको खण्डमा यसको सामना कसरी गर्ने भन्ने विषयमा गम्भीर चुनौती खडा भएको छ । चीन, कोरिया, इरान, इटालीजस्ता शक्तिशाली देशहरूलाई त कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण बनिरहेको छ भने नेपालजस्तो देशमा कोरोनाले महामारीको रूप लिएमा र चीन, इटाली, कोरियामा जस्तै सङ्क्रमणको स्तर निकै तीव्र गतिमा भएमा घनाबस्तीका धेरै मानिस जोखिममा पर्नेछन् । नजिकैका देशहरूमा यो स्तरको सङ्क्रमण हुँदा पनि नेपालमा गरिएका पूर्वतयारीका प्रयासहरू निकै नगन्य, औपचारिकता निर्वाह गर्ने र झारा टार्ने मात्रामा छन् । नेपालमा एकै दिनमा सयौँको सङ्ख्यामा सङ्क्रमितहरू देखिएमा समग्र अवस्था निकै अस्तव्यस्त र चुनौतीपूर्ण हुने स्वास्थ्यसँग सम्बन्धित विज्ञहरूको चेतावनी छ ।

पूर्वतयारीका रूपमा राखिएका न्यून मात्राका प्रयोगशाला–उपकरण र जनशक्तिले नजरअन्दाज गरिएको भयावह अवस्थाको सामना गर्न निकै समस्या हुनेछ । जनस्वास्स्थ्य विभागमा गरिएको रेकर्डअनुसार अहिलेसम्म नेपालमा ४ सय ४१ जनालाई परीक्षण गरिए पनि मङ्गलबारसम्म कसैमा पनि कोरोना पोजिटिभ पाइएको छैन । चीनबाट आएका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको भए पनि पछि ती व्यक्ति सन्चो भएर नियमति काममा फर्केको बताइएको छ । यो घटना र देशबाहिर यूएईमा दुईजना नेपाली सङ्क्रमित भएको घटनाबाहेक अहिलेसम्म नेपालभित्र कोरोना सङ्क्रमण देखा नपर्नु आफैँमा सुखद पक्ष र संयोग मात्र हो । तर सङ्क्रमण फैलिए योसँग सामना गर्न सरकारी तबरबाट गरिएका पूर्वतयारीहरूको अवस्था निकै अपुग रहेको छ । कोरोनाविरुद्धको पूर्वतयारीमा सरकार उदासीन देखिएर यही अवस्थाको तयारी गरेमा काठमाडौँ सहरलगायत देशका ठूला सहर र गाउँसमेत निकै समस्यामा पर्ने देखिन्छ ।

डब्लूएचओले सङ्क्रमणविरुद्धको लडाइँ निर्णायक चरणमा भएको सन्देश प्रवाह गरिरहेको बेला हरेक व्यक्तिले केही सावधानी अपनाउँदा यस्तोखाले समस्यासँग लड्न सहज हुने स्वास्थ्य विज्ञहरूको भनाइ छ । स्वास्थ्य विज्ञहरूले पनि कोरोनाबाट बच्न साबुनपानीले हात धुने, पाएसम्म अल्कोहलमा आधारित सेनिटाजर प्रयोग गर्ने, हात सफा राख्ने, खोक्दा, हाछ्यूँ गर्दा नाक र मुख रुमाल अथवा टिस्युले छोप्ने, नाक र मुखमा हात नलगाउने, भीडभाडमा नजाने, घरबाहिर ननिस्कने, जनवार र पशुपन्छी छुँदा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइरहेका छन् ।

सारा विश्वलाई नै हलचल बनाउने गरी महामारीका रूपमा फैलिएको कोरोनासँग जोडिएका अन्य पक्षहरू पनि बजारमा आएका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत कोरोनाका बारेमा फैलाइएका अफबाहका कारण आफू कोरोनासँग मात्र नभई यसविरुद्धका अफबाहसँग पनि लडिरहेको बताएको छ । डब्लूएचओले भनेको छ– कोरोनासम्बन्धी कतिपय अनावश्यक हल्लाहरूले कोरोनाविरुद्ध लडिरहेका साहसी मानिसहरूलाई समेत थप कठिनाइ पैदा गराउने काम गरेको छ ।

कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्नुको सट्टा अफबाह फैलाएको र कतिपयले आफूलाई असहयोग गरेको भन्ने चिनियाँ अधिकारीहरूको धारणा पनि यसअघि सार्वजनिक भएको थियो । यही विषयलाई लिएर नेपालमा सत्ताधारी पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि यस्तै अर्थ लाग्नेखालका प्रतिक्रिया दिएका थिए । दाहालले चीनको कोरोना प्रकोपमा राजनीति मिसिएको अभिव्यक्ति दिएका थिए भने बिजुक्छेले खुला रूपमै चीनको विकासमा बाधा हाल्न चाहनेहरूले यस्तो खालको भ्रम उत्पन्न गरेको भन्ने प्रतिक्रिया दिएका थिए । यी सबै दृष्टान्तहरूले पनि कोरोना आतङ्कमा राजनीतिक रङ मिसिएको अड्कलबाजी चल्ने गरेको हुन सक्छ । जे होस्, कोराना एउटा महामारीका रुपमा फैलिइसकेकाले मुलुकभित्र यसको सङ्क्रमण भएमा राज्य पक्षले सम्पूर्ण शक्ति यसको रोकथामका लागि लगाउनुपर्छ । सरकारका मान्छे र सरकारी पार्टीका मान्छेको मात्र सुरक्षा गर्नतिर लागेर जनतामाथि असुरक्षा र आतङ्क लाद्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :